रामगोपालपुरमा बढ्यो चुनावी चहलपहल : मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवार घर-घरमा

नेपालभ्युज

रामगोपालपुरमा बढ्यो चुनावी चहलपहल : मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवार घर-घरमा

महोत्तरी । आगामी आइतबार महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको उपनिर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ ।

मौनअवधि प्रारम्भ हुनुअगावै प्रचारप्रसारमा जुटेका उनीहरूले मधेश मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन् ।

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उम्मेदवार मैदानमा छन् । यसअघिको निर्वाचनमा विजयी नेकपा (माओवादी केन्द्र) चुनाव जित्नैपर्ने दबाबमा छ । गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचन आफूले जित्ने दाबी गर्छन् । अघिल्लो निर्वाचनमा ५८ मतले पारजित उनी यसपटक मतदाताले आफूलाई जिताउनेमा ढुक्क छन् । सोही निर्वाचनमा तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेकपा (एमाले)का उम्मेदवार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पाटीबाट क्रमशः मोहम्मद मनान खान, र खुरसेद खान तथा राजेशकुमार यादव उम्मेदवार छन् ।

यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए । सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved