जनकपुरधाम । एसइई परीक्षाको प्रक्रियाबाट मधेस प्रदेश सरकार अलग भएको मुख्यमन्त्री सतिश कुमार सिंहले घोषणा गरेका छन् ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले एसईईको परीक्षा सुधारका लागि गरेको प्रयासका विरुद्धमा शिक्षा विकास तथा समन्वय इकाईहरूले सहयोग नगरेको भन्दै परीक्षाको सम्पूर्ण प्रक्रियाबाट मधेस सरकार बाहिरिएको बताएका हुन् ।
मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी ८ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय कार्यालय र सुरक्षा निकायहरूको सहभागितामा भएको बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै परीक्षाबाट बाहिरिएको जनाए ।
उनले एसईईको परीक्षालाई मर्यादित गर्ने निर्णय कार्यान्वयन नभएपछि गलत क्रियाकलापको साक्षी बन्नका लागि अनुगमन सहितका अन्य कार्य नगर्ने बताए । उनले परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरूलाई शुभकामना दिए।
मुख्यमन्त्री सिंहले मधेशको शिक्षाको स्तरमा सुधारका लागि र विद्यालयमा पठन पाठनको वातावरण निर्माण गर्न अहिलेको चिट चोर्ने तथा चोराउने वातावरणको अन्त्य नभएसम्म कठिन हुने बताए । उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार दिएको निर्देशन इकाईका प्रमुखहरुले उल्लङ्घन गरेको आरोप समेत लगाए ।
यसअघि प्रदेश सरकारले केन्द्राध्यक्षको चयन गोला प्रथाबाट हुनुपर्ने र केन्द्रमा फेला परेको मोबाइल जफत गर्ने निर्णय गरेको थियो । तर त्यस विपरीत केन्द्राध्यक्ष खटाउने काम भएको उनले बताए। शिक्षाको गुणस्तर सुधारका लागि मर्यादित परीक्षा बनाउनुको कुनै विकल्प नभएको बताएका उनले यस्तै कार्यले शिक्षाको हब रहेको मधेशलाई बिगारेको दाबी गरे ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेशको शिक्षा सुधारका लागि प्रदेश सरकारले गरेको प्रयास कार्यान्वयन नभएपछि प्रदेश सरकार परीक्षाको साक्षी बन्न जरुरी नभएको बताइन् ।
Facebook Comment
Comment