जनकपुरधाम । जनकपुरधाम सहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नव विवाहिता महिलाहरुले वैवाहिक जीवन जिउने पाठ सिक्ने प्रचलन छ ।
मिथिलाञ्चलका नव बिवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी ब्रत सुरु गरेका छन् । साउन महिनाको मौना पञ्चमी तिथीदेखि शुरू हुने मधुश्रावणी ब्रत १५ दिन सम्म चल्ने गर्छ ।
देव,ब्राह्मण,कर्ण तथा सोनार जातका नव बिवाहिता महिला समिति रहेको यस पर्व अहिले सबै जातजातीका नवविवाहिताहरुले अखण्ड शौभाग्यवती, पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै मिथिलाञ्चलमा ‘मधुश्रावणी’ पर्व मनाउने गरेको जनकपुरधाम किशोरी टोलकी ज्योती देवी झाले जानकारी दिइन् ।
मिथिला संस्कार र परम्परा अनुसार नव–विवाहित मैथिल महिलाहरुका लागि ‘मधुश्रावणी’ महत्वपूर्ण पर्व मध्ये एक हो । यो व्रत श्रावण शुक्ल तृतीया तिथिसम्म मनाउने गरिन्छ ।
पर्वको एक दिन पहिले नव–विवाहित महिलाहरुको विहे भएको घरबाट आएको नयाँ लुगा, नाग–नागिन, नाग नागिन पुजा गर्नका लागि फूल चढाउन र ब्रतालु महिलाका खानकालागि फल,चना, चामल गौर गढेर पठाउने चलन रहेको झाको भनाइ छ ।
ब्रतको अघिल्लो दिन ब्रतालु महिला विहानै नुहाई धुवाई गरेपछि लसुन प्याज, माछा, मासु नुन बारेर शुद्ध चोखो खान्छन् । त्यसदिनलाई मैथिली भाषामा नहाईखाइ भन्ने चलन छ ।
व्रत भरि हरेक दिन नव–विवाहिता महिलाले साथीसंगीसँग साँझको समयमा आफ्नो घर–आँगन तथा गाउँभरि रहेका फुल र फुलको पातहरु, दुबो, पान, बेलको पात लगायत ल्याउने अनि साँझमा ल्याएको फुल त्यसको भोलिपल्ट देवी देवता लगायत शिव पार्वतीको गीत, कथा सुनेर त्यहि फुल माता गौरी तथा विषहाराको पूजामा चढाउँने गर्छन् ।
मधुश्रावणी व्रतमा राजा दक्षका छोरीका बारेमा चर्चा गर्नुका साथै, भगवान शिव लगायत नाग–नागिनको समेत कथा सुन्ने चलन रहेको पण्डित लालबाबु झाले बताए ।
नवविवाहिता महिलाहरुले सामाजिक सांस्कृतिक परम्परामा आधारित ‘मधुश्रावणी’ पर्व नव–वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइने गरीन्छ ।
बर्षा ऋतुमा सर्पको आगमन हुने भएकोले उनीहरूको सम्मानका लागि नाग–नागिनको साथै शिव–पार्वतीको पूजा गर्ने चलन रहेको मिथिला नगरपालिका ६ कि पुनम झाले बताइन् ।
नारी जीवनमा पतिप्रतिको स्नेह, सौहाद्रतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पका वंशको बारेमा चर्चित कथाहरुले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास रहेको महेन्द्रनगर धनुषाकी गीतादेवी झाले बताइन् ।
तृतीया तिथिको दिन तथा अन्तिम दिनलाई मधुश्रावणी भनिन्छ । त्यसदिन फेरी महिलाको विहे भएको घर पक्षबाट ब्रतालु महिलाको लागि खाने देखी लिएर लगाउने लुगा समेत पठाउने चलन छ ।
मिथिलामा चाडपर्व र संस्कृतिको बिशेष महत्व रहेको छ । ज्ञान र बिद्याको रूपमा परिचित थलो मिथिलमा महिलाको स्थान उच्च रहदै आएको छ ।
मिथिलाको पोखरीको माछा र मखान प्रसिद्ध छ । मिथिलाको चाँडपर्व बैज्ञानिक देखिन्छ । प्रत्येक चाडपर्वले कुनै न कुनै सन्देश दिएको छ । नेपाल र भारतमा मनाईने मधुश्रावणी पुजालाई कतै हरियाली तिज, श्रावणी द्वितीया भन्ने पनि चलन छ ।
यस ब्रतमा चढाईने वेलपात,मानको पात, धानको लावा,गाईको दूध,फलफुल,खीर लगायत अधिकांश सामाग्री प्रकृति संग जोडिएकोले यस पर्वले प्रकृतिको संरक्षण कसरी गर्नुपर्छ भन्ने पाठ समेत सिकाएको छ ।
हिन्दु धर्मामलम्बिले गर्ने हरेक पुजामा पुरूष पुरोहितले पुजा गरेपनि यस पुजामा महिलाको मात्र सहभागिता रहने गरेकोले व्रतको आफ्नै महत्व र विशेषता रहेको मैथिलीका साहित्यकार राम भरोस कापडी बताउँछन् ।
महिलाले पुजा गर्ने,कथा भन्ने,गीत गाउँने, फुल टिप्ने सबै महिला नै रहेकोले यो पर्वमा महिलालाई पुरूषभन्दा अग्र स्थानमा राखेको सन्देश दिएको साहित्यकार कापडीको भनाइ छ ।
नव बिबाहिता ब्रतालु एक महिला महेन्द्रनगर धनुषाकी ममता साहका अनुसार यस ब्रतमा भनिने कथा र गीतले नवविवाहिता महिलाले आफ्नो बैबाहिक जीवनलाई कसरी सहजरूपले अगाडि बढाउने भन्ने सन्देश दिएको महशुस भएको छ ।
यो हाम्रो संस्कृति र रितिरिवाज भएको र विवाहको पहिलो वर्ष मात्र विधिवत मनाउने भएकोले यसको आनन्द सबैले नवविवाहिता महिलाले लिनुपर्ने उनको भनाई छ ।
यस जगतमा शिव परिवारलाई आदर्श परिवार मानिन्छ । त्यसैले नवदम्पतीले आफ्नो जीवनको शुभारम्भ शिव परिवारलाई साक्षी मानेर यसैको अनुसरण गर्ने प्रण लिएर गृहस्थ जीवनमा प्रवेश गर्छन् ।
पूजा सामग्री
कपडा, शृंगारका सामान, पूजाका सामग्रीको व्यवस्था र पवनैतिन (पूजा गर्ने नवविवाहिता) को भोजनका वस्तुहरू पनि ससुराली (पतिको घर) बाटै आउँछ । मधुश्रावणी पर्वको पहिलो दिन तथा अन्तिम दिन विधिविधानसहित नवविवाहिता वधुहरूले पूजा र अनुष्ठान गर्दै देवी पार्वती (गौरी), सूर्य, चन्द्र, नवग्रह, नागको विधिवत पूजा गर्छन् ।
मधुश्रावणीको अन्तिम दिन अर्थात् श्रावण शुक्ल तृतीयाको दिन नवविवाहिता वधुको ससुरालीबाट पूजन सामग्रीका साथै पकवान र नववस्त्र उपहार आउँछ, सोही पूजन सामग्रीबाट पूजा समापन गरिन्छ ।
पूजाको अन्त्यमा महिलालाई प्रसादस्वरूप गुलियो खान दिइने गरिन्छ ।
यस पर्वमा हरेक दिन पूजाको अघिल्लो दिन नै साँझपख फूल, पात आदि एकत्रित गरेर बाँसको डालामा सजाइने गरिन्छ । त्यही फूलपातले भगवान् भोलेनाथ, माता गौरी तथा नागवंश वा विषहारा पूजा–अर्चना गरिन्छ ।
भनिन्छ, माता विषहरा देवादिदेव शिवका पुत्री हुन्, त्यसैले १३ दिनसम्म शिव–पार्वतीको साथै माता विषहराको माटोको स्वरूपको पूजा गरिन्छ र शिव–पार्वतीको जीवन चरित्रको साथै माता विषहराको जन्म र मानव जीवनमा त्यसको महत्त्वको कथाको रूपमा सुनिन्छ ।
मधुश्रावणी पूजाका लागि चाहिने विशेष सामग्रीमा दुबो, काँचो बेसार, धनिया, सरवा, पानक पात, सुपारी, सिंदूरक गद्दी, लाल कपडा, माटोको पाँचवटा विषहारा, पाँचवटा मैना पात, पाँचवटा केराको पात, काजल, पिठार (चामलको पिठोको घोल), श्रीखण्ड चन्दन, पुरहैर, पातिल, धान, गाईको दूध, लाबा, फूल, नीमको पात, कागरी, आदि छन् ।
त्यसैगरी नैवेद्यका लागि चोखो चामल, चिउरा, चिनी, आँप, कटहर, केरा, अंकुरित चना वा मुँग आवश्यक हुन्छ ।
बासी फूलले पूजा गर्ने परम्परा
यस पर्वमा मिथिलाका नवविवाहिताहरूले आफ्नो सौभाग्यको दीर्घायुका लागि बासी फूलले माता गौरी तथा विषहाराको पूजा गर्छन् ।
यस पर्वको अवधिमा मिथिलाका नवविवाहिता महिलाहरू पूजाको अघिल्लो दिन आफ्ना सखी–सहेलीहरूसँगै पारम्परिक लोकगीत गाउँदै शृंगारसहित सजिएर फूलको बगैँचाबाट विभिन्न प्रकारका फूलपातलाई बाँसको डालोमा सजाएर ल्याउँछन् । प्रत्येक दिन बिहान आफ्नो पतिको लामो आयुको कामना गर्दै त्यसै फूलपातले माता पार्वतीको साथै विषहाराको पूजा गर्ने गर्छन् ।
प्रत्येक दिन पूजापश्चात् महिला पुरोहितले मधुश्रावणी व्रतको कथा सुनाउँछन् । मधुश्रावणी व्रत कथामा प्रत्येक दिनको छुट्टाछुट्टै १३ वटा कथा छन् ।
पहिलो दिन मौना पञ्चमी र विषहराको जन्मको कथा, दोस्रो दिन बिहुला र मनसाको कथा, विषहरा र मंगला गौरीको कथा, तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथा, चौथो दिन सतीको कथा र पतिव्रताको कथा, पाँचौँ दिन महादेवको पारिवारिक कथा सुनाइन्छ ।
यस्तै, छैटौँ दिन गंगाको कथा, गौरीको जन्म कथा, काम–दहन कथा, सातौँ दिन गौरीको तपस्या, आठौँ दिन गौरीको विवाह वर–तथा–बरियाती, नवौँ दिन मैनाको मोह, गौरीको विवाह, १०औँ दिन कार्तिकको जन्म कथा, गणेशको जन्म र गौरीको नागको कथा, ११औँ दिन सन्ध्याको विवाह र लिलीको जन्म कथा, लिलीको विवाह कथा, १२औँ दिन बाल–वसन्त र गोसाउनको कथा र १३औँ अर्थात् अन्तिम दिन श्रीकर राजाको कथा सुनाइन्छ ।
श्रावण महिना आएलगत्तै मिथिलाञ्चलमा लोकसंस्कृतिले भरिएका मधुश्रावणीका गीत समेत गुञ्जिन थालेको छ । यस पर्वमा माटोको मूर्ति, विषहर, गौर बनाइन्छ ।
नवविवाहिता महिलाहरू मधुश्रावणी अवधिमा चोखो भोजन ग्रहण गर्छन् ।
यस अवधिमा नवविवाहिताहरू व्रत बसी श्री गणेश, माटो र गोबरबाट बनाइएका विषहरा एवं गौरी–शंकरको विशेष पूजा गर्छन् ।
मधुश्रावणी व्रतको सुरु र अन्तिम दिनमा व्रतालुद्वारा समाज र परिवारका महिला सदस्यहरूलाई अंकुरित चना, मुंग प्रसादको रूपमा बाँड्ने परम्परा समेत रहेको छ ।
व्रतालु महिलाहरू पूजाको समयमा गोसाउनको गीत तथा मधुश्रावणी पर्वसँग सम्बन्धित गीतहरू गाउँछन् र साँझको समयमा कोहबर गीत तथा साँझ गीत गाउने परम्परा रहेको छ ।
पर्वको अन्तिम दिन टेमी दाग्ने (नवविवाहित वधुको दुईवटै घुँडा र खुट्टामा बलिरहेको बातीले दाग्ने) परम्परा छ । जुन व्रतालुको दुइटै घुँडामा फोका उठ्छ, उसको पतिको आयु लामो हुने जनविश्वास समेत छ ।
गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र विषधर नागलाई वंश समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद् बताउँछन् ।
गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन, मनकामना पूर्ण गर्ने देवी पनि हुन् । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।
मधुश्रावणी पर्वमा कतिपय कथा शिव–पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास छ ।
साउनमा जो कसैले नाग देवताको पूजा गर्छन्, उसलाई सर्पबाट भय हुँदैन भन्ने धार्मिक विश्वार समेत रहेको पाइन्छ ।
यसै कारणले मधुश्रावणी पर्वमा विषहराको विशेष पूजा गरिन्छ ।
Facebook Comment
Comment