के तपाईंले ‘नार्सिसस’को कथा सुन्नुभएको छ ? पक्कै सुन्नुभएको होला । तैपनि, संक्षिप्तमा स्मरण गराउँछु ।
ग्रीक मिथोलोजी यो हो । नार्सिसस एक बहुत सुन्दर केटो थियो । महिला हुन् वा पुरुष, जसले एकपटक अनुहार हेर्ने अवसर पाउँथे, ती उसको सुन्दरताप्रति मोहित भइहाल्थे । पुरुषको तुलनामा महिला बढी मोहित हुनु स्वाभाविक थियो ।
ज्योतिषको भविष्यवाणी थियो कि नार्सिससले आफ्नो अनुहार आफैँ भने नहेरोस्, कुनै अनिष्ट हुन सक्दछ । शायद त्यो समय ऐनाको आविष्कार भएको थिएन । मान्छेले शान्त तलाउमा आफ्नो अनुहारको प्रतिविम्ब हेर्थे ।
नार्सिसस नदीका देवता सेफिसस र अप्सरा लिरिओपेको छोरा थियो । ‘देवता’ र ‘अप्सरा’ को छोरा, पक्कै राम्रो थियो होला । सानैदेखि उसलाई मान्छेले भनिदिएका थिए कि तिमी संसारको सबैभन्दा सुन्दर मान्छे हौ तर, तिमीले आफ्नो अनुहार भने नहेर्नू । सुन्दर मान्छेले आफ्नो अनुहार आफैँ हेर्नु हुँदैन ।
ऊ जति सुन्दर थियो, उत्तिकै अहङ्कारी पनि थियो । ऊ कसैलाई मान्छे गन्दैनथ्यो । उसलाई लाग्थ्यो कि संसारका सबै मानिस उसप्रति मोहित हुनका लागि बनेका हुन्, ऊ आफू भने कसैप्रति आकर्षित हुन बनेको हैन ।
नार्सिसस साथीहरूसँग शिकारका लागि जाने गर्थ्यो । जङ्गलमा एक दिन इकोसँग उसको भेट भयो । ‘इको’ एक अभिशप्त युवती थिइन् । उनी बोल्न सक्दिन थिइन् । तर, अरुले बोलेको कुराको अन्तिम केही शब्द दोहोर्याउन सक्थिन् । ‘इको’ उत्तिकै सुन्दर थिइन् ।
नार्सिससलाई देख्नासाथ इको मोहित भइन् । उनी नार्सिससको पछिपछि लागिन् । तर, उसँग बोली थिएन । आफ्नो मनको कुरा नार्सिससलाई भन्न सक्दिन थिइन् । नार्सिससले इकोले आफूलाई पछ्याएको मन पराएन । नार्सिससले त्यसको कारण सोध्यो । तर, बोल्न सक्दिन थिइन्, कसरी जवाफ दिने, कसरी प्रेम दर्शाउने । नार्सिससले इकोको प्रेमलाई कुनै मूल्य दिएन ।
अपमानबोधले ग्रस्त इको पहाडी गुफामा गएर लोप भइन् । उनका हड्डी चट्टान भए । शरीर गायब भयो । तर, अरुले बोलेका कुराका अन्तिम शब्द दोहोर्याउने आवाज भने जीवितै रह्यो । तसर्थ, आज पनि ‘इको’ छे, संसारभरि । इको अजम्बरी छे !
इकोको अवसानबाट उनका सहेली दुखी भए । तिनीहरूले ‘प्रतिशोध र सन्तुलन’ की देवी ‘नेमेसिस’ को आराधना गरे । त्यो घमण्डी केटोसँग बदला लिन आग्रह गरे, जसले उनीहरूको साथीको जीवन लियो । देवीले उनीहरूको बिन्ती स्वीकार गरिन् ।
नार्सिसस जङ्गलमा शिकार खेल्न गएको बेला नेमेसिसले उसको शरीरमा चर्को तिर्खा भरिदिइन् । ऊ पानी खोज्दै एक शान्त तलाउमा पुग्यो । जब पानी पिउनका लागि निहुरियो, उसले आफ्नै अनुहारको प्रतिविम्ब देख्यो ।
यति सुन्दर अनुहार उसले अहिलेसम्म देखेकै थिएन । उसलाई यो थाहा नै भएन कि त्यो ऊ आफैँ हो, उसको अनुहारको प्रतिविम्ब हो । नार्सिससलाई लाग्यो, यो उसको अनुहारको प्रतिविम्ब हैन, अरु नै कोही हो, जसलाई ऊ प्रेम गर्न चाहन्छ, प्रेम गर्छ, वर्षौँदेखि ऊ यसैको खोजीमा थियो ।
आफ्नै अनुहारबाट उसले आँखा हटाउन सकेन । कैयन् दिन ऊ यसरी नै शान्त तलाउमा निहुरिरह्यो । भोकायो, रोगायो, शिथिल हुँदै गयो र अन्ततः त्यही तलाउमा डुबेर मर्याे । डुब्नुअघि उसको मुखबाट निस्कियो— अलबिदा । इकोले ‘इको’ गरिदिइन्— अलबिदा । इकोको शरीर थिएन तर, आवाजमा उनी जीवितै थिइन् । अझै जीवितै छन्, ग्रिसेली जङ्गल र पहाडका गुफामा मात्र हैन, संसारभर ।
यो कथाबाट आधुनिक मनोविज्ञानका पिता सिग्मन्ड फ्राइडले एक अवधारणा बनाए— नार्सिसिज्म अर्थात् आत्ममुग्धता । र, यो आधुनिक मनोविज्ञानको एक बहुचर्चित अवधारणा बन्न पुग्यो ।
‘नार्सिसिज्म’ अर्थात् ‘आत्ममुग्धता’ मानवीय मनस्थितिको एक अवस्था अर्थात् ‘स्टेट अफ माइन्ड’ हो । यस्तो अवस्थामा भएको मानिसलाई ‘नार्सिसिस्ट’ अर्थात् ‘आत्ममोहित’ भनिन्छ । जब यो एक मनोवैज्ञानिक समस्याको तहमा पुग्छ, त्यसलाई ‘आत्ममोहित व्यक्तित्व विकार’ अर्थात् ‘नार्सिसिस्ट पर्सनालिटी डिसअर्डर’ (NPD) भनिन्छ ।
यो एक प्रवृत्ति हो, हरेक युगका मान्छेमा हुन्छ । धेरै-थोरै मात्राको भिन्नता मात्र हो । प्राचीन ग्रीक मिथोलजी कम्तीमा ४ हजार वर्ष पुराना हुन् । नार्सिसस त्यही बेला जन्मिसकेको थियो भने आज संसारभर कति धेरै ‘नार्सिसिस्ट’ हरू होलान् ?
आत्ममुग्धताबाट कुनै पनि व्यक्ति पूर्णतः मुक्त हुँदैन । तर, त्यसको मात्रा वा सीमा हुन्छ । उचित मात्रा र सीमाभित्र छ भने त्यो सकारात्मक हुन्छ । अन्यथा एक मनोविकार बन्न पुग्दछ ।
कुनै व्यक्तिको आत्ममुग्धता ‘एनपीडी’ को स्तरमा पुगेको छ भने त्यो स्वयम् व्यक्ति, उसको परिवार, आफन्त र साथीभाइका लागि मात्र समस्या हो । तर, जब आत्ममुग्धताग्रस्त मान्छे कुनै संस्था वा राष्ट्रको नेतृत्वमा हुन्छ, त्यो करोडौंका लागि समस्या बनिदिन्छ ।
‘एनपीडी’ कसरी चिन्ने ? कतै हामी स्वयम् यस मनोवैज्ञानिक विकारबाट पीडित त छैनौँ ? यो समस्यालाई चिन्न सकेनौँ भने यसबाट पीडित मानिसलाई चिन्न, उसबाट जोगिन, जोगाउन सकिँदैन । तसर्थ, नार्सिसिज्मलाई बुझ्न जरुरी छ । यसबाट ग्रस्त नेतृत्वलाई चिन्न, चिनाउन जरुरी छ । उसले गर्ने आम हानिबाट जोगिन, जोगाउन जरुरी छ । स्वयम् त्यस्ता मानिसलाई उचित मनोवैज्ञानिक परामर्श दिन र आत्ममुग्धताबाट बाहिर निकाल्न जरुरी छ ।
आउनुहोस्, प्रारम्भमा आत्ममुग्धताका गुण र प्रकार चिनौँ र बुझौँ ।
यो आलेखलाई मैले भारतीय विद्धान् डा. विकास दिव्यकीर्तिको प्रवचन शृङ्खलामा आधारित बनाएको छु । सिग्मन्ड फ्राइड वा अन्य मनोवैज्ञानिकको मौखिक कृति र स्रोतसम्म पुर्याउन पुगेको छैन । डा. दिव्यकीर्तिका अनुसार नार्सिसिज्मका मुख्यतः ८ गुण र ५ प्रकार हुन्छन् ।
ती ८ गुण हुन्-
१. स्व-महत्त्व
कुनै व्यक्तिले सधैँ वा अधिकांश आफूले आफैँलाई केन्द्रमा राखेर अतिरञ्जना गर्छ, ‘हामी’ भन्नुपर्ने ठाउँमा बारम्बार ‘म’ भन्छ, आफैँ आफ्नो योग्यता, गुण, सफलताको प्रदर्शन र प्रशंसा गर्दछ । बुझ्न पर्दछ कि त्यस्तो व्यक्ति वा नेतृत्व नार्सिसिस्ट हुन सक्दछ ।
यसको अर्थ हो कि आत्ममोहित व्यक्ति सामूहिकतामा हैन, व्यक्तिवादमा विश्वास गर्दछ । सबै चिजको जस आफैँ लिन चाहन्छ । समूहकार्य र सामूहिकतामा विश्वास गर्दैन । निजी हितमा समूहलाई प्रयोग गर्न चाहन्छ । सधैँ आफ्नै मात्रै डम्फु बजाइरहन्छ ।
२. गड कम्प्लेक्स
यदि कुनै व्यक्ति वा नेतृत्वलाई लाग्छ कि कतै ‘मै भगवान्’ त हैन, मनोविज्ञानशास्त्रमा यसलाई ‘गड कम्प्लेक्स’ भनिन्छ । यो मनोरोग भएको व्यक्तिले भन्छ, “म आएँ, मै भगवान् हो । अब म आइसकेँ, सबै समस्या समाधान हुन्छ, ढुक्क हुनुस् ।”
‘गड कम्प्लेक्स’ भएको मान्छेले म एक व्यक्ति हुँ, समाजको समस्या हुँ, राष्ट्रको नागरिक हुँ, मेरा क्षमताको सीमा छ, ज्ञानको सीमा छ भन्ने स्वीकार गर्दैन । उसलाई लाग्छ कि उसँग यति असीमित ज्ञान र क्षमता छ, ऊ जे पनि गर्न सक्दछ । ऊ भगवान्को अंश, अवतार वा सन्देशवाहक हो । दुखी मान्छेको उद्धार गर्न नै उसलाई भगवान्ले धर्तीमा पठाएका हुन् ।
३. सहअनुभूतिहीन
आत्ममोहित मानिसले आफ्नो वचन, कर्म र व्यवहारले अरुलाई कस्तो असर पर्दछ भन्ने कुनै सोचविचार गर्दैनन् । आफ्नो कारणले अरुलाई हानि भयो कि भन्नेतर्फ सोच्दैनन् । उनीहरू यति आत्मकेन्द्रित हुन्छन् कि आफ्नै कुरामा मात्र मतलब हुन्छ । अरुलाई परेको पीर, मर्का, पीडा, दु:खले छुँदैन ।
४. आफ्नो आलोचना र अरुका कुरा सुन्ने धीरता नहुनू
आत्ममोहित मानिस आफ्नो आलोचना र अरुको कुरा सुन्ने धीर्यता राख्दैनन् । सुन्नुपर्दा तुरुन्तै बेचैन, अधैर्य हुन्छन् र कठोर प्रतिक्रिया दिन्छन् । कसैले ठीकै पो भन्यो कि भनेर सोच्ने, आत्मनिरीक्षण वा पुनर्विचार गर्ने प्रवृत्ति हुँदैन । ‘म गलत अरु कोही ठीक हुनै सक्दैन’ भन्ने धारणाबाट ग्रस्त हुन्छन् ।
आफू सधैँ र सबै अवस्थामा ठीक, अरु गलत भन्ने प्रकारको तर्क सृजना गरिरहन्छन् मनमनै । उसको ‘प्रतिरक्षा संयन्त्र’ मा यस्ता कुतर्क सृजना हुन्छन्, जसको कुनै संगति हुँदैन । उसले कुनै नैतिक मापदण्ड, विश्वास वा मूल्यप्रणाली अवलम्बन गरेको हुँदैन । जतिखेर जस्तो कुरा गर्दा आफ्ना कुरामाथि पार्न सकिन्छ, त्यस्तै तर्क गर्दछ ।
५. व्यक्तित्व पूजा
आत्ममोहित मानिसलाई ‘पर्सनालिटी-कल्ट’ अर्थात् ‘व्यक्तित्व-पूजा’ खुबै मन पर्दछ । आफ्ना वरिपरि सहकर्मी हैन, अनुयायी मात्र हुन् भन्ने चाहन्छ । उसले एउटा यस्तो समूह केन्द्रित गर्न खोज्दछ, जसले उसलाई नि:शर्त समर्थन र सहयोग गरोस् । उसको जय जयकार गरोस् । भजन मण्डलीको भूमिका गरोस् । ऊ चाहन्छ कि जस्तो निर्णय गरे पनि समर्थन गरून् । अन्यथा छोडेर जाऊन् ।
जसले उसलाई समर्थन र सहयोग गर्दैनन्, ती उसलाई के काम ? संसार उसका लागि हो, ऊ संसारका लागि हैन । ऊ आफूलाई सहयोग गर्ने मान्छे चाहन्छ, आफूले सहयोग गर्नुपर्ने हैन । आफूले कसैलाई सहयोग गर्न परे वा गरे आफ्नो महानता र बढप्पन ठान्दछ । आफूले कसैलाई ठूलो गुण लगाएको उद्धार गरेको ठान्दछ ।
६. अरुको न्यूनीकरण
यस्तो मान्छेले आफ्नो बढाइँ मात्र गर्दैन, अरुलाई सधैँ ‘छुद्रिकरण’ गर्दछ । अरु सबैलाई आफूभन्दा होचो, सानो, तुच्छ र छुद्र देखाउने प्रयत्न गर्दछ । अरुसँग ‘तँ सानो होस्, म ठूलो हुँ, तँ मलाई मान्’ भन्ने आग्रह राख्दछ । सोहीअनुरूप अरुको मनोविज्ञानलाई आकारित गर्न खोज्दछ ।
अर्थात् ऊ आफू ‘मालिक’ हुन चाहन्छ र अरुलाई ‘दास मानसिकता’ तिर प्रवृत्त गराउन खोज्दछ । सकेसम्म दास बनाउँछ वा दासहरूको सङ्ख्या विस्तार गर्न खोज्दछ ।
७. परपीडन
आत्ममोहितहरू एक खास बिन्दुमा पुगेर थाहै नपाइकन परपीडक अर्थात् ‘स्याडिस्ट’ बन्छन् । परपीडन भनेको कारणवश र अधिकांशतः बिना कारण अरुलाई दु:ख दिएर वा अरु दुखी हुँदा आफू खुसी हुने प्रवृत्ति हो ।
अरुको हानि हुँदा आफूलाई कुनै फाइदा भएको हुँदैन तर, पनि अरुको हानि हुनुमै खुसीको भाव उत्पन्न हुन्छ भने त्यो परपीडन हो । परपीडक चरित्रले निहुँ खोजी-खोजी अरुलाई दु:ख दिन र सताउन चाहन्छ ।
८. आत्मघाती निर्णय
आत्ममोहित मान्छेले अरुलाई मात्र दु:ख दिँदैन, अन्ततः त्यस्ता काम गर्दछ, जो स्वयम् आफ्नै लागि घातक हुन्छ । नेतृत्व र शक्तिमा हुँदा त्यस्ता निर्णय गर्दछ, जसले अन्ततः उसलाई कमजोर बनाउँछ र पतनतिर लैजान्छ ।
तर, उसलाई ‘गलत गर्दैछु’ भन्ने बोध नै हुँदैन । आत्ममोहित मान्छेलाई त्यस्ता काम र निर्णय सही लाग्छन्, जो स्वयम् उसको पतनको कारण बन्ने गर्दछ । यस्ता निर्णयबाट हुने हानिपछि पनि उसले गल्ती स्वीकार गर्दैन । अन्ततः पतनको एउटा यस्तो बिन्दुसम्म पुग्दछ कि गल्ती महसुस गरेर फर्किन बाटो वा विकल्प नै बाँकी हुँदैन ।
तपाईं-हामी नै वा अरु कसैमा अथवा नेतृत्वमा भएका सार्वजनिक व्यक्तित्वमा यी ८ गुण छन् वा यीमध्ये धेरै गुण छन् भन्ने मान्नुस् कि उसलाई ‘एनपीडी’ भइसक्यो । यस्तो नेतृत्व कमजोर हो । उसले कुनै पनि राष्ट्र र समाजको भलो गर्न सक्दैन ।
अब प्रकारको कुरा गरौँ, आत्ममुग्धता मूलत: ५ प्रकारका हुन्छन्-
पहिलो— भौतिक आत्ममुग्धता स्वयम् आफ्नो शरीरप्रतिको मुग्धता । औसत महिलामा रूप र पुरुषमा बलिष्ठ शरीरको मुग्धता हुन्छ । ‘म राम्री छु, फलानीभन्दा कति हो कति राम्री, म बलियो छु, अरु सबैलाई गोद्न वा पछार्न सक्छु’ यस्तो सोच भौतिक आत्ममुग्धता हो ।
यथार्थमा कुनै पनि मानिसको शरीर त्यति राम्रो वा बलियो हुँदैन, जति आत्ममोहितले ठान्दछन् । आज छ भने भोलि नहुन सक्दछ । रोग लाग्न सक्दछ, बुढ्यौलीसँगै शारीरिक अशक्तता बढ्न सक्दछ । रूपवान् युवतीका गाला चाउरिन थाल्दछन् । शरीरको रूप वा बल स्थायी हैन । कुनै एक व्यक्तिसँग मात्रै हुने चिज पनि हैन ।
दोस्रो— स्वामित्व मुग्धता हो । आफूसँग भएको कुनै चिज वा वस्तुलाई अरुसँग भएको भन्दा राम्रो र उच्च ठान्ने मनोभावना । ‘मेरो घडी राम्रो, मेरो घर राम्रो, मेरो गाडी राम्रो, मेरो गाई राम्रो, मेरो खेत राम्रो, मेरो व्यापार राम्रो, मेरो कमिजको गुणस्तर नै अर्कै हो, यस्तो कमिज अरु कोसँग छ, मेरो जुत्ता त कता हो कता उच्च गुणस्तरको, मेरा छोरीछोरी अरुका भन्दा कति हो कति राम्रा’ जस्तो सोच स्वामित्व मुग्धता हो ।
खासमा यस्तो विशिष्ट चीज कोहीसँग केही हुँदैन । भए पनि त्यो क्षणिक तुलना मात्र हो । टोलमा तपाईंको ५ तले घर थियो । मेरो घर सबैभन्दा ठूलो भन्ने मुग्धता थियो । अर्को कोहीले ७ तले घर बनाइदियो, अब के गर्ने ? तपाईंंको घर त सानो भयो ? स्वामित्व मुग्ध मान्छे यसरी सोच्दैनन् । अरु कसैले टोलमा ७ तले घर बनायो भने तिनलाई निद्रा पर्दैन ।
तेस्रो— बौद्धिक आत्ममुग्धता । ‘म जान्नेछु, ज्ञानी छु, मेरो दिमाग नै विशिष्ठ र प्रतिभाशाली छ, अरुलाई त म काँचै खान सक्दछु, म पढाइमा फर्स्ट भएको, गोल्डमेडलिस्ट हुँ, मैले यति धेरै किताब पढेको छु, पढ्न बाँकी केही छैन, म ठूलो विद्वान् र शिद्धान्तकार हुँ, फलानो विचार र सिद्धान्तमा मेरो प्याटेन्ट छ’ जस्ता सोच बौद्धिक आत्ममुग्धता हुन् ।
राजनीतिमा यस्ता मान्छेले ‘मेरो सिद्धान्त, मेरो राजनीतिक लाइन, मैले गरेको सैद्धान्तिकरण’ जस्ता दाबी गर्दछन् । यथार्थमा यस्ता दाबी फोस्रा हुन् । ज्ञानको कुनै सीमा हुँदैन । कुनै ज्ञान नभएको कोही मान्छे हुँदैन । र, सार्वजनिक विमर्श कसैमा निजी स्वामित्व लाग्ने चिजवस्तु हैनन् । विचारमा कसैको कुनै ‘प्याटेन्ट’ वा ‘कपीराइट’ हुँदैन । त्यसलाई जसले अवलम्बन गर्छ, त्यो उसैको हो ।
ज्ञान सामूहिक अभ्यास र अनुभवको अन्तहीन प्रशोधन हो । कसैको निजी पराक्रम वा उत्पादन हैन । मानौँ कि कसैको सैद्धान्तिकरण हो नै भने पनि त्यो सबैका लागि हो, स्वयम् बनाउनेका लागि मात्र हैन, उसको निजी आत्मगौरवका लागि हैन ।
चौथो— आध्यात्मिक आत्ममुग्धता । ‘मेरो देउता ठूलो, मेरो धर्म ठूलो, मेरो तपस्या र साधना ठूलो, मेरो सम्प्रदाय महान्’ जस्तो दाबी कसैले गर्दछ भने त्यो आध्यात्मिक आत्ममुग्धता हो । यो पनि एक भ्रम नै हो ।
आध्यात्मले उच्चताबोध हैन, समभाव उत्पन्न गर्नु पर्दछ । अन्यथा त्यो आध्यात्म नै हैन । त्यो अर्को प्रकारको आत्ममुग्धता बन्न पुग्दछ ।
पाँचौँ—सर्वव्याप्तताको आत्ममुग्धता । अर्थात् ‘मलाई सबैले चिन्छन्, सबैले मान्छन्, मेरो लोकप्रियता व्यापक छ, प्रसिद्धि व्यापक छ, म भौतिक रूपमा जहाँ छैन, त्यहाँ पनि छु, मलाई नचिन्ने को छ ? म सबैतिर, सबै कालमा छु । मरेपछि पनि अमर रहने छु’ । यस्तो भावलाई सर्वव्यापकताको आत्ममुग्धता भनिन्छ । आत्ममोहित मानिसले आफूलाई ‘टाइम एन्ड स्पेश’ भित्रको एक अस्तित्व हैन, स्वयम् एक ‘देश-काल’, स्वयम् एक ‘ब्रह्माण्ड’ मान्दछ ।
आत्ममुग्ध मानिस सार्वजनिक, राजनीतिक तथा राजकीय नेतृत्वमा छन् भने तिनले निम्न कार्यशैली देखाउँछन् ।
१. सामूहिकताको अन्त्य, निजी प्रचारको मोह
यस्ता व्यक्तिले समूहकार्य र सामूहिकताको अन्त्य गर्दछन् र आफ्नो निजी प्रचार गर्न/गराउन थाल्दछन् । नायकत्व र प्रियतावाद आत्ममोहित मानिसको राजनीतिक प्रवृत्ति हो ।
२. संस्थागत प्रक्रियाको बेवास्ता र व्यक्तिकेन्द्रित कार्यशैली
आत्ममोहित व्यक्तिलाई संस्था र संस्थागत प्रक्रियामा विश्वास हुँदैन । तिनले संस्थाभित्रका प्रक्रिया र प्रणालीलाई कमजोर पार्दछन्, आफ्नो निजी नेतृत्व र कार्यशैलीलाई नै संस्थाको कार्यशैलीजस्तो भान हुनेगरी काम गर्न खोज्दछन् ।
३. परपीडनको तहमा पुगेको भए, अरुलाई दु:ख
सबै आत्ममोहितहरू परपीडनकै तहमा पुगेका भने हुँदैनन् । तर, जो परपीडनको स्तरमा हुन्छन्, त्यस्ता व्यक्ति नेतृत्वमा छन् भने तिनले आफ्नै साथी/सहकर्मीलाई दु:ख दिन अनेक तानाबाना बुन्छन् । षड्यन्त्रलाई पराक्रम ठान्दछन् र अरुलाई दु:ख दिन पाउँदा खुसी हुन्छन् । सम्बन्धहरूका लागि स्वार्थको परित्याग हैन, स्वार्थका लागि सम्बन्धहरूको बली चढाउँदछन् ।
४. शास्त्रवाद र जडताको प्रवर्द्धन
विशेषतः बौद्धिक आत्ममुग्धता भएका आत्ममोहितहरूमा यो रोग देखा पर्दछ । तिनले कुनै निश्चित सिद्धान्त वा शुत्रमा गौरव गर्दछन् । ती सिद्धान्त, शुत्र अव्यावहारिक, काम नलाग्ने र असान्दर्भिक भइसकेका हुन सक्दछन् । तर, त्यसैलाई शास्त्र बनाउन खोज्दछन् । सृजनशीलता र गतिशीलतालाई हानि पुर्याउँछन्, संस्थालाई जडता र अधोगतितिर फसाउँछन् । विज्ञान र विवेकसम्मतलाई हैन, भावनालाई महत्त्व दिन्छन् ।
५. अन्ततः विसर्जन
आत्ममोहित नेतृत्वले जब एकपछि अर्को आत्मघाती निर्णय गर्दछ, उसले नेतृत्व गरेको संस्था, आन्दोलन, राज्य र समाज नै विघटन तथा विसर्जन हुने स्थितिमा पुग्दछ ।
तसर्थ, नार्सिसिज्म अन्ततः निजी रहँदैन, सामूहिक आत्महत्या बन्न पुग्दछ । जस्तो कि नार्सिसस अन्ततः शान्त तलाउमा अलबिदा भयो, आफ्नै रूपमा मोहित भएर । नार्सिसिस्टहरू यसरी आफ्नै गल्तीमा मोहित भएर विर्सजनमा पुग्दछन् ।
हाम्रो समाज, राष्ट्र, राज्य र राजनीतिमा पनि छ्यापछ्याप्ती नार्सिसिस्टहरू छन् । तिनलाई नचिनेर, नबुझेर यदाकदा हामी उल्टै सहयोग गरिरहेका हुन्छौँ । हुन सक्दछ, हामी आफैँमा यी समस्या छ ।
‘नार्सिसिस्ट’ नेतृत्वबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।
Facebook Comment
Comment