सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त

नेपालभ्युज

सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेपाली कांग्रेस, गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन् ।

पाण्डेलाई बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । यसपछि प्रदेश प्रमुख भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि पाण्डेले अल्पमतलाई बहुमत मानेर मुख्यमन्त्री बनेका नेकपा (एमाले) का संसदीय दलका नतेा खगराज अधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामाथि सुनुवाइ गर्दै अदालतले गत जेठ १४ गते ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

अब मुख्यमन्त्री पाण्डेले संविधानत: एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर, विश्वासको मत पाउने सम्भावना भने कम छ । वर्तमान राजनीतिक समीकरणअनुसार प्रदेश सभामा कांग्रेस एक्लै छ । उसँग जम्माजम्मी २७ सांसद छन् । जबकि ६० सदस्यीय प्रदेश सभामा कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा दुई सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), स्वतन्त्र सांसद दीपक मनाङे ऊर्फ राजीव गुरुङ र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फणिन्द्र देवकोटालाई फकाइरहेका छन् तर,  उनीहरूले मानेका छैनन् ।

अब एक महिना अर्थात् असार १६ गतेसम्म बहुमत जुटाउन नसके र विश्वासको मत नपाए पाण्डे नेतृत्वको सरकार ढल्नेछ र सरकार गठनको प्रक्रिया नेपालको संविधानको धारा १६८ को उपधारा ५ मा पुग्नेछ । त्यो भनेको प्रदेश सभाका जोसुकै सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्ने पाउने अवस्था हो ।

किनकि पाण्डे उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका हुन् भने उनले ४ अनुसारको विश्वासको मत लिनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved