विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएका हुन् ।
विश्वासको मत पाउँ भनी मुख्यमन्त्री कार्की (Hikmat karki) ले राखेको प्रस्तावको पक्षमा ५७ सांसदले मत दिए भने विपक्षमा शून्य मत पर्यो ।
यस्तै ५ सांसद तटस्थ बसे । ९३ सदस्यीय प्रदेशसभाको आजको बैठकमा ६२ जना सांसद उपस्थित थिए ।
मुख्यमन्त्री कार्कीलाई उनको दल नेकपा (एमाले) सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सदन नै बहिष्कार गरेको छ । बैठकमा कांग्रेसले सहभागिता जनाएन । बैठक सुरु हुनुभन्दा अगाडि बसेको बैठकले सदन बहिष्कार गर्ने निर्णय गरेको थियो ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कांग्रेस सांसद केदार कार्की बर्खास्तीमा परेका छन् । यसपछि उनले नयाँ सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।आफैँलाई मुख्यमन्त्रीमा पुनर्बहाली गर्न परमादेश माग गरेका कार्कीलाई अदालतले अन्तरिम आदेश भने दिएको छैन । बरु उल्टै पाँच प्रश्न सोधेको छ ।
Facebook Comment
Comment