गण्डकी प्रदेश सभा : बजेटमा अंकगणित नमिल्दा अवरोध भएको बैठक अर्थमन्त्रीको माफीसँगै खुल्यो

नेपालभ्युज

गण्डकी प्रदेश सभा : बजेटमा अंकगणित नमिल्दा अवरोध भएको बैठक अर्थमन्त्रीको माफीसँगै खुल्यो

काठमाडौं । गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा. टकराज गुरुङले माफी मागेसँगै अवरोध हटेको छ । शुक्रबारको प्रदेश सभा बैठकमा उनले गल्ती भएको बुँदालाई अद्यावधिक गरी सदस्यहरूलाई उपलब्ध गराएको बताए ।

‘(बजेट वक्तव्यको) बुँदा १३९ मा भएको मनसायरहित रुपमा भएको मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई स्पष्टताका साथ अद्यावधिक गरी सोको विवरण माननीय सदस्यले प्राप्त गर्ने गरी पिजन हलमा उपलब्ध गरेको व्यहोरासमेत अनुरोध गर्दछु’, बैठकमा उनले भने ।

प्रदेश सभामा प्रस्तुत बजेट वक्तव्यको बुँदा १३८ को कुल व्ययको अनुमान र बुँदा १३९ को कुल आय अनुमानको स्रोतगत योगफलमा भिन्नता रहेको भन्दै बिहीबारको बैठकमा एमालेका सांसद लिलबहादुर थापामगरले विषय उठाएका थिए ।

बजेट वक्तव्यमा कुल बजेटसँग खर्च गर्ने स्रोतको अंक नमिलेका कारण प्रतिपक्षी सांसदहरूले गडबडीको आशंका गरेका थिए । त्यसपछि प्रदेश सभा बैठक अवरोध भएको थियो ।

बिहीबारको पहिलो बैठक १० मिनेटका लागि स्थगित भएको थियो । दोस्रो बैठकमा अर्थमन्त्री गुरुङले दिएको जवाफ चित्त नुबझेपछि अवरोध भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved