गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोरीः सीसीटीभीबाट पहिचान गरी तीन आरोपी पक्राउ

नेपालभ्युज

गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोरीः सीसीटीभीबाट पहिचान गरी तीन आरोपी पक्राउ
फाइल तस्वीर ।

काठमाडौं– बाराको बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोरी गरेको आरोपमा पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपुर गाउँपालिका– ५ का पवन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

शनिबार मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछि मेलामा जडान गरिएको सीसीटीभीमा हेर्दा तीनै जनालाई पहिचान गरी पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनीहरूमध्ये एक जनालाई आइतबार एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।

गढीमाई मेला असोज १७ गते घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भएयता चार दर्शनार्थीको सुनको सिक्री चोरी भएकोमा चारै जना आरोपीलाई पक्राउ गरिएको उनले बताए ।

मेलामा सुरक्षाका लागि २० ठाउँमा सीसीटीभी जडान गरिएका छन् । यस्तै १० वटा थप्ने काम भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम महागढीमाई नगरपालिकाका प्रमुख यादवले जानकारी दिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मेला अवधिभर सुरक्षाको यथोचित प्रबन्ध गरिएकाले ढुक्क भएर मेला भर्न दर्शनार्थीहरुलाई आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved