सौर्यको दशकदेखिको अथक उडानमा विश्राम, जहाज भएर पनि व्यवस्थापक र प्राविधिक गुमाउँदा सेवा बन्द
आन्तरिक उडानमा लाइफलाइन बनेको एअरलाइन्सको सेवा बन्द हुँदा देशकै अर्थतन्त्रमा ठूलो धक्का
आर्थिक संकटका बीचमा पनि यात्रुको सेवाको निम्ति निरन्तर उडिरहेको सौर्यको जहाज बुधबार दुर्घटनामा परेपछि अरू जहाज पनि उड्न रोकिएका छन् । आन्तरिक उडानमा लाइफलाइन बनेको सौर्यको उडान बन्द हुँदा कम्पनी मात्र नभई देशकै अर्थतन्त्रमा ठुलो धक्का लाग्ने देखिन्छ ।
काठमाडौं । दशकौं अगाडि डिजाइन गरिएको काठमाडौंको त्रिभुवन विमानस्थलको संरचनाले पछिल्लो बजारलाई धान्नै नसक्ने अवस्था भयो । जब हवाई बजार बढ्दै गयो तब साँघुरो संरचनाको असर समयमै उडान नहुनेलगायतका समस्या बढ्दै गयो ।
सबैभन्दा छिटो गन्तव्यमा पुग्ने माध्य हवाई यात्रा भए पनि विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, पार्किङ वे र टर्मिनल साँघुरा बन्दै गएपछि उडान डिले हुने भयो ।
जसले गर्दा यात्रुको लागि गन्तव्य समय केही पर धकेलियो । अझ बादलको सहतबाट विमान उड्दा असुरक्षित हुने तथा यात्रुको लागि डर लाग्ने छँदै थियो ।
यात्रुका यी तमाम समस्या समाधान गर्न भन्दै एक दशअघि २०७१ (सन् २०१४)मा एउटा हवाई कम्पनी खुल्यो, सौर्य एअरलाइन्स ।
जसले यात्रुलाई सबैभन्दा छिटो गन्तव्यमा पुर्याउन जेट र र टर्बोप्रप इन्जिनयुक्त जहाज नेपाल भित्रायो । सामान्यतया २० हजार फिटसम्म बादल हुन्छ ।
जेट इन्जिनयुक्त जहाज ४१ हजार फिट उचाइसम्म उड्न सक्थ्यो । जसकारण जहाज हल्लिने समस्या कम हुन्थ्यो ।
एक जहाजबाट उडान सुरु गरेको सौर्य एयरलाइन्सले सात वर्षमा ३ वटा जहाज पुर्याइसकेको थियो । सौर्यले चाडपर्वको समयमा दैनिक १५ वटासम्म उडान गरेको थियो ।
सौर्यको जहाज सीआरजे जहाज जेट इन्जिन भएकाले अन्यको तुलनामा छिटो उड्थ्यो । काठमाडौंबाट धनगढी जान सौर्यका जेट इन्जिन भएका विमानबाट ५० मिनेटमै पुग्थ्यो । अरू कम्पनीका एटीआरले सोही गन्तव्यमा १ घण्टा १० मिनेट लगाउँथ्यो ।
एटीआर जहाजको तुलनामा सीआरजे जहाजको इन्जिन पावरफुल हुने हुँदा जहाजले उचाइ पनि छिटै लिन सक्थ्यो । नेपालको आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवामध्ये सर्वाधिक छिटो गन्तव्यमा पुर्याउनेमा सौर्य एअरको नाम अग्रपंक्तिमा आउँछ ।
अथक यात्रामा विश्राम
यात्रुलाई अरूभन्दा छिटो गन्तव्यमा पुर्याउँदै आएको सोही सौर्य एअरलाइन्सको जहाज दुर्घटना परेपछि एक दशक यताको अथक यात्रामा विश्राम लागेको छ ।
पछिल्लो समय आर्थिक संकटका बीचमा पनि यात्रुको सेवाको निम्ति निरन्तर उडिरहेको सौर्यको जहाज बुधबार दुर्घटनामा परेपछि अरू जहाज पनि उड्न रोकिएका छन् ।
आज नेपालको आन्तरिक उडानमा लाइफलाइन बनेको सौर्यको उडान बन्द हुँदा कम्पनी मात्र नभई देशकै अर्थतन्त्रमा ठुलो धक्का लाग्ने देखिन्छ ।
सौर्यले एअरलाईन्स राष्ट्रिय सम्पत्ति भइसकेको छ । जसले लोडरदेखि पाइलटसम्मलाई वार्षिक वार्षिक करोडौँ रुपैयाँ तलबमा मात्रै खर्च गर्थ्यो । राज्यलाई उत्तिकै कर बुझाउँथ्यो । तर, अहिले सेवा बन्द भएपछि यसको प्रभाव सबैतिर पर्ने देखिन्छ ।
तस्वीर – नेपाल प्रहरी
उसँग बाँकी २ वटा अरू जहाज पनि छन् । तर, जहाज भएर मात्र के गर्नु, उडाउने प्राविधिक क्षमता नभएपछि । अर्काेतिर आर्थिक अभाव चुलिएको अवस्थामा दुर्घटनाले थप आर्थिक क्षति बढाएको छ ।
लामो अनुभव भएका १६ जना दक्ष जनशक्ति बुधबारको दुर्घटनामा सौर्यले गुमाएको छ । जसमा एकजना क्याप्टेन मनिषरत्न शाक्य बाहेक चारजना व्यवस्थापन ‘सेट’नै गुमायो ।
अरू प्राविधिक तथा इन्जिनियर पनि बच्न सकेनन् । कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमायो ।
दुर्घटनामा परि प्रतिष्ठित विज्ञहरूको असाधारण क्षति भएपछि आर्थिक संकटबाट गुज्रिरहेको एअरलाइन्सलाई थप चोट पुगेको छ । अहिले जहाजसँगै जनशक्ति पनि गुमाएकाले तत्काल उठ्न निकै चुनौतीपूर्ण देखिन्छ ।
०००
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुर्घटनाअघि सौर्यले दैनिक ६ वटा उडान गरिरहेको थियो । उसका तीनवटा जहाजमध्ये १ वटा ह्याङगरमा थियो ।
आर्थिक अवस्थाकै कारणले मर्मत सम्पन्न भइसकेको थिएन । २ वटा जहाज उडिरहेका थिए । दुई जहाजले विराटनगर र चन्द्रगढीमा ३\३ उडान गरिरहेको थियो ।
बुधबार ‘९एन एएमई’ जहाज दुर्घटनापछि सौर्यसँग तत्काल उडान भर्ने क्षमताका २ वटा जहाज छन् । ‘९ एन–एएलई’ जहाज सामान्य मर्मतपछि चलाउन सकिन्छ भने अर्काे ‘९एन एएनएम’जहाज उडान गर्न सक्ने अवस्थामा छ ।
तर, दुर्घटनामा कम्पनीका ४ प्राविधिक क्षेत्र हेर्ने व्यवस्थापककै मृत्यु भए पनि तत्काल उडान सम्भव छैन । दुर्घटनामा सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युइङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विनकुमार निरौला अस्ताए ।
सौर्यको दुर्घटना भएको जहाज
जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल र क्वालिटी एस्युअरेन्स प्रमुख दिलिप बर्माले पनि ज्यान गुमाए । दुर्घटनामा परे पनि भाग्यले बाँच्न सफल अपरेसन डाइरेक्टर क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भुल भन्छन्, ‘‘सौर्यसँग तत्काल उड्ने जहाज एकवटा छ । अर्काे जहाज ह्याङगरमै छ । एउटा जहाज उड्नसक्ने हुँदाहुँदै पनि उसले सेवा बन्द गरेको छ । प्राविधिक नै दुर्घटनामा परेकाले उडान बन्द गरेको बताएको छ ।’’
अर्को निर्णय नभएसम्म काठमाडौंबाट भद्रपुर र विराटनगरका लागि गर्दै आएको व्यावसायिक उडान स्थगन गरिएको सौर्यका मार्केटिङ प्रमुख मुकेश खनाल बताउँछन् ।
अथक उडानको एक दशक
सन् २०१४ मा (२०७१ चैत) स्थापनासँगै पहिलो जहाजको रूपमा सौर्यले सीआरजे २०० सिरिजकै ‘९ एन–एएलई अर्थात् ‘लिमा’ जहाजबाट उडान सुरु गरेको थियो । सोसँगै विराटनगरबाट माउन्टेन फ्लाइट र नियमित उडान गरेको थियो । (हाल ग्राउन्डेड)
सन् २०१५ मा भद्रपुरको चन्द्रगढी र नेपालगन्ज विमानस्थलमा नियमित उडान थालेको सौर्यले एक वर्षमै ९० हजार २०५ यात्रुलाई सेवा दिँदै आएको थियो । त्यो दायरा फराकिलो बनाउन उसले २०१७ मा नयाँ जहाज ‘९एन एएमई’ थपेको थियो । सोही जहाज अहिले दुर्घटना भएर ध्वस्त भएको हो ।
२०१७ मा सौर्यले ‘९एन एएमई’ थप गरेसँगै भैरहवा र धनगढीमा उडान सुरु गरेको थियो । कम्पनीले फेरि सन् २०२० मा तेस्रो जहाज थप्यो ।
‘९एन एएनएम’ कलसाइनको अर्को जहाज (हाल चल्न सक्ने भएर पनि सेवा बन्द भएको) थप गरी ३ वटा पुर्याएको थियो ।
त्यसपछि कम्पनीले सन् २०२१ बाट भैरहवा–विराटनगर–भैरहवा उडान गरेको थियो । सन् २०२३ को नयाँ वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । त्यहाँ सौर्यले उडान सुरु गरे पनि प्राविधिक कारणले उडान नियमित गर्न भने सकेन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सीआरजे ‘९एन एएमई’ जहाज ३५ दिनपछि उडेको थियो ।
मुख्य ‘ल्यान्डिङ गियर’ फेर्नुपर्ने समय भएकाले उक्त जहाजलाई असार ४ (१८ जुन) पछि उडाइएको थिएन । ‘ल्यान्डिङ गियर’ फेरेपछि थप मर्मतका लागि जहाज बुधबार पोखरा उड्दै थियो ।
०००
कोरोना महामारीको असर समग्र अर्थतन्त्रमा पर्यो । सबैभन्दा बढी हवाई क्षेत्रमा असर भयो । लामो समय सेवा बन्द रहे । एकातिर विमानस्थलको कर, कर्मचारी खर्च, वायुसेवा शुल्क, पार्किङ खर्च बढिरहेको थियो ।
सेवा बन्द हुँदा आम्दानी शून्य भयो । जसकारण सौर्य एअरलाइन्समा सन् २०२० मा (चारवर्षअघि) ठुलो आर्थिक संकट आइलाग्यो । सेवा नै रोक्नुपर्ने अवस्था आयो । पुरानो लगानी डुब्ने अवस्था आएपछि उसले लगानी खोज्यो ।
कम्पनीले भारतको कुवेर ग्रुपको ४९ प्रतिशत सेयर ल्यायो । त्यो बेलामा कुबेर ग्रुपले ५६ लाख डलरमा ४९ प्रतिशत सेयर खरिद गरेको थियो ।
वर्षदिनमा थप २ वटा जहाज थप्यो । पुरानो एक गरी तीनवटा जहाज चलायो । त्यसपछि सौर्यले व्यावसायिक सफलता हासिल गर्न उचाइ लिँदै थियो ।
सुरक्षा र सुविधा बढी खर्च पनि बढी
सौर्यको विशेषता छिटो गन्तव्यमा पुग्ने र बढी उचाइ पुग्ने हो । यसले यात्रुको सुविधाका हिसाबले सहज भए पनि जहाजमा सञ्चालन खर्च बढी हुन्छ । अझ ५० सिटे जहाज चलाउँदा खर्च धान्न झनै अप्ठ्यारो पर्यो ।
अरूले ७० सीटे जहाज चलाउँदाको खर्चभन्दा सौर्यले ५० सीटे जहाज चलाउँदाको खर्च बढी हुन्थ्यो । तर, आम्दानी भने काम हुन्थ्यो । जसले गर्दा नाफा कम हुन्थ्यो ।
सौर्यका एक अधिकारी भन्छन्, ‘‘भाडादर एउटै भएकाले हाम्रो सीआरजे २०० सञ्चालनको खर्च अत्यधिक छ । यात्रु पनि कम बोक्छ । अर्काे एटिआरले यात्रु धेरै बोक्न तर खर्च पनि कम हुन्छ । यसैले ५० सिटे जेट जहाजले एटीआरसँग प्रतिस्पर्धा गर्नै गाह्रो छ ।’’
एटीआरमा खर्च कम र आम्दानी बढी हुने भएकाले सौर्यले एटीआर जहाज ल्याउने योजना बनाएको थियो । नेपालमा बुद्ध एअर र यति एअरले एटीआर ७२ चलाइरहेका छन् ।
पोखरा र चितवनको लागि बुद्धसँग एटीआर ४२ पनि छ । तर, सौर्यको लागि एटीआर जहाज ल्याउनका लागि भारतीय कम्पनी कुबेर लगानी गर्नबाट पछि हट्यो ।
एकदर्जन व्यवसायीले संयुक्तरुपमा लगानी गरी २०७१ सालबाट सौर्य एयरलाइन्सले उडान थालेको थियो । एयरलाइन्समा दीपक पोखरेल अध्यक्ष छन् भने गोपाल भट्टराई महाप्रबन्धक छन् ।
दुर्घटनापछि कम्पनीका अध्यक्ष दीपक कुमार पोखरेलले विज्ञप्ति जारी गर्दै कम्पनीको लागि मात्र नभई देशकैलागि क्षति पुगेको बताएको छ । कम्पनीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी ‘‘यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको’’ बताएको छ ।
Facebook Comment
Comment