विवाह पञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो

विवाह पञ्चमीको तेस्रो दिन धनुषयज्ञ मनाइयो

जनकपुरधाम । जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन मंगलबार धनुषयज्ञ सम्पन्न भएको छ । विधिवत् रुपमा आइतबार सुरु भएको विवाह पञ्चमी महोत्सव अन्तर्गत मंगलबार बाह्रबिघा रंगभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो ।

त्रेता युगमा झै प्रतिकात्मक रुपमा राम-लक्ष्मणको पहिरनमा सजिएको बालकहरुबाट रंगभूमी मैदानमा बनाइएको मंचमा राखेको धनुष तोड्न लगाएर धनुषयज्ञ मनाइएको हो । प्रतिकात्मक भगवान् रामको रूपमा सजिएको बालकले धनुष तोडेका थिए ।

जानकी मन्दिरका छोटे महन्थ राम राेसन दास वैष्णवका अनुसार सो अवसरमा अयोध्याबाट करिब पाँच सयको संख्यामा आएका साधुसन्तको जन्ती टोली पनि धनुषयज्ञमा सहभागी भएका थिए ।

उनले जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमी भव्यताका साथ मनाएपनि अयोध्याबाट पाँच वर्षको अन्तरालमा जन्ती आउने गरेको बताए । यस पटक चौथोपटक अयोध्याबाट जनकपुर जन्ती आएको हो ।

प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा भारत-नेपालको विभिन्न ठाउँबाट लाखौंको संख्यामा श्रद्वालु भक्तजनहरु आउने गरेका छन् । धनुषयज्ञको लागि बनाइएको मञ्च अगाडी पण्डालमा हजारौं संख्यामा श्रद्धालुहरुको उपस्थिती रहेको थियो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा राजा जनकले सीता स्वयंवरको लागि राखिएको धनुष अयोध्याका राजा दशरथका जेष्ठ पुत्र भगवान रामले तोडेपछि रामसँग सीताको विवाह भएको थियो ।

सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो। दोस्रो दिन विवाह मण्डपको बंगैचामा फूलबारी लीला दर्शन गराइएको थियो।

चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइनेछ । छैटौं दिन अर्थात् मंसिर २१ गते जनकपुरकै राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रंगभूमी मैदान पुर्‍याउने छ । त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ ।

रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved