सौर्य दुर्घटना: मर्मतको लागि उडेको जहाजले किन बोक्यो यात्रु ? कस्तो हो जहाज र के हो ‘सी-चेक’ ?

विशेष उडान विमानको आफ्नै जाँचको लागि पोखरा जाने क्रममा थियो । कम्पनीकै १६ जनाको ज्यान गएपछि सौर्य एअरलाइन्स शोकमामात्र मात्र डुबेको छैन दक्ष जनशक्तितर्फ भयानक क्षतिको सामना गर्न बाध्य भएको छ ।

सौर्य दुर्घटना: मर्मतको लागि उडेको जहाजले किन बोक्यो यात्रु ? कस्तो हो जहाज र के हो ‘सी-चेक’ ?

काठमाडौं । विमानको सम्पूर्ण मर्मत (सी चेक) गर्न पोखरा जान लागेको सौर्य एअरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ ।

आफ्नै जाँचको लागि पोखरा जान लागेको ‘९ एन–एएमई’को विशेष उडान दुर्घटना हुँदा क्याप्टेन मनिष शाक्य एक जना मात्रै जीवितै रहे पनि बाँकी सबैको ज्यान गयो ।

मृतक १८ जनामध्ये १६ जना एअरलाइन्सकै प्राविधिक तथा कर्मचारी थिए । बाँकी २ जना पनि एक प्राविधिकका पत्नी र छोरा थिए ।

जहाज दुर्घटनामा मृत्यु हुनेमा सोही एअरलाइन्स व्यवस्थापन समूहका ५ जना हुन् भने एक दर्जन दक्ष इन्जिनियर रहेका छन् । घाइते पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।

कम्पनीकै १६ जनाको ज्यान गएपछि सौर्य एअरलाइन्स शोकमा डुबेको मात्र छैन, दक्ष जनशक्तितर्फ भयानक क्षतिको सामना गर्न बाध्य भएको छ ।

सौर्यको जहाज दुर्घटनापछि

किन पोखरा नै जानुपर्ने ?

सौर्य एअरलाइन्सको यो विशेष उडान विमानको आफ्नै जाँचको लागि पोखरा जाने क्रममा थियो । काठमाडौंमा पनि गर्न सकिन्थ्यो । तर, यसलाई लामो समय ह्याङ्गरमा राख्नुपर्ने भएकाले ठाउँ थिएन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर खाली रहेको कारण र त्रिभुवन विमानस्थलमा भएको नियमित मर्मतको व्यस्तताका कारण सौर्य एअरलाइन्सको जहाज पोखरा जान लागेको थियो ।

पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरका अनुसार सौर्य एअरलाइन्सले नियमित मर्मत सम्भारका लागि २४ जुलाई अर्थात् आजदेखि एक महिनालाई ‘ह्याङ्गर’ मागेको थियो ।

उनले भने, ‘‘काठमाडौंमा भएको ‘ह्याङ्गर’ व्यस्त रहेकाले सौर्यले २४ जुलाईदेखि ‘ह्याङ्गर’ उपलब्ध गराइदिन भनेर निवेदन दिएको थियो । सोही अनुसार उसले सबै प्रक्रिया पुरा गरेपछि जहाज परीक्षणको लागि आउँदै थियो ।’’

विमान दुर्घटनामा ज्यान गुमाएका व्यवस्थापक तथा सिनियर इन्जिनियरहरू

तर, दुर्भाग्यवश विमान काठमाडौंमै दुर्घटनाग्रस्त भयो । नेपालमा नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल, र नेपालगन्जमा ह्याङ्गरको सुविधा छ, जहाँ जहाजहरूको निरीक्षण र मर्मत सम्भार गरिन्छ ।

बुद्ध, यतीलगायत धेरै जहाज भएका कम्पनीका भने आफ्नै ह्याङगर छन् । उनीहरूले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी ‘ह्याङ्गर’ बनाएका छन् । त्यहाँ प्राधिकरणको ‘ह्याङ्गर’ भने छैन ।

शोकमा सौर्य एअरलाइन्स : गुमायो व्यवस्थापन समूहका चारसहित दर्जन दक्ष प्राविधिक र इन्जिनियर

के हो ‘सी चेक?’

इङल्याण्डमा रहेको ‘नेशनल एभियसन एकेडेमी’का अनुसार जहाजलाई सुरक्षित र उडानयोग्य राख्नको लागि ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ चेक गरिन्छ । यसरी सबै चेक निर्धारित समयमा गर्नुपर्छ । सबै चेकको आफ्नै उद्देश्य छ ।

‘नेशनल एभियसन एकेडेमी’ एक उड्डयन मर्मतसम्भार गर्ने र सिकाउने विद्यालय हो । जसले सन् १९३२ देखि प्राविधिकहरूलाई प्रशिक्षण दिइरहेको छ । त्यहाँ पढिसिकेका धेरै इन्जिनियर तथा प्राविधिकहरू विश्वभरका एअरलाइन्समा काम गर्छन् ।

‘नेशनल एभियसन एकेडेमी’का अनुसार ‘ए चेक’ लगभग हरेक ४ सयदेखि ६ सय घण्टा जहाज उडेपछि गरिन्छ । यो जाँच गर्न न्यूनतम १० घण्टा लाग्छ ।

जहाजको ‘सी चेक’ गरिँदै गर्दाको अवस्था (अरू कुनै जहाजको) फोटो-एभियसन फर एभियसन

यस्तै, उड्डयन सुरक्षा अनुसार हरेक ६ देखि आठ महिनासम्मको बीचमा ‘बी चेक’ गर्नुपर्ने हुन्छ । यो परिक्षणको लागि जहाज अनुसार तीन/चार दिनसम्म लाग्न सक्छ ।

‘बी चेक’ चेकको समयमा पूरा हुने सामान्य कामहरू ल्यान्डिङ गियर, टर्किङ जाँच गर्ने वा अवस्था, क्षय र तरल पदार्थ चुहावटको लागि व्हील वेल हाइड्रोलिक ट्युबिङ निरीक्षण गर्ने जस्ता कार्यहरू हुन्छन् ।

सौर्य एयरलाइन्स दुर्घटना : छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज

‘सी चेक’ अर्थात् व्यापक जाँच

‘सी चेक’ एक व्यापक जाँच तथा मर्मत हो । ‘सी चेक’ एअरक्राफ्ट अनुसार १८ देखि २४ महिनामा गरिरहनुपर्छ । यो जाँच एअरक्राफ्टमा समस्या आएपछि गरिने होइन ।

यसैले ठीकठाक अवस्थाको सौर्यको ‘९ एन–एएमई’ विमान नियमित मर्मतको लागि जाँदै थियो । यदि समयमै यो जाँच नभए नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिँदैन ।

समस्या नआए पनि अघिल्लो पटक ‘सी चेक’ गरेको समयको १८ देखि २४ महिना पुरा भएपछि गर्ने जाँच हो यो ।

यो जाँचमा विमानको सबै कम्पोनेन्ट, प्रणाली र संरचनाहरूको विस्तृत निरीक्षण गरिन्छ । यो जाँच विमानको सबै इन्जिनसहितका संरचनाको खोलेर चेक जाँच हुने हुनाले विमानलाई सेवाबाट बाहिर राख्नुपर्छ । प्राविधिकको जनशक्ति अनुसार यो जाँच सामान्यतया एकदेखि चार हप्तासम्ममा यो काम सकिन्छ ।

सी चेकको समयमा, प्राविधिकहरूले विमानको भित्री भागको पार्टपुर्जाको सूक्ष्म मर्मत गर्ने प्रक्रिया हो । यस क्रममा विमानका वायर, प्रणाली, संरचना, बाहिरी भाग, पाङ्ग्रा, ब्रेक, इन्जिन, ल्यान्डिङ गियर, र सबै विद्युतीय प्रणालीको निरीक्षण गरिन्छ ।

जहाज दुर्घटनापछि क्याप्टेन मनिस शाक्यको उद्धार गरिँदै

सी चेक गर्नुको कारण भनेको सबै कम्पोनेन्टहरू राम्रो अवस्थामा छन् वा छैनन् भनेर सुनिश्चित गर्नु हो । यसैले जाँच गर्नुको साथै आवश्यक मर्मत र सामान परिवर्तन गरिन्छ ।

यसैले जहाज नर्मल कन्डिसनमै रहेकै कारण बुधबार विमान उडाइएको थियो । जहाँ सोही जहाज मर्मत गर्ने कामका लागि इन्जिनियरिङ टिम जाँदै थियो । अरू समयमा पनि यस्तै गरिन्छ । अझ पोखरामा सौर्यको नियमित उडान थिएन । यदि उडान थियो भने सो विमानमा अरू यात्रु पनि हुने थिए ।

यस्तो छ सौर्य एयरलाइन्सको दुर्घटनास्थल (तस्वीरहरू)

अन्तमा ‘डी चेक’

अन्तमा, भारी उडानपछि र धेरै लामो समयको अन्तरालमा ‘डी चेक’ गरिन्छ । विमानको आधारमा हरेक ६ देखि १० वर्षको अन्तरालमा यो गरिन्छ ।

‘डी चेक’ विमानको अझ व्यापक निरीक्षण र मर्मत हो । यहाँ अघिल्ला ‘सी चेक’का क्रममा फेरिएका वा मर्मत गरिएका धेरै सामग्रीहरू फेरिन्छ । चारदेखि छ हप्ताको अवधिमा यो चेक सकिन्छ । नेपालमा भने यो चेक हुँदैन । यसको लागि जहाज विदेशमा चेकजाँच गराउन लैजाने गरिन्छ ।

यो जाँचको क्रममा विमानको भागहरू छुट्टाएर टुक्राटुक्रा पारिन्छ । सबै उपकरणहरू झिकिएपछि विमानहरूको भित्री भागहरूको सामान नयाँ राख्ने र तिनीहरूलाई पूर्ण रूपमा अपग्रेड गरिन्छ । यो चेकजाँचका दशौँ करोडौँ खर्च लाग्ने भएकाले एयरलाइन्सहरूले डी चेक वर्षौँअघि योजना बनाउँछन् । ‘सी चेक’ र ‘डी चेक’को क्रममा जहाजमा धेरै सामान परिवर्तन गर्नुपर्ने हुँदा एअरकाफ्ट कहिल्यै पुरानो हुँदैन भन्ने गरिन्छ ।

जहाज दुर्घटनापछि घटनास्थल

२१ वर्ष पुरानो जहाज, अमेरिका, नाइजेरिया र अफ्रिकापछि ल्याइएको थियो नेपाल

नेपालमा २०१७ मा आएपछि ९ एन–एएमई कलसाइन भएको सीआरजे २०० ईआर एअरक्राफ्ट २१ वर्ष चार महिना मात्रै पुरानो हो । जहाजको आयुको हिसाबमा खासै पुरानो होइन ।

क्यानडाको ‘बोम्बार्डियर एभिएसन’ले उत्पादन गरेको जेट इन्जिनवाला यो जहाज छोटो दुरीको उडानका लागि प्रयोग हुने हो । यो मोडलको जहाजको क्षमता ५० यात्रुको हुन्छ । यो मोडलको जहाजमा अन्यको तुलनामा कम इन्धन खपत हुन्छ ।

यो मोडलको जहाज ४१ हजार फिट (१२ हजार ४९६ मिटर) उचाइसम्म उड्न सक्छ । यो प्रकारको जहाजले प्रतिघण्टा ८ सय ६० किलोमिटर दूरी पार गर्न सक्छन् । छिटो उड्ने भएकाले जेट इन्जिन टर्बो इन्जिनभन्दा केही हदसम्म राम्रो पनि मानिन्छ ।

सौर्य एअरलाइन्स नेपालमा जेट इन्जिन भएको विमान उडाउने दोस्रो कम्पनी हो । सौर्यअघि कस्मिक एअरले जेट इन्जिन उडाएको थियो । सन् २००८ मा कस्मिक एअर बन्द भएपछि अन्य कम्पनीले जेट विमान उडाएका थिएनन् । यो एअरक्राफ्ट क्यानडामा सन् २००३ मा निर्माण सम्पन्न भएको थियो ।

विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

अमेरिकादेखि नेपालसम्मको यात्रा

मे २००३ मा अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले चलाएको यो एअरक्राफ्ट अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्ट एअरलाइन्सले किनेको थियो ।

तीन वर्षपछि जुन २००७ मा नाइजेरियाको एरिक एअरले किनेको थियो । त्यसको वर्ष दिनपछि सन् २००८ मा अप्रिलमा एसए एक्सप्रेसले जहाज किनेको थियो ।

९ वर्षसम्म एसए एक्सप्रेसले जहाज चलायो ।

त्यसपछि जनावरी २०१७ मा अमेरिकाकै एरोजेल कम्पनीले जहाज किनेको थियो । त्यसको तीन महिनापछि मार्च २०१७ मा नेपालको सौर्य एअरलाइन्सले सो जहाज किनेर नेपाल ल्याएको हो । त्यही जहाज ७ वर्षपछि अहिले दुर्घटना भएको हो ।

यो पनि- 

विमान दुर्घटनाका घाइते क्याप्टेनको स्वास्थ्य अवस्था बारे प्रधानमन्त्रीले लिए जानकारी

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

सौर्य दुर्घटना: मर्मतको लागि उडेको जहाजले किन बोक्यो यात्रु ? कस्तो हो जहाज र के हो ‘सी-चेक’ ?

विमान दुर्घटनाबारे ५ सदस्यीय जाँचबुझ आयोग गठन

शोकमा सौर्य एअरलाइन्स: गुमायो व्यवस्थापन समूहका चारसहित दर्जन दक्ष प्राविधिक र इन्जिनियर

यस्तो छ सौर्य एयरलाइन्सको दुर्घटनास्थल (तस्वीरहरू)

दुर्घटनामा परेको सौर्य एअरलाइन्स २१ वर्ष पुरानो, अमेरिका, नाइजेरिया र अफ्रिकापछि ल्याइएको थियो नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved