अनिश्चितताको समयमा मान्छे ऐतिहासिक समानताको क्षणसम्म पुग्दछन् । ‘सेप्टेम्बर ११’ पश्चात् जर्ज डब्लु बुस प्रशासनका अधिकारीले आक्रमण निम्त्याउन गुप्तचर संस्थाको असफलता ‘पर्ल हार्बर’ लाई मानक बनाएर तुलना गरेका थिए ।
विदेशमन्त्री कोलिन पावेलले तालिबानलाई चेतावनी दिन जापानी साम्राज्यले अमेरिकामाथि गरेको आक्रमणको प्रतिउत्तरलाई स्मरण गर्दै भनेका थिए— शिष्ट देशहरूले अचानक आक्रमण गर्दैनन् ।
अफगानिस्तान र पछि इराकको स्थितिलाई तुलना गर्न राष्ट्रपति लिन्डन जोहन्सनको विनाशकारी भियतनाम युद्धलाई सम्झिने गरिन्थ्यो । इतिहास आफैँ दोहोरिएन भने पनि यदाकदा यो अन्त्यानुप्रास बन्दछ ।
आज सबैले तुलना गर्ने समानता भने शीतयुद्ध हो । अमेरिकाले फेरि एकपटक विश्वव्यापी पहुँच र अतृप्त महत्वाकाङ्क्षा भएको प्रतिस्पर्धीको सामना गर्नुपरेको छ । हिजोको सोभियत सङ्घको स्थान अब चीनले लिएको छ ।
यो एक विशेष आकर्षक तुलना हो । नि:सन्देह, अमेरिका र यसका सहयोगीले शीतयुद्ध जितेका थिए । तर, अहिलेको अवस्था शीतयुद्ध जस्तो मात्र हैन, यो झनै खतरनाक छ । चीन सोभियत सङ्घ हैन ।
सोभियत सङ्घ स्व-अलगावमा थियो । अक्षुण्णताका लागि स्वनिर्भरतालाई प्राथमिकता दिएको थियो । चीनले भने सन् १९७० को दशकको अन्त्यतिरबाटै एक्लोपनको अन्त्य गरिसकेको छ ।
सोभियत सङ्घ र चीनबीचको दोस्रो भिन्नता विचारधाराको भूमिका हो । पूर्वी युरोप र साझेदारलाई शासन गर्ने ब्रेझनेभ सिद्धान्त ‘सोभियत शैली साम्यवाद’ को कार्बनकपी थियो ।
यसको विपरीत चीन अन्य राज्यहरूको आन्तरिक संरचनाबारे धेरै हदसम्म अज्ञेयवादी छ । यसले चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्चता र श्रेष्ठताको कठोर प्रतिरक्षा गर्दछ तर, अरुलाई त्यस्तै बन्न दबाब दिँदैन । यहाँसम्म कि चीन आफ्ना सामाजिक सञ्जाल र निगरानी प्रविधि निर्यात गर्न पाए अधिनायकवादी शासन सत्तासँग पनि खुसी नै हुन्छ ।
त्यसोभए वर्तमान प्रतिस्पर्धा दोस्रो शीतयुद्ध हैन भने के हो त ? कुनै आवेगमा नआइकन तुलनीय ऐतिहासिक सन्दर्भ खोज्ने हो भने उन्नाइसौं शताब्दीको उत्तरार्धतिरको साम्राज्यवाद र अन्तर्युद्ध अवधिको शून्ययोग अर्थतन्त्रहरूतिर पुग्न सकिन्छ ।
अहिले पनि विस्तारवादी शक्तिहरूले बल प्रयोगबाट भूभाग कब्जा गर्दैछन् । विश्व व्यवस्था भत्किरहेको छ । तर, सबैभन्दा उल्लेखनीय र चिन्ताजनक तुलना भने यो हो कि आज फेरि अमेरिका अन्तमुर्खी-अलगाववादी मोडमा छ ।
भूराजनीतिक प्रतिशोध
अघिल्लो युगका प्रतिस्पर्धा ठूला शक्तिहरूको द्वन्द्वद्वारा चरित्र निर्धारित थिए । शीतयुद्धकालीन भूभागीय द्वन्द्व अंगोला र निकारागुवमा जस्तै ‘प्रोक्सी’ को रूपमा लडिएका थिए ।
हंगेरी र चेकोस्लोभाकियाको विद्रोह कुल्चिदा मस्कोले सैन्य शक्तिलाई पूर्वी युरोपको आफ्नो प्रभाव क्षेत्रमा सीमित गरेको थियो । सन् १९७९ मा अफगानिस्तानमा आक्रमण गरेर सोभियत सङ्घले एक नयाँ रेखा पार गर्यो तर, पनि यसले अमेरिकी हितलाई मौलिक चुनौती दिएन । यो द्वन्द्व पनि अन्ततः ‘प्रोक्सी वार’ मै सीमित भयो ।
जहाँ सोभियत र अमेरिकी सेनाले एकअर्काको प्रत्यक्ष सामना गरे, त्यो जर्मनीको विभाजन थियो । दुई बर्लिन सङ्कटको चरम जोखिमले आणविक रोकथाम र एक प्रकारले द्वन्द्व स्थिरताको अवसर दियो ।
आजको सुरक्षा परिदृश्यले ठूला शक्तिको प्रत्यक्ष सैन्य द्वन्द्वको जोखिम देखाउँछ । चीनको भूभागीय दाबीले अमेरिकाका साझेदार जापानदेखि फिलिपिन्ससम्म, भारत र भियतनामसम्म चुनौती दिन्छ । सामुद्रिक मार्गको स्वतन्त्रताजस्ता लामो समयदेखिका अमेरिकी चासोहरू सिधै चिनियाँ महत्वकाङ्क्षासँग टकराउँछन् ।
त्यसपछि ताइवान छ । ताइवानमा वर्षौंदेखि अमेरिकाले यथास्थितिको लक्ष्य जोगाउने ‘धार-नियन्त्रक’ को काम गरेको छ । हालैका वर्षमा ताइवान आसपासमा बेइजिङका सैन्य गतिविधिले त्यो सन्तुलनलाई चुनौती दिएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ ताइवानलाई हङकङलाई जस्तै चीनको शासनभित्र ल्याउन र माओ च तोङको हाराहारी आफ्नो स्थान बनाउन चाहन्छन् । डरलाग्दो कुरा, अमेरिका र चीनसँग अझै अमेरिका र रुसको ‘ओभरल्याप’ क्षेत्रमा ‘डिकन्फ्लिकेसन’ मानक छैनन् ।
उदाहरणका लागि सन् २००१ मा जब एक चिनियाँ स्टन्टबाज विमान चालकले अमेरिकी गुप्तचर विमानलाई अवतरण गर्न गर्न बाध्य गर्यो, यात्रुलाई हेनान टापुमा बन्धक बनाइएको थियो । तीन दिनसम्म वासिङटनले कुनै उच्च चिनियाँ अधिकारीसँग सम्पर्क बनाउन सकेन ।
त्योबेला म राष्ट्रिय सुरक्षा सल्लाहकार थिएँ । मैले आफ्ना चिनियाँ समकक्षीसँग फोनमा कुरा गरेँ । उनी अर्जेन्टिना भ्रमणमा थिए । त्यसपछि हामी सङ्कट कम गर्न र चालक दललाई मुक्त गर्न सफल भयौँ । चीनसँग सैन्य-सैन्य सम्बन्ध ४ वर्षपछि पुन सुरु हुनु स्वागतयोग्य थियो । तर, यी देश आकस्मिक प्रकोपमाथि नियन्त्रण राख्न आवश्यक सञ्चार र सम्पर्कबाट अझै धेरै टाढा छन् ।
परम्परागत चिनियाँ सैन्य शक्तिको आधुनिकीकरण प्रभावकारी र तीव्र गतिमा भइरहेको छ । चीनसँग अहिले विश्वकै सबैभन्दा ठूलो नौसेना छ । उसँग ३७० भन्दा बढी जहाज र पनडुब्बी छन् । चीनले आणविक हतियार वृद्धि गरिरहेको छ ।
शीतयुद्धकालमा अमेरिका र सोभियत सङ्घ एक सन्तुलनमा बसेका दुई आणविक खेलाडी थिए । तिनमा परमाणु हतियारको प्रयोगबारे धेरथोर साझा समझदारी थियो । तर, चीनको आणविक आधुनिकीकरणले एक बहुपक्षीय जटिलताको परिदृश्य सामना गर्नुपर्ने छ ।
अब हतियार दौडमा क्रान्तिकारी प्रविधि अगाडि आएका छन् । कृत्रिम बौद्धिकता, क्वान्टम गणना, सेन्थेटिक जीवविज्ञान, रोवोटिक्स र अन्तरिक्ष प्रगतिहरू छन् । राष्ट्रपति सीले सन् २०१७ मा एक भाषण गर्दै भनेका थिए कि यी सबै युद्धमोर्चा प्रविधिमा सन् २०३५ सम्म चीनले अमेरिकालाई उछिन्ने छ ।
शीतयुद्ध अवस्थाको भन्दा बिल्कुलै फरक अर्को कुरा चीन-अमेरिका आर्थिक सम्बन्ध हो । चिनियाँ अर्थतन्त्र न्यून श्रम लागतमा आधारित छ । सन् २००१ मा चीन विश्व व्यापार सङ्गठनमा प्रवेश गर्यो । तसर्थ, चीन विश्वसँगै अमेरिकी आपूर्ति शृङ्खलासँग जोडियो ।
अमेरिका-चीन आर्थिक अन्तर्निभरता अहिले अघिल्लो दशकमा भन्दा ५ गुणाले बढेको छ । विश्वका दुई ठूला अर्थतन्त्र बीचको व्यापार र लगानी सम्बन्ध सजिलै तोड्न सकिने प्रकारको छैन ।
भूराजनीतिक प्रतिशोधले मात्र यी देश अगाडि बढ्न सक्दैनन् । अमेरिका-चीन दुवैले कार्यमुखी सम्बन्धको खोजी गर्नुपर्ने हुन्छ ।
रुसी साम्राज्यको पुनर्जन्म
सन् २०१२ को निर्वाचनको अन्तिम बहसमा राष्ट्रपति बाराक ओबामाले आफ्ना प्रतिस्पर्धी मिट रोमनीसँग भनेका थिए कि उनले रुसलाई बढी महत्त्व दिइरहेका छन् । अब रुसबाट त्यति ठूलो भूराजनीतिक दबाब छैन । तर, सन् २०१४ मा क्रिमिया गाभेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन फरक प्रकारले अघि आए ।
उनको अर्को कदम सन् २०२२ को युक्रेन हस्तक्षेप बन्न पुग्यो । उनको महत्वाकाङ्क्षा रुसी साम्राज्यको पुनर्स्थापना हो भन्ने प्रष्ट भएको छ । रुस अब नेटोसँग टकराउने उद्देश्य राख्ने, व्यापक सैन्यकरण भएको तर, विश्वबाट अलगावमा परेको राज्य बन्न पुगेको छ ।
मास्कोले पक्कै यो सोचेको थिएन कि स्थिति यस्तो हुन्छ । सुरुमा पुटिनले हस्तक्षेपको केही दिनमै युक्रेनको पतन हुने ठानेका थिए । रुसी सैनिकले तीन दिनभित्रै किभमा परेड गर्ने तयारी गरेका थिए । तर, अहिलेसम्म पनि रुसी सेनाले कुनै परिणाम निकाल्न सकेको छैन ।
पुटिन युद्धले कम्तीमा १० लाख रुसीलाई देश छोडेर भाग्ने बनायो । तेल र ग्यासको बजार गुम्यो । यसको आर्थिक मूल्य रुसले वर्षौं भुक्तान गर्नु पर्नेछ । तर, पुटिन जुन कुनै मूल्यमा यो युद्ध हार्न चाहँदैनन् । यसका लागि उनी जत्रोसुकै ठूलो बलिदान गर्न तयार छन् ।
युद्धकालीन जर्मनीको अनुभवले भन्छ कि अलगावमा परेका व्यापक सैन्यकरण भएका यस्ता पतनशील शक्तिहरू असाध्यै खतरनाक हुन्छन् ।
चीन, इरान र उत्तरकोरियासँग रुसको बढ्दो सहकार्य अर्को जटिलता हो । यी चारवटै देशले अमेरिकी नेतृत्वको विश्व प्रणालीलाई नजरअन्दाज गर्दैछन् । तर, क्रेमलिन बेइजिङका लागि त्यति सजिलो भने हुँदैन । रुस-भारत सम्बन्धले चीनको आकाङ्क्षामा अप्ठ्यारो पैदा गर्दछ । रुस उत्तर कोरियासँग नजिक हुँदा उत्तर कोरिया-चीन सम्बन्धमा जटिलता उत्पन्न हुन सक्दछन् ।
इरानको आणविक हतियारले रुस र चीन दुवैमा डर सृजना गर्दछ । हुथी विद्रोहीहरूको लालसागर कब्जा, हमास-इजरायल युद्ध, लेबननमा हिज्जबुल्लाहले लिएको क्षेत्रीय युद्धको चाहना र सिरियाली मिलिसियाका कदमले मध्यपूर्वलाई अस्थिर बनाउँछ ।
अस्थिर मध्यपूर्व रुस र चीन दुवैका लागि हितकर हुँदैन । रुस, चीन, इरान तीनवटै शक्तिलाई उत्तर कोरियाका नेता किम जोङ उनमाथि भरोसा गर्न सजिलो छैन । बेइजिङ युक्रेनसँगको युद्धमा पुटिन नहारुन भन्ने चाहन्छ होला तर, बहुपक्षीय जटिलताले निम्याउने सामूहिक क्षति चीनलाई स्वीकार्य हुन सक्दैन ।
चर्किँदो विश्व व्यवस्था
पहिलो र दोस्रो विश्व युद्धका भयावहता र आर्थिक क्षति अमेरिका र यसका साझेदार देशले पनि भोगेकै हुन् । दोस्रो विश्व युद्धपछि यिनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्था बनाए । ट्यारिफ र ट्रेड सम्झौता विश्व व्यापार सङ्गठनको पूर्वरूप थियो । आर्थिक सहकार्य र वृद्धिका लागि यी सफल रणनीति थिए । सन् २०२२ मा विश्वको कुल गार्हस्थ उत्पादन १०० ट्रिलियन डलर पुगेको छ ।
आजको अन्तर्राष्ट्रिय प्रणाली बीसौं शताब्दीको प्रारम्भतिर जस्तोचाहिँ भएको छैन । भूमण्डलीकरणको मृत्युको बयानबाजी अतिरञ्जनापूर्ण लाग्दछ । तर, यसभित्रै थुप्रै कमजोरी देखिएका छन् । चीनको उदय र आर्थिक गर्जनसँगै अमेरिकी स्वतन्त्र व्यापार नीतिको पैरवी शिथिल भएको छ ।
के अमेरिकाको अनुपस्थितिमा वस्तु तथा सेवाको स्वतन्त्र विश्व प्रवाह र अझ स्वतन्त्र गतिविधिहरू प्रत्याभूत हुन सक्दछन् ? यो गम्भीर प्रश्न बनेको छ ।
भूमण्डलीकरण कुनै न कुनै रुपमा जारी छ तर, यो एक सकारात्मक शक्ति हो भन्ने भावना हराउँदै गएको छ । सेप्टेम्बर ११ पछि देशहरू आतङ्कवादविरुद्ध एक भएका थिए । यस काममा चीन पनि अमेरिकासँगै थियो ।
आज अमेरिका र यसका साझेदार एकातिर, रुस-चीन अर्कोतिर भएर यो स्थिति उल्टाइन्छ भन्ने कल्पना गर्न सबैलाई गाह्रो हुन्छ । विश्वलाई फेरि उन्नाइसौं वा बीसौं शताब्दीको प्रारम्भतिर जस्तो अलगावतिर फर्काउन उचित हुँदैन ।
अर्को गोधुली सङ्घर्ष
सन् १९४६ मा अमेरिकी कूटनीतिज्ञ जर्ज केननले वासिङटनलाई सोभियत सङ्घले आफ्ना आन्तरिक अन्तर्विरोध सामना गरुन्जेल बाह्य विस्तारलाई अवज्ञा गर्न सुझाव दिएका थिए । चार दशकपछि भित्रभित्रै सडेको सोभियत प्रणाली सुधार गर्ने मिखायल गोर्वाचेभको प्रयासले उल्टै त्यसलाई ध्वस्त पार्यो ।
आज रुसका आन्तरिक विरोधाभास स्पष्ट छन् । पुटिनले रुसी अर्थतन्त्रको विश्व अर्थतन्त्रसँग एकीकरणको ३० वर्षभन्दा बढी समय अवसरवादी राज्यहरूसँगको सहकार्यमा बेकाम बनाएका छन् । रुसी महानताको यो बर्को कहिलेसम्म बाँच्छ, कसैलाई थाहा छैन । नि:सन्देश ध्वस्त हुनुअघि यसले धेरै हानि गर्नेछ । त्यसो नहुन्जेलसम्म रुसी सैन्य आक्रामकताको प्रतिरोध गर्न जरुरी हुन्छ ।
पुटिनले रुसी युवालाई हिटलरका युवाजस्तै ‘आमा रसिया’ का लागि बलिदान हुन दीक्षित गरेका छन् । तथापि रुसको मानवीय क्षमता धेरै ठूलो छ । रुसीहरूलाई सकेसम्म विदेशमा काम र अध्ययन गर्न अनुमति दिइनु पर्दछ । रुसी विपक्षलाई पनि छोड्न हुँदैन । फेब्रूअरीमा जेलमा मारिएका एलेक्सेइ नाभाल्नीले धेरै त्यस्ता संस्था बनाएका छन् । उनको मृत्युले मात्र तिनको अन्त्य हुन सक्दैन ।
पोल्यान्ड सोलिडारिटीको मामिला, ट्रेड युनियनले कसरी अधिनायकवाद विरोधी आन्दोलनलाई पोषण गर्यो भन्ने राम्रो उदाहरण थियो । सन् १९८१ मा ‘मार्शल ल’ लगाइदा यसका नेता लेक वालेसा भूमिगत भए । तर, सन् १९८९ मा एउटा यस्तो क्षण आयो, उनले लोकतान्त्रिक सङ्क्रमणको सहज नेतृत्व गर्न सके ।
चीनको भविष्य रुसको जस्तो अन्धकारमय छैन तर, चीनका पनि आन्तरिक अन्तर्विरोध त छन् । ठूलो युद्धको अवस्थामा बाहेक बिरलै हुने जनसाङ्ख्यिक घट्दो क्रममा छ । सन् १९७९ देखि कठोरतापूर्वक दशकौं लागू गरिएको एक सन्तान नीतिले सन् २०१६ यता जन्मदर आधा घटेको छ । अहिले लाखौं चिनियाँ पुरुषसँग महिला साथी नै छैनन् । तिनले प्रजनन अधिकार गुमाएका छन् । यस्तो गल्ती कुनै अधिनायकवादी शासनले मात्र गर्न सक्दछ ।
चीनको अर्को ठूलो आन्तरिक अन्तर्विरोध पुँजीवाद र अधिनायकवादी साम्यवादको असहज सहअस्तित्व हो । राष्ट्रपति सी एक सच्चा मार्क्सवादी बन्दैछन् । कम्युनिष्ट पार्टीको चिन्ता र वैकल्पिक शक्ति स्रोतको भयको कारण निजी क्षेत्रद्वारा नेतृत्व गरिएको अर्थतन्त्र सुस्त भएको छ । एकपटक राम्ररी फस्टाउन थालेको उद्यमशीलताको संस्कृति फेरि लोप हुँदैछ ।
विदेशीप्रतिका आक्रामक व्यवहारले चीनमा थप अन्तर्विरोध उजागर गर्दछ । एकातिर चीनलाई थाहा छ कि वैदेशिक लगानी चाहिन्छ । सी विश्वभरिका कर्पोरेट लगानीकर्तालाई बोलाइरहेका हुन्छन् । तर, चीनमा पश्चिमा संस्थामाथि कडा निगरानी र कठोर व्यवहार गरिन्छ । कार्यालयमा छापा मारिन्छ । कर्मचारीलाई हिरासतमा लिइन्छ । बेइजिङ र विदेशी लगानीकर्ताका बीच विश्वासको नोक्सानी भइरहेको छ ।
चीनको अर्को समस्या युवा जनशक्तिको विश्वास कमजोर हुनु हो । अहिले २० प्रतिशत युवा बेरोजगार छन् । ती आफ्नो भविष्यलाई लिएर आशावादी छैनन् । धेरै चिनियाँ युवा अमेरिका अध्ययन गर्न आउन चाहन्छन् । अमेरिकाले तिनलाई रोक्न हुन्न ।
अमेरिका कुन बाटोमा ?
दोस्रो विश्वयुद्ध पूर्वको अवस्थालाई महाशक्ति सङ्घर्ष र कमजोर अन्तर्राष्ट्रिय व्यवस्थाका रूपमा मात्र हैन, प्रियतावाद र अलगाववादको बढ्दो लहरका रूपमा पनि परिभाषित गरिएको थियो । अहिलेको युग पनि ठीक त्यस्तै छ ।
आजको अन्तर्राष्ट्रिय प्रणालीको मुख्य प्रश्न यो हो कि अमेरिका कहाँनेर उभिने हो ? अमेरिकी अडान के हो ?
बीसौं शताब्दीको पहिलो आधा र दोस्रो आधा अवधिबीचको मुख्य भिन्नता वासिङटनको दीगो र उद्देश्यपूर्ण विश्वव्यापी संलग्नता हो । दोस्रो विश्वयुद्धपछि अमेरिका जन्मदर विस्तार, मध्यम वर्गको वृद्धि र भविष्यबारे बेलगाम आशावादको आत्मविश्वासी देश थियो ।
साम्यवादविरुद्धको सङ्घर्षले द्विविभाजन आयो । कहिलेकाहीँ नीतिगत असहमतिहरू पनि आए । तथापि धेरैजसो अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको यो भनाइसँग सहमत छन् कि अमेरिका ‘स्वतन्त्रताका लागि जुनसुकै मूल्य चुक्ता गर्न सक्ने, जस्तोसुकै भार बोक्न सक्ने देश’ हो ।
तर, अमेरिका अहिले आफैँ फरक देश भएको छ । करिब ८ दशक लामो अन्तर्राष्ट्रिय नेतृत्वको भारले आफैँ थकित छ । यसबीच अमेरिकी नेतृत्वका कतिपय काम सफल र प्रशंशित छन्, कतिपय असफल र खारेज गर्नयोग्य ।
अमेरिकी जनता पनि अहिले फरक भएका छन् । उनीहरूमा आफ्नै संस्थाप्रतिको विश्वास कमजोर भएको छ । अमेरिकी सपनाको व्यावहारिकता शङ्काको घेरामा छ । इतिहासको जटिलताले अमेरिकीका साझा मूल्यमान्यता खण्डित भएका छन् ।
अमेरिकी कुलिन सांस्कृतिक संस्थाहरू दोषी आरोपित छन् । यिनका सद्गुणहरूको प्रशंसाको साटो उपहास हुँदैछ । आफ्नै संस्थाहरूमाथिको अविश्वासलाई सम्बोधन र सन्तुलन गर्न स्वयम् प्रयास गर्नुपर्ने अवस्थामा अमेरिका छ ।
तथापि अमेरिकाको अनुवंशमा अझै महाशक्तिको ‘डीएनए’ छ । अमेरिकीको दिमागमा एक साथ दुई विरोधाभासी विचार हुन्छन् । मस्तिष्कको एउटा पाटोले भन्छ, “अमेरिकाले विश्वका लागि धेरै गरिसक्यो अब अरु कसैले गरोस् ।” दिमागको अर्को पक्षले भन्छ, “हैन, हामीले गर्नैपर्छ ।”
अमेरिकी राष्ट्रपतिले यी दुवै पक्षलाई अपील गर्न सक्दछन् । आजको बर्बादीका चार घोडाहरू हुन्— लोकप्रियतावाद, राष्ट्रवाद, अलगाववाद र संरक्षणवाद । यी चार प्रवृत्ति सँगसँगै सवार हुँदैछन् र राजनीतिक केन्द्रलाई चुनौती दिइरहेका छन् । यसको प्रतिरोध केवल अमेरिकाले गर्न सक्दछ ।
यदि अमेरिका सक्रिय नहुने हो भने त्यसपछिको विश्व कस्तो होला भनेर एक जीवन्त चित्र खिच्न जरुरी छ । त्यस्तो संसारमा बलिया पुटिन र सीले युक्रेनलाई पराजित गरेर विजयतिर अघि बढ्न सक्नेछन् । इरानले मध्यपूर्वबाट अमेरिका फिर्ता भएको उत्सव मनाउने छ र बाह्य विजयद्वारा आफ्नो अवैध शासनलाई दीगो बनाउने छ ।
हमास र हिज्जबुल्लाहले अझ बढी युद्ध सुरु गर्नेछन् । खाडी र अरब राष्ट्रहरूले इजरायलसँगको सम्बन्ध सामान्य पार्ने आशा तुहिनेछ । अमेरिकी अर्थतन्त्रलाई आकारित गर्दै अन्तर्राष्ट्रिय अर्थतन्त्र सङ्कुचित हुनेछ ।
अन्तर्राष्ट्रिय पानीमा प्रतिस्पर्धा बढ्नेछ । सामुद्रिक डकैती र अन्य घटनाले सामानको आवागमन प्रभावित हुनेछ । अलगाव कहिल्यै पनि देशको समृद्धि र सुरक्षाको प्रत्यूत्तर हुँदैन । सन् १९१७, १९४१ र २००१ मा अनिच्छुक अमेरिका कसरी द्वन्द्वमा फसेको थियो भनेर राष्ट्रपतिले अमेरिकी जनतालाई सम्झाउन सक्नु पर्दछ ।
अन्त्यमा, अमेरिकाका सबलता अहिले पनि त्यति कमजोर भएका छैनन्, जति भनिँदैछ । इतिहासका कुनै पनि महाशक्तिको भन्दा अमेरिकासँग धेरै साथी र सहयोगी छन् । राम्रो जीवनस्तरको खोजी गर्ने संसारभरिका मान्छेका लागि आज पनि अमेरिका नै ‘सपनाको देश’ हो ।
यदि अमेरिकाले आफ्नो अध्यागमन भ्रमलाई राम्ररी चिर्ने हो भने संसारका धेरै विकासशील देशले जनसाङ्ख्यिक विपत्ति सामना गर्नुपर्ने छैन । अमेरिकाले विगत ८० वर्षमा जस्तै विश्व संलग्नता बनाउनुपर्ने छैन । वासिङटनले संलग्नतालाई सावधानी र छनोटपूर्ण बनाउने सम्भावना रहन्छ ।
(लेखक राइस अमेरिकी पूर्वविदेशमन्त्री हुन् । यो आलेख फोरेन अफेयर्सबाट भावानुवाद गरिएको हो )
Facebook Comment
Comment