विश्लेषण

ट्रम्प कार्यकालको प्रारम्भमा नै ट्रम्पोत्तर राजनीतिको परिकल्पना

नेपालभ्युज

ट्रम्प कार्यकालको प्रारम्भमा नै ट्रम्पोत्तर राजनीतिको परिकल्पना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल अझै तीन वर्षभन्दा बढी बाँकी छ । तर, अमेरिकामा ट्रम्पोत्तर युगको राजनीतिक परिकल्पना र बहस प्रारम्भ भइसकेको छ । कस्तो होला ट्रम्पोत्तर अमेरिका ? आशापूर्ण होला वा अझै निराशाजनक ?

अधिकांश अमेरिकी राष्ट्रपतिले देशको इतिहासमा केही विशिष्ट छाप छोडेका छन् । प्रथम राष्ट्रपति जर्ज वासिङ्टन अमेरिकी स्वतन्त्रता संग्रामका कमान्डर र ठूला योद्धा थिए । बौद्धिक ‘संस्थापक पिताहरू’को भिडमा उनी ‘कम बौद्धिक’ थिए । तर, भविष्यमा महाशक्ति हुनेवाला एक नयाँ राष्ट्रको जग बसाल्न उनले आफ्नो सबै बल, बुद्धि र सामर्थ्यको उपयोग गरे ।

वासिङ्टनमा एक अद्भूत नैतिक प्राधिकार थियो । राजतन्त्रात्मक ब्रिटिश साम्राज्यविरुद्ध महादेशीय राष्ट्रवादी क्रान्तिकारी युद्धको सफल नेतृत्व गरेका उनले अमेरिकालाई बेलायती ढाँचाको संसदीय प्रणालीमा होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको ‘संघीय गणतन्त्र’को संविधान बनाउन र कार्यान्वयन गर्न योगदान गरे ।

‘संयुक्त अधिराज्य’को साटो ‘संयुक्त राज्य’को धारणालाई मूर्त बनाए । अमेरिकी राज्यको जन्म र ढाँचा विश्व राजनीतिको एक दूलर्भ परिकल्पना थियो, जसले अमेरिकालाई भविष्यमा एक विश्व महाशक्ति बन्ने आधार प्रदान गर्दथ्यो ।

दुई कार्यकाल राष्ट्रपति भएपछि वासिङ्टनले राजनीतिबाट स्वऐच्छिक अवकाश लिए । यस्तो कुनै संवैधानिक व्यवस्था थिएन । तर, वासिङ्टनले सुझाएको यो मार्ग अमेरिकी लोकतन्त्रको आमप्रचलन र संस्कृति बन्यो । ३२औं राष्ट्रपति फ्राङ्कलिन डी. रुजबेल्टबाहेक अरु कसैले यो नियम उल्लंघन गरेनन् ।

सन् १९३० को दशकको महामन्दी, ‘न्यु डिल’ र दोस्रो विश्वयुद्धको जटिलताबीच रुजबेल्ट तेस्रो कार्यकाल पूरा गरी चौथोपटकका लागि निर्वाचित भएका थिए । तर, चौथो कार्यकालको केही महिनाभित्रै उनको निधन भयो । उनको निधनपछि सन् १९५१ मा संविधानको २२औं संशोधनमार्फत जर्ज वासिङ्टनले नैतिक प्राधिकारद्वारा बसालेको दुई कार्यकालको प्रचलन संवैधानिक रूपमा स्थापित गरियो ।

जर्ज वासिङ्टनदेखि बाराक ओबामासम्म अमेरिकी राष्ट्रपतिहरूको चरित्र र प्रवृत्ति गम्भीर ‘पेशेवर राजनीतिज्ञ’ को थियो ।

अमेरिकीहरू जर्ज वासिङ्टन, जोन आडम्स, थोमस जेफर्सन, जेम्स मेडिसन, अलेक्जेन्डर हेमिल्टन र बेन्जामिन फ्रांकलिनलाई ‘संस्थापक पिता’ मान्ने गर्दछन् । यीमध्ये हेमिल्टन र फ्रांकलिन राष्ट्रपति भएनन् । तर, राष्ट्रको चिन्तन परम्परा र नैतिक मूल्य प्रणालीलाई स्थापित गर्न ठूलो योगदान गरे ।

१६औं राष्ट्रपति अब्राहम लिंकनले गृहयुद्धमा राष्ट्रिय एकताको नेतृत्व र दास प्रथाको अन्त्य गरेर विश्व मानवताको इतिहासमै नयाँ सन्देश दिए ।

विन्ड्रो विल्सनले पहिलो विश्वयुद्धमा अमेरिकी भूमिकालाई ठोस गर्दै ‘लिग अफ नेसन्स’को अवधारणालाई अघि बढाए । जो दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघ र बहुपक्षीय विश्व संस्थाहरू निर्माणको आधारशीला बन्यो ।

विश्व आर्थिक महामन्दी र दोस्रो विश्वयुद्धमा रुजबेल्टको भूमिका अद्वितीय थियो । शीतयुद्ध कालमा आइजेनवार, रिचार्ड निक्सन, जिमी कार्टर र रोनाल्ड रेगनको भूमिका उत्तिकै महत्त्वपूर्ण थियो । शीतयुद्धोत्तर नवउदारवादी युगमा जर्ज डब्लू. बुस, विल क्लिन्टन र बराक ओबामा उदाए । जसले भूमण्डलीकरण र सेप्टेम्बर ११ पछिको आतंकवादविरुद्धको संघर्षलाई कुनै न कुनै परिणाम दिए ।

यो प्रसंग निक्कै लामो छ । जस्तो कि जोनअफ केनेडीले राष्ट्रलाई अन्तरिक्ष अनुसन्धान र विश्व सहयोगका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गराएका थिए । संक्षिप्तमा अमेरिकाले राजनीतिक विचारमा मतभेदका बावजुद राष्ट्रपतिका रूपमा गम्भीर व्यक्तित्व पाउने गरेको थियो ।

सन् २०१६ पछि यो क्रम कमजोर भएको चिन्ताले अहिले धेरै अमेरिकीलाई सताएको छ । डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल भर्खरै ५ महिना पुगेको छ । तर, अमेरिकामा ट्रम्पोत्तर युगको परिकल्पना र विश्लेषण सुरु भइसकेको छ । लाग्छ – अमेरिकी नागरिक ट्रम्प प्रशासनको कार्यकाल छिटोभन्दा छिटो पूरा होस् भन्ने चाहन्छन् ।

अमेरिकीमा ट्रम्पको बाँकी कार्यकाल कस्तो हुन्छभन्दा बढी ट्रम्पको दोस्रो कार्यकालको अन्त्यपछि राजनीतिले कस्तो मोड लिन्छ भन्ने उत्सुकता तीव्र भएको सर्वेक्षणहरूले देखाउन थालेका छन् । सञ्चारमाध्यमको विश्लेषण पनि त्यतैतिर लक्षित हुँदै छ ।

राजनीतिमा आउनुअघि ट्रम्प व्यापारी थिए । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका लागि जब उनले चुनावी अभियान सुरु गरे, विवादास्पद छविका बावजुद उनको लोकप्रियता ह्वात्तै बढ्यो । ट्रम्पको उदय उनको व्यक्तिगत आक्रमकता र ठूलो–पुरानो रिपब्लिकन पार्टीमा नेतृत्व रिक्तताका बीचबाट भएको थियो ।

पहिलो कार्यकालमा ट्रम्पको कार्यशैलीको पुराना रिपब्लिकनहरूले नै विरोध गरे । सम्भवत: त्यसैको कारण सन् २०२० को दोस्रो कार्यकालको चुनाव उनले हार्नुपर्‍यो । बिरलै अमेरिकी राष्ट्रपति दोस्रो कार्यकालका लागि हार्छन् । ट्रम्प दोस्रो कार्यकालका लागि हार्दा ‘लेफ्ट–लिवरल’ जनमतले धेरै ठूलो राहतको अनुभूति गरेको थियो ।

अझ दोस्रो कार्यकालका लागि हारेको व्यक्ति तेस्रोपटक उम्मेदवार भएर जितेको त ट्रम्पअघि एउटा मात्र उदाहरण थियो । २२औं राष्ट्रपति ग्रोभर क्लिभल्यान्डले २३औं राष्ट्रपतीय प्रतिस्पर्धामा पराजित भई २४औं राष्ट्रपतिका लागि जितेका थिए ।

तर, यो उन्नाइसौँ शताब्दीको उदाहरण थियो । बीसौँ शताब्दीभरि यस्तो कहिल्यै भएन । कि दोस्रो कार्यकालका लागि पराजित नै भएनन् कि पराजित व्यक्ति तेस्रो कार्यकालमा उम्मेदवार बनेर आएनन् ।

ट्रम्पको विजयसँग थप अनौठो संयोग जोडिएको छ । उनले दुवैपटक मुख्य प्रतिस्पर्धीका रूपमा महिला उम्मेदवारलाई पराजित गरे । अर्को प्रकारले भन्दा एक आधुनिक लोकतान्त्रिक महाशक्ति राष्ट्रमा प्रथम महिला राष्ट्रपति हुने अवसरलाई रोके । करिब अढाई शताब्दी लामो इतिहासमा महिला राष्ट्रपति निर्वाचित हुन नसक्नु अमेरिकी लोकतन्त्रको अध्याँरो पाटो हो ।

सन् २०१६ मा उनले हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । तर, लोकप्रिय मतमा होइन, निर्वाचन मण्डलमा मात्रै । सन् २०२४ मा उनले प्रथम महिला उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरे, लोकप्रिय मत र निर्वाचक मण्डल मतभार दुवैमा ।

त्यसो त, ट्रम्पको उदयलाई विपक्षी डेमोक्रेटिक पार्टीको कमजोरीले पनि ठूलो आधार दिन्छ । सन् २००८ पछि डेमोक्रेटिक राजनीतिको पिरामिडमा ‘क्लिन्टन–ओबामा–बाइडन अल्पतन्त्र’को दूष्चक्र निर्माण भइसकेको थियो । क्लिन्टन र ओबामा व्यक्तिगत रूपमा जति लोकप्रिय र प्रतिभाशाली थिए – उनीहरूले अघि सारेका हिलारी क्लिन्टन, जो वाइडन र कमला ह्यारिस त्यति नै प्रभावकारी थिएनन् । यस्तो अल्पतन्त्रले अमेरिकी मतदातालाई निराश बनाउँदै लगेको थियो ।

हिलारी क्लिन्टन बिल क्लिन्टनकी पत्नी हुन् । कमला ह्यारिस प्राइमरी बिनै अन्तिम समयमा जो बाइडनद्वारा प्रस्तावित भएर उम्मेदवार बनेकी थिइन् । यसो गरेर ‘क्लिन्टन–ओबामा–बाइडन अल्पतन्त्र’ ले नयाँ नेताहरूको उदयको आधारलाई रोकेको थियो । पार्टीभित्रको लोकतन्त्रलाई जीवन्त हुन नदिएर औपचारिकतामा सीमित गरेको थियो ।

समाजवादी रुझान राख्ने भोरमेन्ट सिनेटर बर्नी स्यान्डर्सलाई रोक्नु यो अल्पतन्त्रको एक ठूलो सफलता थियो । राजनीतिको कोर्स कुनै एउटा कारणले मात्र निर्धारण गर्दैन । त्यसलाई बहुमुखी कारणले प्रेरित र प्रभावित गरेका हुन्छन् ।

ट्रम्पको दोस्रो विजयमा विश्वको प्रथम धनाढ्य इलोन मस्कको पनि ठूलो भूमिका थियो । मस्क स्वयं आप्रवासी हुन् । उनी दक्षिण अफ्रिकामा जन्मेर क्यानडा हुँदै अमेरिका सरेका थिए । उनको राजनीतिक पृष्ठभूमि पनि उदारवादी थियो । अमेरिकी भूमण्डलीकरण र नवउदारवादको अवसरलाई उपयोग गरेर मस्क विश्वको एक नम्बर धनाढ्य बन्न सफल भएका थिए ।

तर, सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा मस्कले आप्रवासीप्रति कडा नीति भएका, भूमण्डलीकरण, बहुपक्षीय विश्व संस्था र उदारवादप्रति क्षणक्षण आगो ओकल्ने ‘कन्जर्भेटिभ’ सोचका ट्रम्पलाई साथ दिए । भनिन्छ – मस्कले ट्रम्पको चुनावी अभियानमा कम्तीमा २९० मिलियन डलर खर्च गरेका थिए । ट्रम्प–मस्क सहकार्यलाई ‘अर्बपतिहरूको अल्पतन्त्र’ वा धनकुबेरहरूको गठजोड भन्न थालिएको थियो । तर, यो लामो टिकेन ।

ट्रम्प शासनकालको प्रारम्भिक अवधि निराशाजनक भएर नै मानिसले ट्रम्पोत्तर युगको परिकल्पना गर्न हतार गरिरहेका हुन सक्छन् । यसलाई पुष्टि गर्न थुप्रै दृष्टान्त छन् ।

आफूले चुनाव जितेको २४ घन्टाभित्रै युक्रेन युद्ध रोक्ने ट्रम्पको सबैभन्दा ठूलो वाचा थियो । यसका लागि ट्रम्पले आफूले जानेको सकेको प्रयास गरेकै पनि हुन् । बारम्बार उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे । साउदी अरबमा दुई देशका उच्च अधिकारीबीच वार्ता भयो । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई उनले फकाउन वा धम्क्याउन खोजे । तर, कुनै पनि परिणाम आएन र आउने सम्भावना पनि देखिएको छैन । ट्रम्पले दाबी गरेको पुटिनसँगको मित्रताले कुनै अर्थ राखेको छैन ।

क्यानडा र ग्रिनल्यान्डमाथि दाबी गरिएका ट्रम्पका टिप्पणीले प्रारम्भमा ठूलै तरंग सृजना गरेका थिए । बिस्तारै ती शिथिल भए । क्यानडा र ग्रिनल्यान्ड ट्रम्पको बाँकी कार्यकालमा अमेरिकामा गाभिएलान् भन्ने कल्पना अब कमैले गर्न सक्छन् । गाजाबाट प्यालेस्टाइनीलाई धपाएर ‘मोजमस्ती केन्द्र’ बनाउने ट्रम्पको योजनाले कुनै अनुमोदन प्राप्त गर्न सकेन । हावादारी वा उडन्ते गफ मात्र साबित भयो ।

ट्रम्प प्रशासनले गाजा युद्धलाई कुनै नयाँ मोड दिन सकेको छैन । न इजरायलले आक्रमण रोकेको छ न आफ्ना शीर्ष नेताका मृत्युको बावजुद हमासले आत्मसमर्पण नै गरेको छ ।

सबैभन्दा ठूलो कुरा ट्रम्पको ट्यारिफ नीतिले अमेरिकी अर्थतन्त्रमा महंगी र मुद्रास्फिति आकासमा पुर्‍याएको छ । यस कारण ट्रम्पलाई मत दिएका सर्वसाधारणसमेत आक्रोशित हुँदै गएको बताइन्छ । चीनसँगको व्यापार युद्ध अन्ततः उनी यथोचित सन्तुलन गर्न बाध्य भएका छन् ।

ट्रम्पले मस्कको सल्लाहमा खर्च कटौतीका नाममा जुन काम गरे, त्यसले रोजगारको संकुचन र विश्व रंगमञ्चमा अमेरिकाको हैसियत कमजोर भएको छ । साझेदार देशले अमेरिकी नीतिलाई गम्भीरतापूर्वक लिन्थे । अब नजिकका नाटो सदस्य र युरोपेली साझेदारसमेत ट्रम्पकालीन अमेरिकी नीतिप्रति आश्वस्त छैनन् ।

मस्क र ट्रम्प अहिले एकअर्कालाई तल्लोस्तरमा ओर्लिएर गाली गरिरहेका छन् । ट्रम्पले मस्कलाई ‘दिमाग खराब’ भएको भन्न भ्याइसके । उता मस्क अमेरिकामा अब ‘तेस्रो पार्टी’ चाहिन्छ भन्दै छन् । मस्कको विचारमा डेमोक्रेटिक र रिपब्लिकन दुवैले देशको हित गर्ने मनसाय र सामर्थ्य गुमाएका छन् । केही महिनाभित्रै मस्क ट्रम्पको कठोर आलोचक बनेर निस्केका छन् ।

ट्रम्प डेमोक्रेटिक प्रशासनकालमा मस्कको अन्तरिक्ष केन्द्र र विद्युतीय सवारी साधन उत्पादन कम्पनीका लागि दिइएको संघीय अनुदान रोक्ने मनस्थितिमा पुगेका छन् । मस्कको टेस्ला कम्पनीले यसबीच ठूलो नोक्सानी व्यहोरेको छ । टेस्लाका कार बहिष्कार अभियान र आगजनीसम्म भएका छन् ।

मस्कले ट्रम्पसँग रक्षा खर्च वृद्धि, सार्वजनिक ऋण सीमा, कर कटौती, सुरक्षा, सीमा र आप्रवासन नीति आदिमा व्यापक असहमति जनाए । उनी ट्रम्पले दिएको जिम्मेवारी ‘डज’ परित्याग गर्दै शासनप्रशासनको वृत्तबाट बाहिरिसके ।

ट्रम्पको दोस्रो कार्यकाल अनिश्चय र गञ्जागोलमा फस्दै गएको छ । ट्रम्पको पहिलो कार्यकाल यसरी नै बितेको स्मरण गरिरहेका अमेरिकी दोस्रो कार्यकाल पनि यस्तै गञ्जागोल र अनिश्चयबीच बित्न सक्ने अनुमान गर्दै छन् ।

अमेरिकालाई खासमा केले अमेरिका बनाएको थियो ? धेरैले दिने उत्तर हो– संघीय गणतान्त्रिक लोकतन्त्र, विधिको शासन, प्रतिष्ठित विश्वविद्यलाय, वैज्ञानिक अनुसन्धान, प्रविधि आविष्कार, आप्रवासी अन्तर्घुलन, बहुसाँस्कृतिकतावाद, विश्वभरिबाट बौद्धिक प्रतिभा संग्रहण, बलियो मुद्रा डलर, कमभन्दा कम प्रशासनिक झमेला र बजार निर्देशित उद्यमशीलता अवसर । यस्तै सन् १९४५ पछि निर्मित विश्व संस्था, बहुपक्षीय सहकार्य, नेटो आधारित सुरक्षा संयन्त्र र बल, महामारी नियन्त्रण र प्राकृतिक विपत् नियन्त्रण तथा उद्धारमा मानवीय सहयोग र वैश्विक प्रतिष्ठा नै अमेरिकालाई अमेरिका बनाउने मुख्य आधार हुन् ।

ट्रम्पका नीतिले यी सबै अमेरिकी आधार–स्तम्भमाथि सिधै वा घुमाउरो प्रहार गर्दछ । जस्तो कि उनी विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीको छात्रवृत्ति, भर्ना र प्रवेशाज्ञा रोक्दै छन् । विश्वविद्यालय अनुदान कटौतीको प्रयास गर्दैछन् ।

अमेरिकी समाजमा ट्रम्पोत्तर राजनीतिका दुईवटा आशा देखिन्छन् ।

पहिलो– रिपब्लिकन पार्टीभित्रै ट्रम्पभन्दा फरक सोच र छवि भएको युवा नेतृत्व उदयको आशा ।

दोस्रो– डेमोक्रेटिक पार्टीमा ‘क्लिन्टन–ओबामा–बाइडन अल्पतन्त्र’को युग समाप्त हुने आशा ।

भलै अझै ३ वर्षभन्दा बढी अमेरिका र विश्वले ट्रम्प प्रशासन व्यहोर्नुपर्ने छ । तर, यो उनको सन् २०१६–२०२० को पहिलो कार्यकालभन्दा धेरै भिन्न हुने सम्भावना कम छ । घोषणा त ट्रम्पले धेरै गर्न सक्नेछन्, तर कार्यरूप दिन भने सजिलो छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved