काठमाडौं । तिहारको उल्लासमा पटाका पड्काउन नपाउने चेतावनी नेपाल प्रहरीले जारी गरेको छ ।
चाडपर्वको सुरक्षामा प्रहरी परिचालन गर्दै पटाका, जुवातास, र लागुपदार्थ नियन्त्रणलाई विशेष प्राथमिकता दिएको छ ।
काठमाडौं उपत्यकामा हाल करिब १० देखि १२ हजार प्रहरी सुरक्षा लागि खटिएका छन् ।
प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौं, भक्तपुर, र ललितपुरका मुख्य चोक तथा संवेदनशील क्षेत्रहरूमा गस्ती बढाइएको छ। विशेषगरी, काठमाडौं जिल्लामा मात्रै करिब ५ हजार प्रहरी परिचालन गरिसकिएको छ । ललितपुर र भक्तपुरमा समेत हरेक २४ घण्टामा हजारौं प्रहरी खटाएर सुरक्षा चुस्त बनाइएको छ ।
कार्कीले भने, “चाडपर्वमा पटाका पड्काउने, जुवातास खेल्ने, र लागुपदार्थको ओसारपसार हुने क्रमलाई कडाइका साथ रोक्ने प्रयास गरिरहेका छौँ। उपत्यकाबाट बाहिरिने बसमा समेत सादा पोशाकमा प्रहरी गस्ती गरिरहेका छन् ।”
यसैबीच, गृह मन्त्रालयले तिहारको समयमा विपद् निम्त्याउन सक्ने गतिविधिमा रोक लगाउन सर्कुलर जारी गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले भने, “७७ वटै जिल्लामा पटाका र आतसबाजीमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ। यदि विपद् जोखिमलाई उक्साउने कार्यमा संलग्न कोही फेला परेमा तत्काल हिरासतमा लिइनेछ।”
तिहारलाई शान्तिपूर्ण र सुरक्षित बनाउन प्रहरीले चाडपर्वको माहोललाई सुरक्षासँगै सन्तुलन गर्न विशेष तयारी गरेको छ ।
Facebook Comment
Comment