रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।
आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पूरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्र्याक भएको थियो । त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पूरै भाँचिएर भुइँमा झरेको स्थानीय पाण्डव प्रसाईंले बताए ।

‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन । आइतबार बिहान पुलबीचको एक कौल स्ल्याब पूरै भाँचिएर झर्यो,’ उनले भने ।
सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८/७९ सो पुलको ठेक्का लगाएको थियो । सो पुल ‘डिजाइन एन्ड विल्ड’ मोडलमा निर्माण भएको हो ।

पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुल कुल २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल करबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो ।
सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो । तर पुलको निर्माण नसक्दै भत्किएको छ ।

यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाती गाउँपालिका जान छोटो दूरीको सडक हुनेगरी निर्माण गरिएको थियो ।
Facebook Comment
Comment