एक्लै चुनाव लड्ने माओवादीको निर्णय- ‘साइकोलोजिकल ट्रीटमेन्ट’ मात्रै कि कार्यान्वयन पनि ?

जे होस्, माओवादीमाथि एक्लै चुनाव लड्नुपर्ने दबाब सानो भने छैन । खासगरी पार्टीभित्रका युवापङ्क्ति र समर्थक-शुभेच्छुकहरूले माओवादीले यसमा आँट गर्नुपर्ने दोहोर्‍याउँदै आएका छन् । 

एक्लै चुनाव लड्ने माओवादीको निर्णय- ‘साइकोलोजिकल ट्रीटमेन्ट’ मात्रै कि कार्यान्वयन पनि ?

काठमाडौं । ९ वर्षपछि प्रमुख प्रतिपक्ष बनेको नेकपा (माओवादी केन्द्र) ले आउँदो संसदीय निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षमा धकेलिनु पार्टीका लागि अवसर भएको निष्कर्ष निकालेको माओवादीले २०८४ सालको संसदीय निर्वाचन एक्लै लड्ने निर्णय गरेको हो ।

त्यसो त २०७० यता माओवादीले चुनावी गठबन्धनलाई नै जोड दिँदै आएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेको माओवादीले संसदीय निर्वाचनमा नेकपा (एमाले) सँग गठबन्धन गर्‍यो ।

त्यसबेला माओवादी जम्माजम्मी १३ लाख मतमा सीमित भयो । जबकि २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा उसले ३१ लाखभन्दा बढी मत प्राप्त गरेको थियो ।

२०७९ सालको निर्वाचनमा ऊ कांग्रेससहितको पाँचलदीय चुनावी गठबन्धनमा सहभागी भयो । तर, प्रत्यक्षतर्फ जम्मा १८ सिटमा सीमित बन्यो भने पौने १२ लाख पनि मत कटाउन सकेन ।

पहिलो संविाधन सभाको निर्वाचनमा ३१ लाख मतसहित प्रत्यक्षतर्फ मात्रै १२० सिट हासिल गरेको माओवादीले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सर्वनाक हार बेहोर्‍यो । त्यसयताका दुईवटा निर्वाचन उसले एक्लै लड्ने आँट गरेन, चुनावी गठबन्धनलाई जोड दियो । तैपनि पार्टीको मत घट्ने क्रम भने रोकिएन ।

यसमा माओवादीको विश्लेषण छ, “अरु दलहरूसँग गठबन्धन गर्दा आफ्ना मुद्दाहरू ओझेलमा पर्‍यो ।” यसलाई स्वीकार्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्, “गठबन्धन गर्दा त्यहाँ रहेका दलहरूको पनि सन्तुलन मिलाउनुपर्ने भएकाले आफ्नो विचार, सिद्धान्त, कार्यदिशा र दृष्टिकोणले स्थान पाएनन् कि भन्ने कुरा अनुभवले भन्छ ।”

त्यसो त पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै मत पनि त्यही छ । साउन १३ गते पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यही भूमिका बाँध्दै अध्यक्ष प्रचण्ड आउँदो संसदीय निर्वाचन एक्लै लड्ने घोषणा गरेका थिए ।

मङ्गलबार बसेको पदाधिकारी बैठकमा पनि अध्यक्ष प्रचण्डले यही निष्कर्ष सुनाएका थिए । बैठकले यसैलाई सदर गरेको हो ।

अमिल्दो नीति

२०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको माओवादीले अर्कोतर्फ भने समाजवादी मोर्चालाई बलियो बनाउँदै नेतृत्व नै लिनुपर्ने निष्कर्ष निकालेको छ ।

मोर्चामा माओवादीसहित माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्रा राय यादव-गङ्गानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी छन् ।

माओवादीले यो मोर्चाको नेतृत्व गर्दै अगाडि जाने निष्कर्ष निकालेको हो । तर, अर्कोतिर भने आउँदो निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । यसरी हेर्दा माओवादीले अमिल्दो नीति लिएको देखिन्छ ।

माओवादी सचिव गणेश शाह भने समाजवादी मोर्चा मुख्यगरी प्राप्त उपलब्धिमाथिको प्रहार रोक्नका लागि मात्र भएको बताउँछन् । “समाजवादी मोर्चाको उद्देश्य चुनाव होइन, मुख्य रूपमा अहिलेसम्म प्राप्त भएका उपलब्धिहरूको रक्षाका लागि हो,” सचिव शाहले नेपालभ्युजसँग भने ।

अर्का सचिव राम कार्कीको भनाइ पनि यही छ । चुनावबारे थप निर्णय अहिल्यै नहुने उल्लेख गर्दै उनले भने, “बाहिर केही त भन्नैपर्‍यो नि । तर, चुनावबारे थप निर्णय अहिल्यै हुँदैन । चुनाव आउन अझै कति छ कति । तर, समाजवादी मोर्चाचाहिँ चुनावका लागि होइन ।”

एक्लै चुनाव लड्ने निर्णय ‘साइकोलोजिकल ट्रीटमेन्ट’

राजनीतिक विश्लेषकहरू भने २०८४ को चुनाव माओवादीले एक्लै लड्नेमा विश्वास गर्दैनन् । उनीहरू यसलाई माओवादीले आफ्ना कार्यकर्ताको ‘साइकोलोजिकल ट्रीटमेन्ट’ गरेको रूपमा बुझ्छन् ।

चुनाव हुन लामो समय बाँकी नै रहेको र यसबीचमा जस्तो पनि अवस्था बन्न सक्ने भन्दै राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, “यो कार्यकर्ताहरूलाई ‘साइकोलोजिकल ट्रीटमेन्ट’ हो जस्तो देखिन्छ । माओवादीले त्यो आँट गर्छ जस्तो लाग्दैन । फेरि कम्युनिष्ट नेता र पार्टीहरू के-कस्तो निर्णय लिन्छन् भन्ने नै थाहा पाउन कठिन छ ।”

अगाडि उनी भन्छन्, “चुनाव हुन अझै झन्डै ४ वर्ष नै बाँकी छ । यसबीचमा कस्तोखाले सिनारियो देखिन्छ, त्यसले चुनावमा कस्तो प्रभाव पार्छ । त्यसले पनि चुनावलाई असर गर्ला ।”

अर्का राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले पनि २०८४ को चुनाव माओवादी एक्लैले लड्नेमा विश्वास गर्दैनन् । उनी भन्छन्, “कार्यकर्तामा उत्साह थपियोस् भनेर रणनीतिक निर्णय गर्न खोजेको जस्तो देखिन्छ । मलाई माओवादी एक्लैले चुनाव लड्छ जस्तो लाग्दैन ।”

सिद्धान्तत: माओवादीले एक्लै चुनाव लड्ने निर्णय गर्नु सकारात्मक मान्छन् विश्लेषक शर्मा । “सिद्धान्तत: त राम्रो हो माओवादीको निर्णय तर, चुनावसम्म यो टिक्छ कि टिक्दैन, मुख्य कुरा त्यहाँ हो । चुनावपूर्वको गठबन्धन बन्नु हुँदैन । यस अर्थमा यो निर्णय राम्रो हो,” उनले भने ।

आगामी दिनमा माओवादी थप कमजोर बन्दै जाने र अर्को चुनावसम्म एक्लै लडे पनि गठबन्धन नै गरे पनि उसको सिट सङ्ख्या पनि घट्ने विश्लेषण वाग्लेको छ । “अब नयाँ मान्छेहरू माओवादी बन्दैनन् । बरु उसको राजनीतिक शक्ति घट्दै जाने देखिन्छ । यस्तो अवस्थामा चुनावमा एक्लै लड्ने आँट गर्छ जस्तो लाग्दैन,” उनले भने ।

***

जे होस्, माओवादीमाथि एक्लै चुनाव लड्नुपर्ने दबाब सानो भने छैन । खासगरी पार्टीभित्रका युवापङ्क्ति र समर्थक-शुभेच्छुकहरूले माओवादीले यसमा आँट गर्नुपर्ने दोहोर्‍याउँदै आएका छन् ।

अझ पछिल्लोपटक ९ वर्षपछि प्रतिपक्षी बेञ्चमा पुगेपछि माओवादीमाथि यो दबाब झन् बढेको छ । थाहा छैन, माओवादीले यो दबाबलाई थेग्न मात्रै यस्तो निर्णय गर्‍यो वा कार्यान्वयनका लागि । त्यो पछि देखिएला नै । तर, माओवादी नेताहरूले भनेजस्तो पार्टी भने यथास्थितिमै रमाएर बन्नेवाला देखिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved