भाषा ठूलो कि भाव  ?

लेखेकै कुरा पढ्न जान्दैनन् ‘माननीय’ तर, समस्या भाषामा कि कुशासनमा ?

माइकमा बोल्दा अलमलिने नेताले देश बिगारेका हुन् कि धारा प्रवाह भाषण गर्नेहरूले ? किन हामीलाई चर्को स्वरमा अरूको उछितो काढ्ने नेता नै चाहिएको छ । काम गर्ने तर, बोल्न नजान्ने नेतालाई हामी किन मन पराउँदैनौँ ?

लेखेकै कुरा पढ्न जान्दैनन् ‘माननीय’ तर, समस्या भाषामा कि कुशासनमा ?

काठमाडौं । “शिक्षाको अवस्था केही दिन अगाडि आएको सीसीको सीईको नतिजाले देखाइसक्यो,”  प्रतिनिधि सभामा सांसदले बोलेको यो भिडिओ अहिले सञ्जालमा भाइरल छ । फेसबूक, टिकटक जताततै ‘सांसदको शिक्षाको अवस्था’ भन्दै कतिपयले उडाइरहेका छन् । हाँसो मजाकको पात्र बनेकी छन्, ती सांसद ।

प्रतिनिधिसभा सदस्य विनिता कुमारी सिंहले आइतबार संसद्को विशेष समयमा बोलेको केही अंश सामाजिक सञ्जालमा ट्रोल बनेको हो । उनको भनाइ ट्रोल बनेपछि प्रश्न उठेको छ- भाषा ठूलो कि भाव ?

एसईई भन्नुपर्नेमा ‘सीसी’ र ‘सीई’ भन्दै अशुद्ध उच्चारण गर्न पुगिन् सांसद सिंह । भाषणका अरू केही शब्द पनि अशुद्ध उच्चारण गरिन् ।

त्यही निहुँमा सामाजिक सञ्जालमा उनको खेदो खनिँदै छ । विभिन्न ट्रोल बनाएर उडाइँदै छ । अझ, उनको भिडिओ राखेर ‘समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्नुपर्ने’ तर्क राखिरहेका छन् कतिपयले ।

उनले उच्चारण गरेको शैलीमा सोसल मिडिया प्रयोगकर्ताहरू केन्द्रित भएका छन् भने उनले उठाएको शिक्षा र जनस्वास्थ्य जस्तो गम्भीर विषयवस्तु छायामा परेको देखिन्छ ।

उनले उच्चारण गरेको शैलीमा सोसल मिडिया प्रयोगकर्ताहरू केन्द्रित भएका छन् भने उनले उठाएको शिक्षा र जनस्वास्थ्य जस्तो गम्भीर विषयवस्तु छायामा परेको देखिन्छ ।

उनको भाव थियो- शिक्षाको अवस्था केही दिनअगाडि आएको एसईई नतिजाले देखाइसक्यो । हाम्रो देशनै वास्तवमा फेल भएको छ । त्यतातिर हाम्रो ध्यान कहिले जाला ?

यस्तै सर्वसाधारणले अस्पतालमा पाइरहेका सास्ती पनि समाधानको लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन् । भनेकी थिइन्, “अस्पतालमा भीडैभीड र बेड नपाउने समस्या छ । अप्रेसनको लागि एकएक वर्षसम्मको समय तोक्नु हामी छौँ भन्ने कुरा दर्साउँछ ।”

तर, मातृभाषा मैथिली रहेको विनिताको बोल्ने शैली र भाषाकै कारण विवादमा परिन् । उनले उठाएका विषय-वस्तुमाथि भने चर्चा भएन ।

आइतबार विशेष समयमा बोल्दै प्रतिनिधिसभा सदस्य विनिताकुमारी सिंह।

अरू पनि बनेका थिए ट्रोल

बोल्ने शैली र लेखेको पढ्न नजान्दा जनप्रतिनिधिलाई ट्रोल भएका यो पहिलोपटक होइन । संसद्को अघिल्लो कार्यकालमा नविना लामा पनि ट्रोलको सिकार बनेकी थिइन् । २०७९ साउनको संसद् बैठकमा उनले ‘शल्यक्रिया’लाई ‘शलानकृया’ भनेपछि सामाजिक सञ्जालमा खेदिएकी थिइन् ।

“मुटुको शल्यक्रिया गर्न गंगालालमा भर्ना गरिएका बिरामीलाई समस्या छ । सरकारको ध्यान जाओस्” भन्दै गम्भीर विषय कुरा उठाए पनि उनको उच्चारण शैलीकै कारण भाव छायामा पारिएको थियो ।

यस्तै कर्णाली प्रदेशमा झोवा विक र कुमारी मेचेले बोलेका कुरासमेत भाइरल भएका थिए ।

कर्णाली प्रदेशमा मुगुकी तत्कालीन सांसद झोवा विक संसद्‌मा बिरलै बोल्थिन् । २०७७ को नीति तथा कार्यक्रममा उनले आफ्नो भनाइ राख्दा बैठकमा सांसदहरू समेत हाँसेको थिए । झोवाले जानी नजानी पनि संसद्‌मा आफ्नो क्षेत्रको विकासका लागि सरकारको ध्यानाकर्षण गराइरहिन् । यो भिडिओ ट्रोल बन्यो ।

२०७६ भदौ ५ मा प्रतिनिधिसभाको शून्य समयमै सांसद कुमारी मेचे नोट हेरेर बोल्न थालेकी थिइन् । सुरुमै अलमलिइन् । अक्मकिँदै बोल्दा समय र विषयवस्तुमा ध्यान दिन सकिनन् । ‘किसानहरूलाई अहिले आवश्यक परिराखेको छ,” उनले यसरी बोली नसक्दै उनको समय सकियो । उनको भनाइको आशय बुझ्न सकिएन । अनुमान मात्र लगाउन सकिन्थ्यो । त्यतिबेला उनी पनि ट्रोलका सिकार बनेकी थिइन् ।

सांसदमाथिको ट्रोलको शृङ्खलाले केही प्रश्न उठाएको छ । माइकमा बोल्दा अलमलिने ले देश बिगार्ने हुन् कि धारा प्रवाह भाषण गर्ने क्षमता भएकाले ?

अहिले आममानिसमा राजनीतिप्रति चरम निराशा छ । त्यो भनेको धेरै बोल्ने तर, काम नगर्ने प्रवृत्तिले भएको हो । तैपनि गफ गर्ने नेता नै मन पराउने मानसिकता फेरिएको देखिन्न ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “हामीलाई चर्को स्वरमा अरूको उछितो काढ्ने नेता चाहिएको छ । अरूको मानमर्दन र हुर्मत लिने नेतालाई ‘वाह क्या दियो’ भनिन्छ । तर, हामीलाई त्यस्तो सांसद चाहिएको हो कि जनताको समस्या राख्ने, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता संवेदनशील विषयमा आफूले जाने जति भाषाशालीमै बोल्ने जनप्रतिनिधि ?”

२०७७ मा कर्णालीका सांसद झोवा विकको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको समर्थन गरेका थिए ।

अहिले सञ्जालमा उठाएको छ- समानुपातिक सांसद बोल्न नजान्ने आए यो प्रणाली खारेज गरौँ ।

यो तर्कप्रति कतिपयले भनेका छन्- सांसदहरूले बोल्दा अलमलिएकाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने हो भने प्रष्ट रूपमा धेरै बोलेर देशलाई बर्बाद बनाउने नेता चुन्दै आएको निर्वाचन प्रणालीलाई के गर्ने ?

२०७७ मा कर्णालीका सांसद झोवा विकको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको समर्थन गरेका थिए । गणतन्त्र र समानुपातिक समावेशीको सौन्दर्य भन्दै सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

के भनेकी थिइन् विनिताले, जसले बनायो ट्रोल !

सम्माननीय सभामुखज्यू, अहिले मनसुन सुरु भइसकेको छ । निरन्तर वर्षाको कारण आएको बाढी पहिरोबाट बाटोघाटो अवरुद्ध भएको छ । विद्युतका पोलहरू ढलेर मानव जनजीवनमा अत्यधिक समस्या परेको छ । तसर्थ बाढी पहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित पीडित परिवारहरूलाई राहत उद्धारको व्यवस्था मिलाइयोस् भन्दै सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।

सम्माननीय सभामुख महोदय आज हामी देशलाई कतातिर लगिरहेका छौँ । जनताहरू समस्यै समस्यामा छन् । सांसदहरू सरकारै सरकार बनाउनमा माहिर छन् । जनताको मौलिक हकको प्रत्याभूति गराउने कतै छाँटकाँट छैन । सभामुखज्यू शिक्षाको अवस्था केही दिनअगाडि आएको सीसीको सीईको (एसइई) नतिजाले देखाइसक्यो । हाम्रो देशनै वास्तवमा फेल भएको छ । ५० प्रतिशतभन्दा कम अंक ल्याउन पनि सकेनौँ । त्यतातिर हाम्रो ध्यान कहिले जाला ?

स्वास्थ्य अवस्था त झन् नाजुक रहेको छ । अस्पतालहरूमा भीडैभीड र बेड नपाउनु डाक्टर नर्सहरूको घमन्ड पारा झन् समस्याग्रस्त बनाउन र उपकरण नहुनु बेड नहुनु समस्या सामान्य प्रक्रिया भएको छ । अप्रेसनको लागि एकएक वर्षसम्मको समय तोक्नु हामी छौँ भन्ने कुरा दर्साउँछ । रोजगारीको हालत त झनै पर्दैन, भन्नै पर्दैन । सभामुखज्यू एअरर्पाेटको लामो लाइनले प्रमाणित गरेको छ । हामी गरिब र सर्वहारा वर्गको हालत कत्ति क्रियाशील छौँ भन्ने प्रस्ट हुन्छ, धन्यवाद ।’’

विनिता सोध्छिन्- ‘समस्या मेरो भाषामा हो कि कुशासनमा ?’

कलेजी सारीबाहिर कालोकोट लगाएको पोसाकमा सजिएर विनिता जब रोस्ट्रममा उभिन्छिन्, तब मधेसी जनताका मुद्दा जोडतोडले उठ्छ । तर उनको लवज ‘मधेसी’ हुन्छ ।

विनिता प्रतिनिधि सभामा समानुपातिक कोटामा जनमत पार्टीबाट प्रतिनिधित्व गर्छिन् । उनी आदिवासी जनजाति क्लष्टरबाट चुनिएकी हुन् ।

सामान्य परिवारकी मधेसी महिला सदनसम्म पुगेकी हुन् । संविधानमा उल्लिखित समावेशी सिद्धान्तको मद्दतबाट प्रतिनिधिसभामा पुगेकी उनी गाउँ वस्तीका आवाज बोल्छिन् ।

उनी राजनीतिका कुरा गर्दिनन् न त कतैलाई आरोप–प्रत्यारोप गर्छिन् । न फरक आस्था राख्ने कसैको मान मर्दन गर्छिन्, न आफ्नो दलका कसैलाई भगवान् बनाएर प्रस्तुत हुन्छिन् । उनी संसद्मा उत्रिन्छिन्, गाउँ गाउँका मुद्दा लिएर । उनी गाउँ गइरहन्छिन् । त्यहाँ जाँदा जनताले सुनाएका गुनासा संसदमा राख्छिन् ।

विनीता संसद् अधिवेशन सुरु होस् वा अन्त्य, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने होस् वा बजेट वक्तव्यको दिन उनी रोस्ट्रममा महत्त्वपूर्ण भूमिकासहित उभिन्छिन् ।

मैथली उनको मातृभाषा हो । यसैले नेपाली बोल्दा अलमलिन्छिन् । यसैले  पनि प्रायः लिखित मन्तव्य दिने उनको बोलाइमा रचनात्मक आलोचना र टिप्पणी देखिन्छ ।

संसदमा शून्य समयमा धेरै आवाज उठाउने संसदमध्येमा आफू पनि पर्ने बिनिताको दाबी छ । विशेष समयमा पनि उनी पालो आएसम्म धारणा राख्छिन् ।

मैथली उनको मातृभाषा हो । यसैले नेपाली बोल्दा लवज मधेसी शैलीको आउँछ यसैले प्रायः लिखित मन्तव्य दिने उनको बोलाइमा रचनात्मक आलोचना र टिप्पणी देखिन्छ ।

ती समयमा किसान, मजदूर, मधेश र आदिवासी जनजातिको समस्या उनले उठाइरहने मुद्दा हो । चुरे क्षेत्रको पानीको समस्यामा खरो रुपमा कुरा राखेकी थिइन् । मधेसमा भएको भ्रष्ट्राचार, मालपोतमा जनताले पाएको सास्तीका कुरा उठाउँदै आएकी छिन् । उनले सदनमा कुरा उठाएपछि कतिपय समस्याको समाधान पनि भएका छन् । बजेटको समयमा पनि विनीताले मधेशमा छुट्याइएको बजेटप्रति असहमति राखेर प्रस्तुत भइन् ।

विनीताले नेपालभ्युजसँग भनिन्, ‘‘मधेशमा जनतालाई धेरै दुःख छ । त्यो देख्दा मलाई दुख्छ तर सरकारलाई किन दुख्दैन ? मैले ती दुख नेपाली भाषामा राख्दा कहिलेकाहीँ उच्चारणमा समस्या हुन्छ । तर बोल्न नजानेको भनेर प्राविधिक कुरालाई किन देखाइन्छ ? समस्या मेरो भाषामा हो कि देशको कुशासनमा ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved