हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१६ गैरीगाउँ माछापोखरीमा वैशाख १९ गते दिउँसो धसिएको गाडी खोज्न खानी तथा भूगर्भ विभागबाट आएको टोलीले प्रारम्भिक अनुसन्धान सकेको छ ।
मङ्गलबार बिहानदेखि बुधवार दिउँसोसम्म टोलीले उक्त स्थानमा ८ मिटरको गहिराइमा केही सम्भावित चुम्बकीय वस्तु (मेग्नेटिक एनोमाली) रहेको कुरा पत्ता लगाइएको भूगर्भविद् नारायण अधिकारीले जानकारी दिए ।
बुधबार पनि उक्त स्थानमा सम्भावित चुम्बकीय वस्तु रहेको थप निश्चित गर्न अर्को उपकरण (पावर अगर)को प्रयोग गरी खाल्डोभित्र पसेर साइडमा दोस्रो प्वाल पारी अनुसन्धान गर्ने क्रममा उक्त स्थानको ठूलो मात्रामा (क्र्याक) चर्किएको भाग फेला परेकाले उक्त स्थानमा जोखिम भएको भूगर्भविद् अधिकारीले बताए ।
उक्त चर्केको स्थान २० सेन्टिमिटर सारेको अवस्थामा डेढ मिटर जति ठूलो चर्किएको भाग रहेको कारणले गर्दा उक्त स्थान जोखिमपूर्ण रहेको निष्कर्षसहित टोली फर्किएको अधिकारीले बताए ।
अब उक्त स्थानमा जान निषेध गरी छेउमा रहेका सबै पोखरीहरुलाई सुकाएर अर्को तहको कार्य गर्न आफूले हेटौँडाकी मेयर मिनाकुमारी लामालाई सुझाएको अधिकारीले नेपालभ्युजलाई बताए ।
“हाम्रो टोलीले काठमाडौं गएर विभिन्न प्रकारका ल्याबका परीक्षणसमेत सम्पन्न गरी ३/४ दिनमा लिखित प्रतिवेदन उपमहानगरलाई बुझाउनेछौं र त्यसपछि मात्र दोस्रो चरणको काम गर्न सकिन्छ,” अधिकारीले नेपालभ्युजसँग भने ।
Facebook Comment
Comment