पदाधिकारी र स्थायी समिति भङ्ग गरेर विशेष महाधिवेशन गर्दै माओवादी ?

पदाधिकारी र स्थायी समिति भङ्ग गरेर विशेष महाधिवेशन गर्दै माओवादी ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्र पार्टी सुदृढीकरणको व्यापक बहस चलिरहेको छ । ९ वर्षपछि पुन: संसद्को प्रमुख प्रतिपक्षी बेञ्चमा पुगेको माओवादीले यसलाई अवसरका रूपमा व्याख्या गरेको छ ।

नेताहरूले जनतासँग जोडिने सुवर्ण मौका भनेका छन् । पहिलो संविधान सभाको चुनावयता निरन्तर ओर्लिरहेको माओवादीलाई अब पुन: २०६४ सालकै जनमतमा पुर्‍याउने नेताहरूले दाबी गरिरहेका छन् ।

त्यसको सुरुवात पार्टी सङ्गठनबाटै हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् । सुरुमा पार्टी र पार्टीका अन्य समितिलाई छरितो बनाउनुपर्ने उनीहरूले बताएका छन् ।

यसबारे गत साउन ११ देखि १५ गतेसम्म बसेको पदाधिकारी बैठकमा नेताहरूले कुरा उठाएका थिए । अब साउन २५ गते स्थायी समिति बैठक आह्वान भएको छ । उक्त बैठकमा समेत यसबारे बृहत् छलफल हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

“विशेष महाधिवेशन गर्ने भनेर छलफल सुरु भएको छैन । तर, कुराहरू उठेका छन् । अब यसबारे छलफल गरेर आवश्यक निर्णय लिन्छौँ । त्यसका लागि साउन २५ गते स्थायी समिति आह्वान गरेका छौँ,” प्रवक्ता सापकोटाले नेपालभ्युजसँग भने ।

स्रोतका अनुसार २५ गते बस्ने स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिलाई भङ्ग गर्दै विशेष महाधिवेशनमार्फत अगाडि बढ्ने निर्णय गर्न सक्नेछ । र, त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।

तर, त्योभन्दा अगाडि भने पार्टी सुदृढीकरण अभियान चलाउने माओवादीले निर्णय गरिसकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै जनतासँगको भेटघाटमा निस्किनेछन् भने नेताहरूलाई पनि खटाइनेछ ।

यसपछि विशेष महाधिवेशनमार्फत छरितो समिति बनाएर पार्टी सुदृढ गरेर अगाडि बढ्ने एक नेताले बताए । “सुरुमा पार्टी सुदृढीकरण अभियान चलाउने त्यसपछि विशेष महाधिवेशन गर्ने भन्ने कुरा भएको हो । निर्णयका रूपमा यो कुरा अगाडि आएको छैन,” ती नेताले भने, “तर, यसमा पार्टीभित्र लगभग एउटै मत देखिन्छ ।”

त्यसो त माओवादीले आठौँ राष्ट्रिय महाधिवेशन गरेको ३ वर्ष पनि पुगेको छैन । माओवादीले २०७८ पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा महाधिवेशन सम्पन्न गरेको थियो ।

तर, अध्यक्षबाहेक पार्टीका अरु संरचना टुङ्ग्याउन भने सकेको थिएन । पदाधिकारी, स्थायी समितिलगायतका पार्टी संरचना भने माओवादीले महाधिवेशनको ११ महिनापछि २०७९ माघ २६ गते मात्रै टुङ्ग्याएको थियो ।

तर, यो टुङग्याएको १९ महिना बित्दानबित्दै माओवादीले भङ्ग गरेर पुन: सानो र छरितो समिति बनाएर जाने निर्णय गर्न लागेको हो ।

त्यसो त २०८० फागुन १ देखि ३ सम्म भएको पार्टीको विधान महाधिवेशनले पार्टीको पदाधिकारी बढीमा १५ सदस्यीय हुनुपर्ने उल्लेख गरेको छ तर, अहिले भने माओवादीमा २२ सदस्यीय पदाधिकारी छन् । यसलाई सच्याउनका लागि पनि यो गरिने नेताहरूले बताएका छन् ।

यही विषयलाई लिएर साउन ११ देखि १५ गतेसम्म बसेको पदाधिकारी बैठकमा उपमहासचिव हरिबोल गजुरेलले ६ बुँदे प्रस्ताव पेस गरेका थिए । जसमा उनले आफैँले बनाएको विधान आफैँबाट उल्लङ्घनमा परेको, पार्टी बिग्रनुमा सबैको हात रहेको र अब सच्याउनमा सबै लाग्नुपर्ने, राष्ट्रिय सभा अध्यक्ष चयन प्रक्रियाले पार्टीका पदाधिकारीहरूको नैतिक धरातल धुजा-धुजा भएकोलगायत भनेर पार्टी र नेतृत्वको आलोचना गरेका थिए । उनले त्यसका लागि आफू राजीनामा दिएर सहयोग गर्न तयार रहेको पनि बताएका थिए ।

पार्टी अध्यक्ष प्रचण्ड भने राजनीतिक दस्ताबेज लेखनमा जुटेका छन् । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै पुन: पार्टी सुदृढीकरण कसरी गर्ने र जनतासँग कसरी जोडिने भन्ने सम्बन्धमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको मतलाई सम्मान गर्दै राजनीतिक दस्ताबेज बन्ने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved