काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन् । यसकालागि बेलुका ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको भए पनि सत्तारुढ दल एमालेले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन ।
गत वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् ।
प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् ।
मुख्यमन्त्री सोडारीलाई अन्तिम समयमा समर्थन गरेर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको एमालेले विश्वासको मत दिने विषयमा स्पष्ट निर्णय नगर्दा सोडारीलाई विश्वासको मत लिन समस्या हुने देखिएको छ ।
आन्तरिक तयारी नभएको र विश्वासको मत लिने समय अझै धेरै बाँकी रहेकोले हतार नगर्न भन्दै एमालेले विश्वासको मत लिने समय सार्नुपर्ने बताउदै आएको छ ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेशसभा सदस्यले गैर संवैधानिक, गैर प्रजातान्त्रिक र संसदीय मर्यादा विपरीत मुख्यमन्त्री नियुक्त गरिएको भन्दै बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र पार्टीका एक एक सांसद छन् ।
यो पनि पढ्नुहोस्-
विश्वासको मतका लागि मुख्यमन्त्री सोडारीसँग दुई विकल्प
Facebook Comment
Comment