मधेसका आठ जिल्लाबाट अख्तियारमा १० हजार उजुरी, सबैभन्दा धेरै धनुषाबाट

नेपालभ्युज

मधेसका आठ जिल्लाबाट अख्तियारमा १० हजार उजुरी, सबैभन्दा धेरै धनुषाबाट

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा आर्थिक वर्ष २०८०\०८१ मा मधेस प्रदेशबाट उजुरीको चाङ लागेको छ ।

मधेस प्रदेशको ८ जिल्लाबाट १० हजार उजुरी परेको आयोगले जनाएको छ । जसमा सबैभन्दा धेरै धनुषाबाट परेका छन् ।

आयोगले सोमबार मधेसका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पेश गरेको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार अख्तियारमा परेको कूल उजुरीमध्ये मधेस प्रदेशका मात्र १० हजार रहेको जनाएको छ । त्यसमा पनि ८० प्रतिशत स्थानीय तहको भएको उल्लेख गरिएको छ ।

जिल्लागत रूपमा सबै भन्दा बढी उजुरी धनुषा जिल्लाबाट र सबै भन्दा कम सर्लाहीबाट परेको छ । धनुषाबाट आर्थिक वर्ष २०८०\०८१ मा १ हजार १ सय र सर्लाही जिल्लाबाट ६ सय ९ वटा उजुरी परेको बर्दिबासको कार्यालयले जनाएको छ ।

प्रदेशका ८ जिल्लाबाट गत आर्थिक वर्षमा ६ हजार ३ सय २४ उजुरी दर्ता भएको छ । नयाँ दर्ता भएका उजुरी र पुरानो गरेर ८ हजार ५ सय २९ रहेकोमा ६ हजार ४ सय ७२ वटा फर्छ्यौट भएको पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले जानकारी दिएको छ । उजुरी मध्ये सबैभन्दा बढी फर्छ्यौट यसै कार्यालयबाट भएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी मध्ये छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेका मध्ये ६५ प्रतिशतमा अख्तियारको दाबी पुगेर अनियमितता ठहर भएको अख्तियारको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

अख्तियारको बर्दिबास कार्यालयका प्रमुख सह–सचिव राम बहादुर कुरुवाङ्गले प्रदेश प्रमुख भण्डारीलाई आज आयोगको आर्थिक वर्ष २०८०–०८१ का लागि तयार पारिएको ३४ औँ  प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख भण्डारीले मधेसबाट अनियमितता सम्बन्धी बढी उजुरी परेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आर्थिक अनुशासन तथा पारदर्शिता स्थापनाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved