सुनिल पौडेलविरुद्ध करिब २४ करोड रुपैयाँ अनियमितता गरेको अभियोग, अदालतमा भ्रष्टाचार मुद्दा दायर

नेपालभ्युज

सुनिल पौडेलविरुद्ध करिब २४ करोड रुपैयाँ अनियमितता गरेको अभियोग, अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो ।

मुद्दामा बिगो बराबरको जरिवाना असुल उपर गर्न तथा कसुर अनुसार जेल सजायको माग दाबी गरिएको छ ।

अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानबिन गरेको उल्लेख गरेको छ। पौडेलमाथि दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

पौडेलमाथि दायर भएको यो दोस्रो मुद्दा हो । यसअघि उनी पेमेण्ट गेट वे सम्बन्धी उपकरण खरिद प्रकरणमा शुक्रबार विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

२०८० माघ १० गते सुनिल पौडेल र अर्का भ्रष्टाचार आरोपित विकल पौडेललाई अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेको तीन महिना पछाडि अख्तियारले विशेषमा मुद्दा लगेको हो ।

सुनिलसँगै पक्राउ परेका विकलका विरुद्ध भने अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएर नेपालमा नियुक्ति लिएकोमा आइतबार नै मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved