भनिन्छ — युद्ध रक्तपातयुक्त राजनीति हो, राजनीति रक्तपातहीन युद्ध । हरेक राजनीति युद्ध नबन्न सक्छ, तर हरेक युद्धको राजनीति हुन्छ ।
आधुनिक राजनीतिक शास्त्र र लोकतान्त्रिक सौन्दर्य शास्त्रमा यस्ता भनाइको ‘वैधता’ सधैँ विवादको घेरामा हुन्छ । आज धेरैले यस्तो भनाइ मन पराउँदैनन् वा अस्वीकार गर्छन् ।
एक्काइसौँ शताब्दी र उत्तर आधुनिकताको युगमा आइपुग्दा पनि अझै राजनीतिलाई हिंसा, तनाव, द्वन्द्व र युद्धको खेल बनाइरहने कि स्वच्छ, पारदर्शी, सहिष्णु, उदार, सामञ्जस्यतापूर्ण, सहकार्यात्मक, रचनात्मक तथा सृजनशील प्रतिस्पर्धा बनाउने ? यो प्रश्नले धेरैको मथिङ्गल उद्वेलित गर्न सक्छ ।
हाम्रा आदर्श र चाहना एकातिर हुन्छन्, व्यवहार अर्कोतिरबाट कठोर भएर अघि आइदिन्छ ।
‘युद्ध नभइदिए हुन्थ्यो’ भन्ने चाहना वा युद्धविरोधी भावना एउटा कुरा हो । तर, हामीले नचाहेर पनि युद्ध त भइरहेकै छन् । पहिलो र दोस्रो महायुद्धपछि विश्व समुदायले युद्धमा हुने क्षतिको राम्रो ज्ञान पायो, मान्छेको चेत फिर्याे । तसर्थ, त्यसपछि युद्ध हुने छैन भन्ने धारणा बलियो थियो ।
तर, यथार्थमा त्यस्तो भएन । दोस्रो विश्वयुद्धपछि पनि विश्वमा कयौँ साना ठूला युद्ध भए । कोरिया युद्ध, भियतनाम युद्ध, खाडी युद्ध, अफगानिस्तान युद्ध, इराक युद्ध, बाल्कन युद्ध, सिरिया युद्ध, लिविया युद्ध आदि थुप्रै युद्ध भए ।
केही वर्षयता थप दुई ठूला युद्ध देखिरहेका छौँ । युक्रेन र गाजा युद्ध । अहिले एउटा अर्को युद्ध सुरु भएको छ — इरान युद्ध । मध्यपूर्वमा यो नयाँ युद्धको स्वरूप र परिणाम कस्तो होला ? यो प्रश्न अहिले धेरैको मनमा उठेको छ ।
युद्ध राजनीतिक तनाव र द्वन्द्वहरूको चरमोत्कर्ष त हो नै त्यसको अन्तर्यमा कुनै न कुनै वैचारिक संघर्षको पृष्ठभूमि र शक्ति सन्तुलनसमेत जोडिएको हुन्छ ।
वैचारिक हिसाबले इरान–इजरायल युद्धलाई ‘इस्लामिक र जियोनिष्ट’ अतिवादबीचको वर्चस्व वा अस्तित्वको संघर्ष मान्न सकिन्छ । यदि ‘अतिवाद’ लाई दुवैतिरबाट हटाइदिने हो भने यो ‘इस्लाम’ र ‘यहुदी’ विचारधाराबीचको अस्तित्व र स्वाभिमानको संघर्ष हो । जसको शताब्दीऔं लामो द्वन्द्वको इतिहास छ ।
अर्कोतिर यो मध्यपूर्वको शक्ति सन्तुलन र सुरक्षा स्वार्थसँग जोडिएको छ । विचारकै कारणले मात्र यो युद्ध नहुन पनि सक्थ्यो, यदि एकअर्कालाई ‘सुरक्षा धम्की’को अनुभूति नभएको भए । संसार आज यस्तो ठाउँमा आइपुगेको छ जहाँ स्वार्थ मिले विचार र प्रणालीको भिन्नताले पनि कुनै अर्थ राख्दैन ।
जस्तो कि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध न वैचारिक हो, न सभ्यतागत हो, न त राजनीतिक प्रणालीको निकटता । साउदी इस्लामिक राजतन्त्रात्मक मुलुक हो । अमेरिका इसाई समाजको संघीय लोकतान्त्रिक गणतन्त्र । तर, आर्थिक तथा सामरिक स्वार्थ मिलेकै कारणले यी दुई देश दशकौँदेखि निकट र सुमधुर सम्बन्धमा छन् ।
युद्धविरोधी चिन्तनमा एउटा यस्तो बुझाई जहिल्यै हुन्छ— युद्धका लागि सधैँ बलियो शक्ति जिम्मेवार हुन्छ । यस अर्थमा ‘शान्तिप्रेमी वामपन्थ’ ले यसको सबै दोष इजरायलमाथि मात्रै खन्याउन सक्छ । जस्तो कि गाजा युद्धमा पनि त्यही भयो ।
तर, यो दृष्टिकोण हो । यथार्थ होइन । संकथन थियो, सत्य हैन । गाजा युद्ध खासमा सन् २०२३ अक्टोबर ७ मा हमासले सुरु गरेको थियो, इजरायलले होइन । इरान युद्धको मुख्य कारण पनि इजरायल नभएर इरानले इजरायलविरुद्ध गरेको प्रोक्सी संगठनको विस्तार र सुरक्षा घेराबन्दी हो । यद्यपि, यो तथ्य स्वीकार गर्न संसारभरिकै कथित ‘युद्धविरोधी वामपन्थ वा शान्तिप्रेमी दक्षिण पन्थ’लाई गाह्रो पर्ने छ ।
इजरायल इरानभन्दा ठूलो वा बलियो शक्ति हो कि होइन भन्ने प्रश्न आफैमा विवादास्पद बन्न पुग्छ । इजरायलको क्षेत्रफल २० हजार ७७० वर्ग किमी छ, जनसंख्या करिब १ करोड । इजरायल क्षेत्रफलमा विश्वको १४९औं र जनसंख्यामा ९३औं ठूलो देश हो । यसको अर्थतन्त्रको आकार करिब ६०० विलियन डलरको छ ।
अर्कोतिर इरान भने १६ लाख ४८ हजार १९५ वर्ग किमी क्षेत्रफल भएको विश्वको १७औं ठूलो देश हो । जनसंख्या करिब ९ करोड छ भने १.७५ ट्रिलियन डलरको अर्थतन्त्र छ ।
यसरी तुलना गर्दा इरानभन्दा इजरायल सायद शक्तिशाली होइन । दुवै अनौपचारिक रूपमा आणविक शक्ति सम्पन्न राष्ट्र हुन् । इरानसँग करिब ७ लाख नियमित सेना छन् । इजरायलको प्रतिरक्षा बल १ लाख ७० हजार मात्र छ । इरान इजरायलभन्दा धेरै ठूलो र शक्तिशाली राष्ट्र हो ।
तर, आम धारणा भने ठीक उल्टो छ । मानिस इरानलाई कमजोर र इजरायललाई बलियो तथा आक्रामक शक्तिका रूपमा चर्चा गर्दैछन् । यस्तो धारणा निर्माण हुनुको मूल कारण सायद इजरायललाई अमेरिकी ‘ब्याकिङ’ र इजरायलको अत्याधुनिक विज्ञान, प्रविधियुक्त प्रतिरक्षा बल हो । इजरायलको गुप्तचर संस्था ‘मोसाद’ उत्तिकै चुस्त र काबिल मानिन्छ ।
अर्थात्, इजरायलको शक्ति मुख्यतः अत्याधुनिक हवाई गोलाबारी तथा बमबारी शक्ति हो । साथै, बलियो युद्ध भावना र चुस्त गुप्तचरी संगठन हो । यही कारणले इजरायललाई मानिसले इरानभन्दा बलियो र आक्रामक शक्ति मानिरहेका छन् । युद्धको दोष इजरायलमाथि थोपरिरहेका छन् ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान पनि तीव्र सैन्यकरण हुँदै गएको छ । इरान आफूलाई सिया मुस्लिम दुनियाँको मसिहा राष्ट्र ठान्दछ । इरानले अघोषित र गोप्य आणविक हतियार कार्यक्रम सुरु गरेको वर्षौं भइसक्यो ।
भनिन्छ— इरानसँग १० भन्दा बढी आणविक बम बनाउन सक्ने पर्याप्त शुद्धतासहितको युरेनियम भण्डार छ । फोर्डो, बुशेहार, नातान्ज, एस्तेफानजस्ता आणविक केन्द्र र भण्डारको अहिले विश्वभरि चर्चा छ । खुलासा नभएका यस्ता अन्य थुप्रै भण्डार र केन्द्र हुनसक्ने अनुमान छ ।
यथार्थमा इरान–इजरायल युद्ध बलियो र कमजोरबीचको युद्ध होइन । दुवै बलियाबीचको वर्चस्व र अस्तित्वको युद्ध हो । अझ जनसंख्या, क्षेत्रफल र अर्थतन्त्रको आकारले भन्ने हो भने इजरायलभन्दा इरान बलियो शक्ति हो ।
इस्लाम भर्सेज यहुदीवाद
दोस्रो विश्वयुद्धपछि इजरायल राज्यको स्थापना त भयो, तर इस्लामिक अरब जगतले यसको अस्तित्वलाई हृदयभित्रबाटै कहिल्यै स्वीकार गर्न सकेन । यसो हुनुका सभ्यतागत, ऐतिहासिक, मनोवैज्ञानिक र सामरिक कारण थिए ।
इसाई तत्वमिमांसा र ज्ञान परम्परामा हुर्किएको ‘उदार लोकतन्त्र’ र ‘साम्यवाद’ दुवै सिद्धान्त वा, प्रणालीको स्वामित्व ‘इस्लामिक–ब्रह्माण्ड’ ले नलिनु अस्वाभाविक होइन । विज्ञान, प्रविधि, आधुनिकता र बजार अर्थतन्त्र धार्मिक कट्टरपन्थलाई कमजोर पार्न पर्याप्त छैन भन्ने गतिलो उदाहरण मध्यपूर्वलगायतका मुस्लिम देशहरूमा भइरहेको ‘इस्लामिक पुनर्जागरण’ हो । ‘इस्लामिक रेनेसाँ’ दोस्रो विश्वयुद्ध यता ‘युरोपियन इन्लाइन्टनमेन्ट’ लाई अस्वीकार गर्दै समानान्तर अघि बढेको छ ।
यहुदीवादमा आधारित आधुनिक इजरायल राज्य स्थापनाको सपना बोकेर हिँडेको ‘जियोनिष्ट रेनेसाँ’ मा विश्वास गर्ने नेताहरूलाई यसको गहिरो ज्ञान र अनुभूति थियो । तर, ती बाध्य थिए । जस्तो कि इजरायलका प्रथम प्रधानमन्त्री डेबिड बेन गुरियनको निम्न भनाई एकपटक स्मरण गरौँ—
‘यदि म अरब नेता हुन्थे भने इजरायलसँग कहिल्यै कुनै सम्झौता गर्दैनथेँ । सामान्य बुझाइ हो, यो हामीले उनीहरूको देश लिएका छौँ । यो पनि सत्य हो कि परमेश्वरले यो देश हामीलाई दिने प्रतिज्ञा गर्नुभएको थियो । तर, यसको उनीहरूलाई के चासो ? हाम्रा भगवान् हाम्रा भगवान् हुन्, तिनीहरूका होइनन् । यो दुनियाँमा यहुदी विरोधी, नाजी हिटलरजस्ता छन् । त्यसो हुनमा उनीहरूको के गल्ती छ ? उनीहरूले बुझ्ने यति मात्र हो कि हामी यहाँ आयौँ, उनीहरूको ठाउँमा आयौँ । हामीले उनीहरूको देश चोरेका छौँ । त्यो उनीहरूले किन स्वीकार गर्छन् ?’
–‘राजनीतिक रूपमा हामी आक्रमणकारी नै हौँ । त्यसैले उनीहरू आफ्नो प्रतिरक्षा त गर्छन् नै । देश उनीहरूकै हो । किनकि, उनीहरू यहीँ बस्थे । हामी त यहाँ बस्न चाहेर आएका हौँ । उनीहरूको आँखाबाट हेर्दा हामी उनीहरूको देश खोस्दै छौँ । हाम्रो आँखाबाट हेर्दा हामी हाम्रो पवित्र भूमि खोज्दै आएका हौँ । यो सत्य हो कि इजरायलको इतिहास एक कठिन इतिहास हो । यसको व्याख्या कहिल्यै सजिलो हुने छैन ।’
यहुदीहरूको पहिलो विश्व राजनीतिक संगठन सन् १८९७ मा बनेको थियो । यसको नाम थियो — वर्ल्ड जियोनिष्ट अर्गानाइजेसन । यो आन्दोलनका संस्थापक नेता थिए, थियोडर हर्जल । उनी सन् १९०४ मा बिते ।
त्यसपछि यो संठगनको नेतृत्व साइम विट्ज्म्यानको हातमा आयो । उनले बेलायतको ‘वालफोर घोषणा’ हुने आधार तयार पारेका थिए । सन् १९४८ मा इजरायलको स्थापना नहुन्जेल उनी यो संगठनको प्रमुख रहे । त्यसपछि इजरायलको प्रथम राष्ट्रपति निर्वाचित भए ।
तर, यो आन्दोलनका सबैभन्दा प्रभावशाली नेता भने डेबिड बेन गुरियन थिए । जसले ‘इजरायलको इतिहास एक कठिन इतिहास हो, यसको व्याख्या कहिल्यै सजिलो हुने छैन’ भनेर आफै स्वीकार गरेका थिए ।
इजरायल राज्यको स्थापना हुनुपर्थ्यो वा पर्दैनथ्यो भन्ने प्रश्नले आजको दिनमा कुनै अर्थ राख्दैन । इतिहासको लामो कालखण्डलाई हेर्दा ‘राज्य’ वा ‘देश’ कुनै स्थायी संरचना होइनन् । राज्यको पनि जन्म र मृत्यु, उत्थान र पतन हुन्छ ।
इतिहासमा भएका कयौँ राज्य आज छैनन् । कयौँ नयाँ राज्यको स्थापना भएको छ । दोस्रो विश्वयुद्धदेखि शीतयुद्धको अन्त्यसम्म आइपुग्दा कयौँ नयाँ राज्य बनेका छन् । इजरायलको स्थापना यही प्रक्रियाको एक कडी थियो ।
यहुदी धर्म इसाई र इस्लामभन्दा धेरै पुरानो सभ्यता र धर्म हो । यहुदी मानव जातिको त्यस्तो अल्पसंख्यक समुदाय हो, जसले सबैभन्दा धेरै अत्याचार र दमन खेप्नुपरेको छ । यो समुदाय विश्वभरि छरिएको छ । यहुदी जनसंख्याको आधा मात्र अहिले इजरायलमा बस्छ । हिटलरले दोस्रो विश्वयुद्धताका जुन यहुदी नरसंहार गरे, त्यसको कथा मान्छेको मात्र होइन, धर्तीकै हृदय कम्पन गराउने खालको छ । हिटलरले करिब ६० लाख यहुदीको हत्या गरेका थिए ।
यहुदीको तुलनामा मुस्लिम समुदाय न अल्पसंख्यक हो न त्यसको कुनै एउटा मात्रै देश र केन्द्र छ । सन् १९२२ मा अटोमान साम्राज्यको पतनसँगै ‘अन्तिम सुल्तानियत’ को अन्त्य भए पनि विश्वमा आज थुप्रै इस्लामिक तथा मुस्लिम जनसंख्या बहुल देश छन् । स्मरणीय छ— यहुदीहरूलाई आजको इजरायल, जेरुसेलम र गाजा क्षेत्रमा जमिन किन्ने र बसाइँ सर्ने अधिकार सन् १९०३ मा अटोमान साम्राज्यले नै दिएको थियो ।
यो सत्य होइन कि यहुदीमाथिको दमन र नरसंहार अरबी वा इस्लामले मात्र गरे । आज इसाईहरू यहुदी वा इजरायलको पक्षमा भएजस्तो देखिए पनि यहुदीमाथिको सबैभन्दा ठूलो दमन त स्वयं इसाईले गरेका थिए । यहुदी जनसंख्यामा ‘आफ्नै देश चाहिन्छ’ भन्ने भावना त्यही कारणले पलाएको थियो र उनीहरू हिब्रु बाइबलमा उल्लेखित पवित्र भूमि खोज्दै विश्वभरिबाट फेरि त्यहाँ केन्द्रित भएका थिए ।
किम्वदन्तीमा इजरायल
हिब्रु बाइबलअनुसार ‘इजरायल’, ‘जुदाह’, र ‘जिओन’ यहुदी अधिराज्य थिए । मोसिडोन साम्राज्यको विस्तार तथा सिकन्दरको आक्रमणले इसापूर्व चौथौँ शताब्दीमा तिनको पतन भयो । सन् १९४८ मा इजरायलको स्थापना हुँदा यी तीनमध्ये कुन नाम छान्ने भन्ने बहस चलेको थियो । डेबिड बेन गुरियन नै ती व्यक्ति थिए, जसले आधुनिक युगको यहुदी राज्यका लागि बाइबलका तीन अधिराज्यमध्ये ‘इजरायल’ नाम छानेका थिए ।
प्रारम्भमा यो क्षेत्रमा ग्रिक–रोमन आक्रमण र अधीनस्थता भयो । इस्लामको उदयपछि अरबी साम्राज्य र सुल्तानियत प्रभावी भए । आधुनिक कालको प्रारम्भतिर सन् १५१६ बाट अटोमान साम्राज्यले अधीन गर्यो । अटोमान साम्राज्यको शासन करिब ४ सय वर्ष रह्यो । यति लामो समय ‘यहुदी राज्यविहीन राष्ट्र’ भएर रहे ।
पहिलो विश्वयुद्धमा ‘धुरी राष्ट्र’ को पराजयपछि ‘मित्र राष्ट्र’ ले अरब क्षेत्रलाई एक आपसमा भागबन्डा गरे । अटोमान साम्राज्य टर्कीमा सीमित भयो । लेबनान र सिरिया फ्रान्सले पायो, जोर्डन र प्यालेस्टाइन बेलायतले । सन् १९१७ को बेलायती ‘वालफोर घोषणा’ मा प्रस्ट भाषामा भनिएको छ— ‘प्यालेस्टाइनमा एक यहुदी राज्य स्थापना गरिने छ ।’ अंग्रेजीमा ‘अ जियोनिष्ट स्टेट विल वि इस्टाब्लिस्ड इन प्यालेस्टाइन’ भन्ने वाक्य प्रयोग भएको छ ।
इस्लामिक क्रान्तिको यथार्थ
सन् १९७९ मा भएको इरानको इस्लामिक क्रान्ति आफैमा एक अनौठो परम्पराको स्थापना थियो । त्यस क्रान्तियता इरानमा धर्मगुरुको शासन छ । इस्लामिक क्रान्तिका नेता आयतुल्ला रोहल्ला खोमेनीले स्थापना गरेको यो शासन प्रणालीमा अहिले अली खामेनाई सर्वोच्च नेता छन् ।
रोमन क्याथोलिक इसाईहरूको भ्याटिकन सिटीलाई अपवाद मान्ने हो भने संसारमा यस्तो धार्मिक शासन इरानबाहेक अन्त कतै छैन । तिब्बतमा चिनियाँ अधीनस्थताको कारण बुद्धिस्टहरूको दलाई लामा परम्परा अन्त्य भएको आधा शताब्दी बढी भयो ।
इस्लामिक क्रान्तिले इरानलाई फाइदा भएको छ कि बेफाइदा ? त्यसको भिन्नै विश्लेषण जरुरी पर्ला । सन् १९५० यताको ७५ वर्षमा इरानमा निर्वाचित लोकतान्त्रिक, निरंकुश राजतन्त्र र धर्मगुरुको गरी ३ प्रकारको शासन प्रणालीको अभ्यास भयो ।
यद्यपि, सबै इस्लामिक तथा मुस्लिम बहुल देशले इरानलाई आफ्नो राजनीतिक तथा आस्थाको केन्द्र मान्दैनन् । मुस्लिमभित्रै सिया र सुन्नी समुदायको मतभेद निक्कै गहिरो छ । यही कारण थियो, सन् १९८० को दशकमा इरान र इराकबीच ८ वर्ष लामो युद्ध भयो । यस्तो बैमनस्यता अहिलेसम्म अन्त्य भएको छैन ।
इस्लामिक क्रान्तिले इरानलाई फाइदा भएको छ कि बेफाइदा ? त्यसको भिन्नै विश्लेषण जरुरी पर्ला । सन् १९५० यताको ७५ वर्षमा इरानमा निर्वाचित लोकतान्त्रिक, निरंकुश राजतन्त्र र धर्मगुरुको गरी ३ प्रकारको शासन प्रणालीको अभ्यास भयो ।
सन् १९५३ मा जन निर्वाचित मोहम्मद मोशादेगको सरकारलाई अपदस्थ गरी रेजा पल्लहवी शाहको निरंकुश राजतन्त्र पुनर्स्थापना गर्न अमेरिका र बेलायतले समेत सहयोग गरेका थिए । त्यो एक प्रकारको सैन्य ‘कु’ तथा विदेशी षडयन्त्र थियो । राजा पहल्लवी शाहको सरकार विदेशीको कठपुतली सरकार थियो । यही असन्तुष्टिको जगमा रोहल्ला खोमेनीले सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरी राजा रेजा पहल्लवी शाहलाई विदेश धपाए ।
इस्लामिक क्रान्ति र धर्मगुरुको शासनमा इरानी महिलाले ठूलो अपमान र दमनको सामना गरेका छन् । ‘अनिवार्य हिजाब कानुन’विरुद्ध त्यहाँ बारम्बार महिला अधिकार आन्दोलन र विद्रोह भएका छन् ।
‘तेहरान धुरी’को धम्की
अक्सर आफैँभित्र सीमित हुन उचित हुने हैसियत र यथार्थ सामना गरिरहेका शासन जब अवाञ्छित तवरले अन्तर्राष्ट्रिय विस्तार खोज्छन्, त्यसको ‘रिपर्कसन’ त हुन्छ नै । ठीक यस्तै कथा हो— इस्लामिक गणतन्त्र इरानको ‘आणविक शक्ति’ र ‘तेहरान धुरी’ बन्ने प्रयास । इरानको यो नीतिको सबैभन्दा ठूलो मार अहिलेसम्म इजरायलले नै भोगेको छ ।
इजरायल प्यालेस्टाइन, जोर्डन, लेबनान, सिरिया र इजिप्टजस्ता अरब तथा इस्लामिक देशद्वारा घेरिएको वा, प्रभावित छ । इरानको ‘आणविक शक्ति’ चाहना इजरायलको एक्लो सरोकार होइन, तर ‘तेहरान धुरी’को प्रयास भने इजरायलको सबैभन्दा ठूलो सुरक्षा चुनौती हो । इरानको आणविक हतियार कार्यक्रम सफल भए ‘तेहरान धुरी’ झन् बलियो र खतरनाक हुन्छ । अन्यथा इरानले आणविक ऊर्जा प्रयोग गर्ने सार्वभौम अधिकार राख्छ । तर, उसले यो कुरामा सबैलाई आश्वस्त पार्न सक्नुपर्थ्यो कि त्यसको प्रयोग ‘तेहरान धुरी’ लाई बलियो बनाउन र इस्लामिक अतिवादलाई बढवा दिन प्रयोग गरिने छैन ।
इरानले ‘तेहरान धुरी’ बनाउने नाममा इजरायलविरोधी अरब तथा इस्लामिक संगठनलाई भित्रभित्रै सहयोग गरिरहेको छ भन्ने इजरायलले बुझिसकेको थियो । यसको प्रतिवाद वा चेतावनी स्वरूप सन् २०२४ अप्रिल १ मा सिरियाको दमास्कसस्थित इरानी कन्सुलर कार्यालय भवनमा हवाई आक्रमण गर्यो । त्यो आक्रमणमा केही इरानी कूटनीतिज्ञ तथा अधिकारी मारिएका थिए ।
बदलामा इरानले सन् २०२४ को अक्टोबरमा इजरायलमाथि २०० बढी ब्यालेस्टिक मिसाइल आक्रमण गर्यो । त्यसअघि सोही वर्षको अप्रिल १३ मा इरानले ‘समर्थक–शक्ति समूह’ लाई समेत संलग्न गराई इजरायलमाथि व्यापक हमाल गरेको थियो । इजरायलले हमास नेता इस्माइल हानियालाई इरानको पाहुना भएर बसेको बेला तेहरानको सरकारी आवासमै हत्या गर्यो । यसले इजरायली गुप्तचर संस्था शत्रु देशमा समेत निक्कै बलियो छ भन्ने पुष्टि भयो ।
प्यालेस्टाइनी हमास, यमनी हुथी, लेबननी हिज्जबुल्लाह र इराकी सिया लडाकु संगठनहरू इरान समर्थित र प्रायोजित हुन् । यी सबैले इरानबाट पैसा र हतियार पाउँथे, पाइरहेका छन् । भलै, सिरिया र जोर्डन इरानका नरम सहयोगी थिए ।
प्यालेस्टाइनी हमास, यमनी हुथी, लेबननी हिज्जबुल्लाह र इराकी सिया लडाकु संगठनहरू इरान समर्थित र प्रायोजित हुन् । यी सबैले इरानबाट पैसा र हतियार पाउँथे, पाइरहेका छन् । भलै, सिरिया र जोर्डन इरानका नरम सहयोगी थिए ।
यसैबीच सिरियामा इरान समर्थित शासनको पतन भइसकेको छ । सन् २०२४ मा बाथ नेता तथा राष्ट्रपति बसर–अल असद देश छोडेर मस्को भागे । सिरियामा बाथ शासनको अन्त्यले मध्यपूर्वको शक्ति सन्तुलनमा भिन्नता ल्यायो, इरानलाई कमजोर बनायो । सिरियाको नयाँ शासनले अमेरिकासँग निकटता बढाउँदै लग्यो । जोर्डनले तटस्थता अपनायो । बेरुतको औपचारिक लेबननी सरकार पनि यो भुमरीमा फस्न चाहेन । इजरायलको टाउको दुखाई बनेर प्यालेस्टाइनी हमास र लेबननी हिज्जबुल्लाह अघि आए । यी तेहरान धुरीका अन्तिम उपग्रह र गोटी थिए, जसलाई प्रयोग गरेर इरान इजरायललाई ठेगान लगाउन चाहन्थ्यो ।
तर, गाजा युद्धको परिणाम ठीक उल्टो आयो । इजरायलले हमास र हिज्जबुल्लाहमाथि असीमित क्षति पुर्यायो । हमासका ४ शीर्ष नेता इस्माइल हानिया, याह्या सिनवर, मोहम्मद देइफ र मोहम्मद सिनवर मारिए । सन् २०२४ को सेप्टेम्बर २७ को एक हवाई आक्रमणमा हिज्जबुल्लाह नेता हसन नसरल्लाह मारिए । हिज्जबुल्लाहले युद्धविरामको बाटो रोज्यो ।
जुन १३ मा हवाई आक्रमण सुरु गरेर इजरायल इरानसँग मध्यपूर्वको अन्तिम र निर्णायक युद्ध लड्दै छ । तसर्थ यो युद्धले मध्यपूर्वको सुरक्षा स्वार्थ र शक्ति सन्तुलनमा निर्णायक अर्थ राख्ने छ ।
अमेरिकाको प्रवेश
इजरायलको मुख्य बल भन्नु नै ‘हवाई–शक्ति’ हो । रक्षा तथा युद्ध विश्लेषक भन्छन्— हवाई शक्तिले शत्रु देश तहसनहस हुन सक्छ, तर पराजित हुँदैन । इजरायलसँग इरानमाथि स्थलगत नियन्त्रण गर्ने सैन्य क्षमता छैन भनिन्छ । इरानका अधिकांश आणविक हतियार भण्डारण कक्ष चट्टाने पहाडमुनि ७० फिटसम्मको गहिराइमा भएको बताइन्छ ।
इजरायलको हवाई आक्रमणले इरानका गहिरा भूमिगत बंकर नष्ट गर्न सायद सम्भव हुनेछैन । तसर्थ, युद्धमा अमेरिकी संलग्नताले निर्णायक अर्थ राख्छ । अमेरिका युद्धमा प्रवेश गरिसकेको छ । भनिन्छ– अमेरिकासँग गहिरा भूमिगत बंकर ध्वस्त गर्नसक्ने विशेष प्रकृतिका शक्तिशाली बम छन् ।
अमेरिका पनि अहिलेसम्म हवाई आक्रमणमै सीमित छ । अमेरिका र इजरायल दुवै देशले स्थल सेना पठाउने कुनै निर्णय लिएका छैनन् । अमेरिकाले समग्र युद्धको योजना बनाउन अझै केही हप्ता खर्चिने सम्भावना छ । अमेरिका–इजरायल संयुक्त कारबाहीले इरान कमजोर हुनु स्वाभाविक हो ।
तर, युद्धको परिणाम स्वरूप अरब जगतले इजरायलसँग शताब्दीऔं लामो शत्रुताको भावना परित्याग गर्ने विश्वास गर्न सकिन्न । साथै, तिनले इजरायललाई पराजित गर्ने वा एक मात्र यहुदी राज्यको अस्तित्व नामेट पार्ने कल्पना पनि गर्न सकिन्न ।
अमेरिका–इजरायलको हवाई आक्रमणले मात्र इरानको इस्लामिक शासन अन्त्य हुने कल्पना गर्न भने गाह्रो छ । तर, ती देशले इरानमा स्थल सेनासमेत पठाए भने इरान आणविक हतियार कार्यक्रम स्थगन गर्न बाध्य हुनसक्छ वा सन् २००३ को इराक युद्धजस्तै स्थितिमा पुग्न सक्ने छ । इजरायल एक्लैले वा, हवाई शक्तिले मात्र भने सायद इरानको आणविक कार्यक्रम पूर्णतः नष्ट गर्ने वा इस्लामिक गणतन्त्रको धार्मिक शासन अन्त्य गराउने क्षमता राख्दैन ।
Facebook Comment
Comment