गुन्डा नाइकेको अन्तिम ठेगाना : डिल्लीबजार कारागारको चार दिवार !
शक्तिको शिखरदेखि जेलको भुइँसम्म
एक समय थियो, काठमाडौंमा नयाँ व्यवसाय खोल्न चाहनेले सरकारी कागजात मिलाउनुअघि नै मनाङेलगायत नाइकेहरूलाई मोटो रकम बुझाउनुपर्थ्यो । पछि मनाङे गुन्डागर्दीबाट हात झिकेर राजनीतिमा लागे । सांसद हुँदै सातपटक मन्त्री बनेर उचाइमा पुगे । उनी अन्ततः जेलको चार दिवारभित्र खुम्चन पुगेका छन् ।
काठमाडौं । २०६० को दशकतिर काठमाडौंको सङ्गठित अपराधमा ‘कहलिएका’ नाम हुन्— दीपक मनाङे, चक्रे मिलन ।
अरू पनि थिए, राजु गोर्खाली, गणेश लामा, कुमार घैँटे, दिनेश अधिकारी ‘चरी’लगायत । तर, उनीहरूको नाम मनाङे र मिलनको पछि आउँथ्यो । जो, खुलेआम ‘गुन्डाराज’मा रमाउँथे ।
कतिपय व्यापारीहरू उनीहरूको नाम सुन्नेबित्तिकै झस्किन्थे । किनकि, महिनैपिच्छे उनीहरूलाई हप्ता बुझाउनु अनिवार्य हुन्थ्यो । उनीहरूले व्यापारी-व्यवसायीमाथि लुटपाट र हप्ता असुली गर्दै कानुनी राजको धज्जी उडाइरहेका मात्रै थिएनन्, समाजको सन्तुलनलाई समेत खलल पुर्याइरहेका थिए ।
उनीहरूका आ-आफ्नै आधार क्षेत्र थिए । मनाङबाट काठमाडौं झरेका मनाङे ठमेलमा गुन्डागर्दी गर्थे भने गोरखाबाट काठमाडौं उक्लिएका चक्रे मिलनको आधार क्षेत्र महाराजगञ्ज (चक्रपथ) थियो । अवस्था यस्तो कि उनीहरूको क्षेत्रमा प्रहरी प्रशासन हुँदाहुँदै अनुमति बिना न कसैले कुनै व्यापार-व्यवसाय सुरु गर्न पाउँथ्यो, न केही नयाँ काम ।
उनीहरूको ‘गुन्डा सत्ता’ यति धेरै बलियो थियो कि कुनै नयाँ व्यवसाय खोल्न चाहनेलाई सरकारी कागजात मिलाउनुअघि नै यी नाइकेहरूलाई मोटो रकम बुझाउनु बाध्यता पर्थ्यो ।
विशेष गरी रातमा चल्ने क्लब, डान्स बारहरूमा त यिनीहरूको आम्दानी टन्न हुन्थ्यो । उनीहरू आफ्नो सत्तामा खुलेआम नाच्दै हुन्थे, कानुनी राजलाई ठाडो चुनौती दिँदै !
उनीहरू आफ्नो इलाकाबाट अर्काे इलाकामा आफ्नो क्षेत्र विस्तार गर्न चाहन्थे । लोभ थियो, बढी असुल गर्न पाइने । यही क्रममा उनीहरूबीच कहिलेकाहीँ ‘ग्याङ फाइट’ पर्थ्यो ।
चक्रपथमा हालीमुहाली चलाएका चक्रे मिलनका केटाहरू ठमेल छिर्ने प्रयासमा थिए । चक्रे मिलनका गुन्डाहरू ठमेल क्षेत्र छिरेमा आफ्नो धन्दामा क्षति पुग्ने भन्दै मनाङेको समूह आक्रोशित भयो । दुस्मनी हुने नै भइहाल्यो । त्यही सिलसिलामा उनीहरूका समूहका केटाहरूबीच ग्याङ फाइट भई नै रहन्थ्यो । समयमा-समयमा यी समूहहरूका बीचमा हात हालाहाल हुने, गोली चल्ने र झगडा चर्किने क्रम चलिरहन्थ्यो ।
***
२०६० को अन्त्यतिर काठमाडौंको ठमेल क्षेत्रमा आफ्नो प्रभाव जमाउने प्रयासमा ‘चक्रे मिलन’को समूहले ‘मनाङे’ समूहमाथि आक्रमण गरेको थियो ।
ठमेललाई आफ्नो ‘आधार क्षेत्र’ मान्ने मनाङे समूहले यसलाई गम्भीर चुनौतीको रूपमा लियो । उनी गणेश लामा र कुमार घैँटेको समूहलाई जुटाएर चक्रे मिलनको समूहविरुद्ध प्रतिआक्रमणमा उत्रिए ।
२०६१ साउन १० गते चक्रे मिलन पानीपोखरीस्थित चुफाङ नामको रेस्टुरेन्टमा बसिरहेका थिए । मनाङे समूहले त्यहाँ पुगेर आक्रमण गर्यो ।
यस आक्रमणमा चक्रेको एउटा हात काटिएर लगभग छुट्नै लागेको अवस्थामा थियो । उनी दोस्रो हातले छिन्नै लागेको हात समातेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जसम्म पुगे । अस्पताल नजिकै भएका कारणले उनी बाँचे । भाग्यवश्, उनको हात जोडियो । अहिले चक्रेको उक्त हात राम्रोसँग चल्दैन ।
आफैँ आपराधिक गिरोहको नाइके भएका कारण चक्रेले मनाङेविरुद्ध प्रहरीमा उजुरी दिएनन् । किनकि, प्रहरीमा जाँदा आफूविरुद्धका पनि अरू मुद्दा थिए । बरु उनले मनाङेसँग बदला लिने योजना बनाए ।
तर, चक्रेकी पत्नी इन्दिरा गुरुङले २०६१ साउन ११ गते तत्कालीन जिल्ला प्रहरी कार्यालय हनुमानढोका काठमाडौंमा मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिइन् ।
दीपक मनाङे (बायाँ) र चक्रे मिलन एकसाथ
जाहेरी परेपछि फरार रहेका मनाङे २०६१ चैतमा पक्राउ परे । त्यसपछि हत्या प्रयासको अभियोगमा मनाङेसहित पाँच जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरियो ।
उनको समूहमा समूहमा रहेर गुन्डागर्दीमा संलग्न काभ्रेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामा पनि पक्राउ परेका थिए ।
अदालतको आदेशमा मनाङे २०६२ वैशाख १३ मा पुर्पक्ष थुनाअन्तर्गत कारागार चलान भए । पछि फैसलामा जिल्ला अदालतले घटनालाई ज्यान मार्ने उद्योग नभएको र कुटपिट भएको ठहर गर्दै जेल मुक्त गर्न आदेश दियो ।
अदालतले हात छिनेको घटनालाई हत्या प्रयास भने स्वीकार नगरी कुटपिट ठहर गर्दै दुई वर्ष कैद सजाय तोकेको थियो । त्यो सजाय पूरा भएपछि मनाङे २०६३ माघमा जेलमुक्त भए । फेरि उनी गुन्डाराजमै फर्किए ।
जिल्ला अदालतको फैसलाबाट मनाङेलाई सजाय कम भएको भन्दै सरकारी वकिल कार्यालय तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन निवेदन दिएको थियो ।
त्यसपछि तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ मा जिल्लाको फैसलामा केही उल्टी गर्दै मनाङे र सहयोगीलाई पाँच वर्ष जेल सजाय हुने ठहर गरेको थियो । त्यो फैसला मनाङे र अरू प्रतिवादीलाई चित्त बुझेन ।
मनाङेबाहेक अरू तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुगेका थिए । उनीहरूलाई सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ माघ २ गते सफाइ दिएको थियो । सफाइ पाएपछि कांग्रेस केन्द्रीय सदस्य भएका गणेश लामाले काभ्रेबाट चुनावसमेत लडेका थिए ।
मनाङे पनि पुनरावेदन गर्दै सर्वोच्च गए । पुनरावेदन अदालतबाट भएको फैसलाको ६ वर्षपछि मनाङेले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । सोही फैसलालाई अहिले २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले सदर गरेको हो ।
सोही फैसलापछि फरार रहेका मनाङे मंगलबार पक्राउ परेका हुन् । २०७४ सालमा पनि एक पटक उनी पक्राउ परेका थिए । पछि छुटे । उनले मुद्दाको पुनरावेदन दिएर राजनीतिमा आएका थिए ।
यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।
सर्वोच्चबाट लिखित फैसला भने जारी हुन बाँकी छ । फैसलामा लेखिने बेहोराले मनाङेको सांसद पद के हुन्छ भन्ने तय गर्ने सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
२०७४ पछि मनाङे अपराधबाट हात झिकेर राजनीतिमा लागे । मनाङे स्वतन्त्र रूपमा २०७४ र २०७९ सालको निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा मनाङबाट निर्वाचित भए ।
२०७४ सालमा मनाङेले एमालेको समर्थनमा प्रदेशसभा सदस्य जितेका थिए । मनाङे राजनीति आएपछि गण्डकी प्रदेशको सरकार गिराउन र बनाउन निर्णायक बने । सत्ताको खेलमा चलाख निस्किएका उनी छोटो अवधिमा पटकपटक मन्त्री बने ।
उनी गण्डकी प्रदेश सरकारमा सात पटक मन्त्री भइसकेका छन् । ६ पल्ट मन्त्रालय सम्हालेका उनले पछिल्लो पटक वन मन्त्रालय पाए पनि सम्हालेनन् । पछिल्लो पटक आफूले रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।
विगतमा कानून हातमा लिएर अपराध गरेका उनले पछि सांसद बनेर कानून बनाउने ठाउँमा पुगे । अहिले पक्राउ परेपछि आफूले गरेको अपराधको सजायसहित कानून कार्यान्वयन गर्न पुगेका छन् ।
गुन्डागर्दीबाट राजनीतिसम्मको यात्रा गरेका मनाङे अब फेरि कानूनकै कठघरामा पुगेका छन्, पटकपटक कानूनको अवज्ञा गरेका ‘मनाङे’ २१ वर्षपछि कानुनी दायरामा आएका छन् ।
आलोचक भन्छन्, “अपराधको बाटोले क्षणिक रूपमा चाहे जहाँ पुर्याओस्, अन्ततः सबैलाई ठेगानमा पुर्याउनेरहेछ ।”
Facebook Comment
Comment