रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राजीवरञ्जन यादव निर्वाचित भएका छन् ।
पूर्वमेयरसमेत रहेका यादवले आफ्ना प्रतिद्वन्दी पूर्वजिल्ला अध्यक्ष श्यामबिहारी यादवभन्दा ६६ मत बढी ल्याएका थिए । उनले १९६ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी श्यामबिहारीले १३० मत ल्याएका हुन् ।
निर्वाचन अधिकृत नागेन्द्रप्रसाद पटेलका अनुसार उपाध्यक्षद्वयमा पारस भण्डारी र अमरुल हक विजयी भएका छन् । दुईजना उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएको उनले जानकारी दिए । जसपा नेपाल रौतहटको सचिवमा
शम्भुप्रसाद यादव र सहसचिवमा दीपेन्द्र पटेल र उपेन्द्र राय निर्वाचित भएका छन् । पार्टीको कोषाध्यक्षमा बृजमोहन साह निर्वाचित भएको जसपा नेपाल रौतहटले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष यादवले सङ्गठन बलियो बनाउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताए ।
यसअघि पार्टीमा भएका कमीकमजोरीलाई सच्चाएर अगाडि बढने उनले प्रतिबद्धता जनाए । जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता सङ्ख्या ३४३ रहेकोमा ३२९ जनाले मतदान गरेका थिए ।
Facebook Comment
Comment