विष्णु पौडेलप्रति विश्वप्रकाशको प्रतिवाद- यो उत्तर कोरिया होइन, नेपाल हो

नेपालभ्युज

विष्णु पौडेलप्रति विश्वप्रकाशको प्रतिवाद- यो उत्तर कोरिया होइन, नेपाल हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिवाद गरेका छन् । पौडेलले सोमबार बिहान कांग्रेसले ओलीप्रति गलत आक्षेप लगाएको भन्दै लिखित माफी आउनुपर्ने बताएका थिए ।

पौडेलको भनाइ थियो, ‘अध्यक्ष ओलीविरूद्धको आरोपमा कांग्रेसले लिखित रूपमा क्षमायाचना र सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा सम्बन्ध राम्ररी बढ्दैन ।’

गिरीबन्धु प्रकरणमा कांग्रेस महामन्त्रीले ओलीप्रति कटाक्ष गरेका थिए । पौडेलको चेतावनीको कारण त्यही थियो ।

महामन्त्री शर्माले भने ओलीले गलत आरोप लगाएपछि सही कुराको प्रतिवाद गरेको बताए । ‘हुँदै नभएको कुरामा कांग्रेसलाई आरोपित गरेपछि मौनधारणम् भनेर त हुँदैन नि । उता रौद्ररुप धारणम् हुँदै गर्दा यता मौनधारणम् अपेक्षा गर्नुचाहिँ गल्ती हो । तपाईंले गलत गर्नुभयो भन्नुपर्छ’, शर्माले भने, ‘उहाँले गलत रुपमा आरोपित गरेपछि जवाफ नदिइ बस्न मिल्दैन ।’

अध्यक्ष ओलीविरूद्धको आरोपमा कांग्रेसले माफी माग्नुपर्छ, नत्र प्रतिवादमा उत्रन्छौं : एमाले

उनले संविधान सँगै बसेर लेखिएको भन्दै ओलीलाई गलत आरोप लगाउने छुट भएपछि सही प्रतिवाद गर्ने छुट पनि कांग्रेसलाई रहेको स्मरण गराए । ‘किनकि यो उत्तर कोरिया होइन, नेपाल हो’, उनले भने ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस बैठकपछि शर्माले गिरीबन्धुको विषयमा सुरुमा ओलीले नै प्रतिक्रिया दिएको बताए । भने, ‘जब सर्वोच्च अदालतले गिरीबन्धुसँग सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्‍यो । नेपाली कांग्रेसका कसैले प्रतिक्रिया दिएको थियो र ? पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया, रौद्ररुप धारणा गरेर आएको प्रतिक्रिया त केपी ओलीको थियो ।’

गिरीबन्धु टी स्टेटको जग्गा व्यक्तिको स्वामित्वमा पुर्‍याउन सहज हुने गरी नीतिगत निर्णय गरेर विवादमा आएपछि ओलीले नेपाली कांग्रेसले पहिले ५१ बिगाह बेचेर कमिसन खाएको आरोप लगाएका थिए । कांग्रेसले त्यसकै प्रतिवाद गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved