संसदीय छानबिन बनेपछि कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ, उसको तरिका ‘फेयर’ छैन : ओली

नेपालभ्युज

संसदीय छानबिन बनेपछि कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ, उसको तरिका ‘फेयर’ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अहिले संसदीय छानबिन मात्रै भने पनि त्यस्तो समिति बन्यो भने तत्कालै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्ने बताएका छन् ।

शुक्रबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले छानबिन बनिसकेपछि लामिछाने पदमा बस्न नमिल्ने भन्दै कांग्रेसले राजीनामा माग्ने बताए ।

‘हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्नुहुन्छ’, उनले भने, ‘केही पनि नहुँदा समिति बनाउनेले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैं उपस्थिति भएको संसदले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ? उपप्रधानमन्त्री र गृहमन्त्री भएर झन्डा हल्लाउन मिल्छ? छानबिनलाई प्रभावित गर्दैन? भन्नुहुन्छ । त्यो छानबिन समिति बनाइसकेपछि तत्कालबाट उहाँहरूले राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’

ओलीले कांग्रेसले दोहोरो शैली अपनाएको बताए । भने, ‘एकातर्फ तपाईं डेढ वर्ष प्रधानमन्त्री भइदिनुस्, यो समीकरण छोड्नुस्, हाम्रो गठबन्धनमा आउनुस् भन्न जाने। त्यो हुन्न भनेर कागज र सम्झौतामा सही नगरेपछि विभिन्न फाइल बोकेर रिसर्च गर्न पुग्ने । नेपाली कांग्रेसको यस्तो तरिका ‘फेयर’ छैन ।’

ओलीले सहकारीमा बेथिति भएको, रकम हिनामिना भएको र लगानीकर्ताहरू डुबाइएको बताए। ‘कुनकुन सहकारीको स्थिति के छ, त्यो पनि थाहा छ। यस समस्याको कसरी समाधान गर्ने भनेर सरकारले कदम चाल्नुपर्‍यो। समस्याको समाधान गर्नुपर्‍यो’, उनले भने ।

सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै कांग्रेसले छानबिन समिति गठनको माग गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकबाट उसले आफ्नो मागलाई ‘बटम लाइन’ भएको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved