काठमाडौं । केही दिन अघि क्रिसमसको अवसरमा सुनसरीको धरानस्थित एक चर्चमा आयोजित नाटक ‘प्रभूको सृष्टि’ मञ्चन गर्दा बालबालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ ।
“हिसप चर्च धरान”मा नाटक प्रदर्शनका क्रममा आयोजकले बालिकाहरूलाई नग्न बनाउन बाध्य पारेको र तिनका भिडिओ सामाजिक सञ्जाल र पोर्न साइटहरूमासमेत अपलोड गरेको आरोप लागेको छ ।
यसै क्रममा, नाटकको तयारीका बेला चर्च सञ्चालक आयोजकले बालिकामाथि यौन दुर्व्यवहार र शोषण गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय महिला आयोग, र मानवअधिकार आयोगमा पास्टरको नाम किटानीसहित उजुरी दर्ता गरेका छन् ।
घटनालाई गुपचुप राख्न इसाई समुदायका केही पास्टर र अभियन्ताले भित्री बैठक गरेर गल्ती गर्नेलाई संरक्षण दिन खोजेको आरोपसमेत लागेको छ ।
पीडित परिवारले न्याय माग्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
पीडित पक्षले उजुरी दर्ता गरेपछि प्रशासनले छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ ।
आइतबार बिहान ११ बजे धरान ११ स्थित हिसप चर्चमा ख्रिष्टियन समुदायका अगुवाले घटनामा संलग्नसँग छलफल गरी क्षमायाचना गरेका थिए । उनीहरुले घटनालाई गुपचुप मिलाउन अनुरोध गरेका थिए ।
धरान ख्रिष्टियन समाजका अगुवा, जसमा पास्टर हिमाल राई समेत रहेका छन्, घटनालाई गुपचुप मिलाउन सक्रिय भूमिका खेलिरहेको बताइएको छ ।

Facebook Comment
Comment