काठमाडौं । सत्ताको रस्साकस्सीमा मस्त माओवादी त्यतिबेला होशमा आयो, जतिबेला अनपेक्षित रूपमा सत्ताबाट हुत्तियो । सत्ताबाट हुत्तिँदै गर्दा नमिठो मानेको माओवादीले पछि यसलाई ‘पार्टी सुदृढीकरण’को सुवर्ण मौका भनेको छ ।
माओवादीको ‘अस्तित्व’माथि नै प्रश्न उठ्न थालेको बेला लामै समय समीक्षा गरेको माओवादीले २०८४ को चुनाव एक्लै लड्ने घोषणा गरिसकेको छ । चुनावी गठबन्धनमा ध्यान दिँदा आफ्ना विचार र मुद्दाहरू जनतासम्म नपुगेको माओवादीको ‘फाइन्डिङ्स’ छ ।
यसपछि जनतामा गएर जनमतका हिसाबले पुन: २०६४ तिरै फर्किने दोहोर्याइरहेको माओवादीभित्र के भइरहेकको छ ? जनतामा के लिएर जाँदैछ ? अपेक्षित रूपमा माओवादी सुदृढ होला ? यी प्रश्नहरू हामीले पूर्वमन्त्री एवम् माओवादी सचिव दीनानाथ शर्मालाई सोधेका छौँ ।
पार्टी सुदृढीकरणकै छलफलमा हुनुहुन्छ, के-कसरी छलफल गर्दै हुनुहुन्छ ?
हो, पार्टीको मान्छे भएपनि पार्टी बनाउने, सुदृढ गर्नेबारे नै छलफल हुने भयो । हामी जनतामा गएर पार्टी बनाउनेबारे छलफलमा छौँ ।
अबचाहिँ ठोस रूपमा जनतामा के एजेन्डा लिएर जानुहुन्छ ?
हिजो राजा धपाउने ठोस एजेन्डा थियो हाम्रो । अबचाहिँ समाजवादी अर्थ-राजनीति निर्माणका लागि हामी जनतामा जान्छौँ ।
पदाधिकारी र स्थायी समिति भङ्ग गरेर विशेष महाधिवेशन गर्दै माओवादी ?
जस्तो तपाईं भन्नुस् त, यहाँ कुनै एउटा वर्गले चाहिँ बिजुलीको महसुल नतिर्दा पनि हुने तर, जनताले जे-जसरी गरेर पनि तिर्नैपर्ने अवस्था छ । हो, यही अवस्था हट्नुपर्छ भन्ने माओवादीको मूल एजेन्डा हो । हामीले रगत, पसिना त हिजै बगाइसक्यौँ । बलिदानी त हिजै गरिसक्यौँ । अबचाहिँ जनतामा सुशासन र समृद्धि नै मूल एजेन्डा हो हाम्रो ।
कहीँ न कहीँ माओवादीकै एजेन्डामा देश छ भनिन्छ, त्यो देखिन्छ पनि तर, अहिले आएर माओवादी निरीह देखिन्छ, यी एजेन्डाहरू कसरी स्थापित गर्नुहुन्छ जनतामा ?
संसदीय व्यवस्थामा कुनै बेला निरीह र कुनैबेला शक्तिशाली भइन्छ, त्यो सामान्य हो । हामीले पनि हिजो राजा धपाएर आउँदा शक्तिशाली थियौँ, प्रकारान्तरले अहिले हामी निरीह जस्तो भयौँ ।
एक्लै चुनाव लड्ने माओवादीको निर्णय- ‘साइकोलोजिकल ट्रीटमेन्ट’ मात्रै कि कार्यान्वयन पनि ?
जस्तो तपाईं कांग्रेसको कुरा गर्नुस् त, २००७ सालयता लडेर आएको हो, त्यो मान्नुपर्छ । तर, इतिहासमा कांग्रेस कुनैबेला निरीह भएन र ? त्यसकारण निरीह र शक्तिशाली भन्ने सवाल होइन । मुख्य त विचारको कुरा हो । विचारको कोणबाट माओवादीमाथि कुनै प्रश्न उठ्दैन । हामी थप सशक्त हुनका लागि जनतामा जाँदैछौँ ।
जनतामा चाहिँ ठोस रूपमा के लिएर जानुहुन्छ ?
सुशासनकै कुरा हो, विकास र समृद्धिकै कुरा हो । जनताले हामीले के भन्छन्, त्यो मान्छौँ । गल्ती गर्यौ भने भने मान्छौँ, कहाँ गर्यौँ, देखाइदिनुस् भन्छौँ अनि फेरि गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेर फर्किन्छौँ ।
पहिले ३१ लाखभन्दा बढी भोट ल्याउने माओवादी कसरी १२ लाख पनि नल्याउने ठाउँसम्म आइपुग्यो, समीक्षाका क्रममा के निस्क्यो कारण ?
हामीले हरेक चुनावमा गठबन्धन गर्यौँ, कहीँकतै त्यसले पनि बिगार्यो कि ! जस्तो हामीले गठबन्धनको नाममा कहिले कांग्रेसलाई भोट खन्यायौँ, कहिले एमालेलाई दियौँ । यसो गर्नुहुन्नथ्यो कि भन्ने समीक्षामा गर्यौँ ।
माओवादीले अब के गर्नुपर्छ ?
गठबन्धनमा रहँदा अरु दलको एजेन्डालाई पनि स्थान दिनुपर्दा आफ्ना विचारहरू जनतामाझ पुगेनन् कि जस्तो भयो । यी कुराहरूलाई ख्याल गरेर हामी भावी रणनीति तय गर्छौँ ।
जनतामा जानुअघि पार्टीका स्वरूप परिवर्तन गर्ने भन्ने कुरा सुनिन्छ, हो ?
त्यस सम्बन्धमा कतिपय कुराहरू उठेका छन्, पार्टीले निर्णय लिइसकेको छैन । स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले केही गर्ला ।
अन्त्यमा, जनतामा गएर माओवादी पुन: ०६४ पछिकै लयमा उठ्छ जनमतका हिसाबले ?
उठ्छ र उठ्नुपर्छ भन्ने हाम्रो छ । त्यसका लागि हामीले यदि गल्ती गरेका रहेछौँ भने माफी माग्दै पुन: अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । त्यसकै लागि हामी जनतामा जाने हो ।
Facebook Comment
Comment