अमेरिकी सहयोग चाहिने भए तत्काल युद्धविराम गर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

नेपालभ्युज

अमेरिकी सहयोग चाहिने भए तत्काल युद्धविराम गर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

काठमाडौं । अमेरिकाले कुनै विलम्ब नगरी तत्काल युद्धविराम गर्न इजरायललाई दबाब दिएको छ ।

राष्ट्रपति जो बाइडेनले फोन मार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि थप प्रयास गर्न भनेका हुन् ।

फोन वार्ताका क्रममा बाइडेनले अमेरिकी सहयोग चाहिने भए गाजामा मानवीय क्षति रोक्न इजरायललाई चेतावनी दिएका हुन् । बाइडेनले इजरायलका वार्ताकारहरूलाई ढिलाइ नगरी सम्झौताका लागि तयार पार्न नेतान्याहुलाई सुझाव दिएको समाचार संस्था अलजजिराले जनाएको छ ।

इजरायली आक्रमणमा राहत तथा सहयोग सामाग्री वितरणमा संलग्न ७ जना राहतकर्मी मारिएपछि गाजामा सहयोग कार्यक्रम रोकिएको छ ।

हमासका अधिकारी ओसामा हमदानले इजरायलले आफ्ना सेना फिर्ता गर्ने, सहायताका लागि अवरोध नगर्ने र प्यालेस्टाइनीलाई उत्तरी गाजामा फर्कन अनुमति दिन नमानेपछि वार्ता रोकिएको आरोप लगाएका छन् ।

इजरायलको हठका कारण गाजामा थप मानवीय संकट उत्पन्न भएको अमेरिकाको बुझाई छ । इजरायलले अहिलेसम्म अमेरिकाको सुझावमा कुनै प्रतिक्रिया जनाएको छैन ।

यसैबीच इजरायलले गाजा क्षेत्रमा सहयोग पठाउनका लागि दुईवटा मार्ग खुल्ला गरेको जनाएको छ ।

मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह पनि खोलिने इजरायलले जनाएको छ । इजरायलका अनुसार जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved