काठमाडौं । आज मंसिर कृष्ण अष्टमी, गोरखकाली पूजा । गोरखा डाँडामा रहेको गोरखकाली मन्दिर लगायत देशभरका विभिन्न मन्दिरहरूमा विशेष पूजा गरिँदैछ ।
नेपाली इतिहासमा बाबा गोरख र गोरखकालीको भूमिका अतुलनीय छ ।
बाबा गोरख र पृथ्वीनारायण शाहको भेट, पृथ्वीनारायण शाहको गोडामा पर्न गएको बान्ता, र बाबा गोरखले दिएको आशीर्वाद— “जहाँ जहाँ टेकिन्छ, त्यहाँ त्यहाँ विजय हुनु”— नेपालको एकीकरण यात्रामा प्रेरणाको प्रमुख स्रोत मानिन्छ।
बाबा गोरख र गोरखकालीको ऐतिहासिक महत्त्व
बाबा गोरख, जो मच्छिन्द्रनाथका अनन्य भक्त मानिन्छन्, नेपाल र भारतमा मात्र नभएर सम्पूर्ण सनातन समुदायमा श्रद्धा र आस्थाका प्रतीक हुन् । उनीसँग जोडिएको गोरखा दरबार क्षेत्र र गोरखकाली मन्दिर नेपाली राजपरिवारसँग गहिरो सम्बन्ध राख्छ ।
गोरखा दरबार क्षेत्रमा रहेको गोरखकालीको पीठलाई शाहवंशको कूलदेवीका रूपमा पूजा गरिन्छ । यस मन्दिरमा पौष कृष्ण अष्टमीका दिन विशेष पूजा गर्ने परम्परा छ ।
पृथ्वीनारायण शाहले एकीकरणको अभियान थाल्दा गोरखकाली देवीको आशीर्वाद लिएर अघि बढेका थिए ।
यो परम्परा शाहवंशीय राजाहरूको समयमा सैयौं वर्षसम्म कायम रह्यो । विशेषगरी फूलपातीका दिन गोरखकाली मन्दिरबाट जमरा ल्याएर काठमाडौँको हनुमानढोकामा स्थापना गर्ने चलन थियो ।
मृगस्थलीको गोरख मन्दिर र ध्यान
बाबा गोरखसँग जोडिएको अर्को महत्त्वपूर्ण स्थान काठमाडौँको पशुपति क्षेत्रको मृगस्थली हो । यहाँ बाबा गोरखले १५ वर्ष ध्यान गरेर साधना गरेका थिए। तर, आज यो मन्दिर संरक्षणको अभावमा बेवास्ता भइरहेको छ ।
आधुनिक सन्दर्भमा गोरखकालीको महत्त्व
गणतन्त्र स्थापना भएपछि गोरखकालीसँग सम्बन्धित कतिपय परम्पराहरूमा कमी आएको छ । यद्यपि, नेपाली भूमिको रक्षा र शान्तिका लागि बाबा गोरख र गोरखकाली देवीप्रतिको आस्थाले आज पनि जनतामा विशेष स्थान राख्छ ।
गौ संरक्षणका लागि समेत यी देवी-देवताको महिमा अपरिहार्य मानिन्छ ।
गोरखकाली पूजाको अवसरमा आज गोरखा दरबार क्षेत्रमा विशेष पूजा-अर्चना हुँदैछ । धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण यी परम्पराहरूको जगेर्ना गर्ने दायित्व हामी सबैको हो ।
Facebook Comment
Comment