नयाँ मन्त्रीहरुको शपथ साँझ ५ बजे

नेपालभ्युज

नयाँ मन्त्रीहरुको शपथ साँझ ५ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी थप मन्त्रीहरुको शपथ बुधबार साँझ ५ बजे हुने भएको छ।

नेकपा (एमाले), माओवादी केन्द्र र रास्वपाबाट सहभागी गराउँदै प्रधानमन्त्री दाहालले बुधबार मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । उनीहरुको शपथ साँझ ५ बजे गर्नेगरी तयारी भइरहेको शीतल निवास स्रोतले जनाएको छ ।

सरकारमा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । एमालेले आफ्नो भागमा परेका ८ मन्त्रीको नाम टुंगो लगाएको छ । जसमा महासेठसहित पदम गिरी, हरि उप्रेती, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई पनि एमालेले मन्त्री बनाउने भएको छ ।

गिरीले कानून, न्याय तथा संसदीय मामिला, उप्रेतीले रक्षा, भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति, चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, राईले खानेपानी र अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेबारी पाउनेछन् ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दैछन् । माओवादीले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीमा शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मालाई निरन्तरता दिएको छ । पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली पनि कायमै रहनेछन् ।

रास्वपाले पनि थप तीन मन्त्री टुंग्याएको छ । रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमना श्रेष्ठलाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने छन् । उपसभापति डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने पक्का भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।

यस्तै २ मन्त्रालय लिएर नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ । उसले सङ्घीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास मन्त्रालय पाउने छ ।

गठबन्धनमा सहभागी भएको अर्को दल जनता समाजवादी पार्टीले भने तत्काल सरकारमा सहभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved