काठमाडौं । जतिबेला माधवकुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्दै थिए, सबैभन्दा दह्रो साथ दिनेमध्ये एक थिइन् रामकुमारी झाँक्री । दल दर्ताका लागि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका बेला रामकुमारीले माधवकुमार नेपालको हात समाएर तानेको दृश्य निकै चर्चित बन्यो । त्यो दृश्य पछिसम्म पत्रकार, स्तम्भकारदेखि कार्टूनिस्टसम्मको खजाना बनिरह्यो ।
एकीकृत समाजवादी निर्वाचन आयोगतमा दर्ता भयो, रामकुमारी नवगठित पार्टीको सचिव मात्रै होइन, सहरी विकासमन्त्रीसमेत बनिन् । २०७८ असोज २२ गते मन्त्री नियुक्त भएकी रामकुमारीले २०७९ असार १२ गते मन्त्री पदबाट धुरुधुरु रुँदै राजीनामा दिइन् ।
त्यसपछि केही समय उनी पार्टीभित्र सक्रिय भइनन् । त्यसबीचमा पूर्वपार्टी एमालेमै फर्किने चर्चा पनि नचलेको होइन । भाषण सुन्दा पनि उनी एमालेमा चाँडै फर्किँदै छिन् भन्ने लाग्थ्यो ।
२०७८ पुस १७ गते गृहजिल्ला गुल्मी पुगेकी उनी पूर्वपाटी एमालेको ‘माया’ ले रोएकी पनि थिइन् । एमालेलाई आफैँले बनाएको पुरानो घर र एकीकृत समाजवादीलाई नयाँ घरको संज्ञा दिएकी उनले रुँदै भनेकी थिइन्, “धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ ? राजनीतिक यात्रा कसरी अगाडि बढाउँछौँ भनेर प्रश्न गरिरहेका छन् ।” अर्थात् उनी पछुताएकी थिइन् एमाले त्यागेकोमा, चुनौती महसुस गर्दै थिइन् एकीकृत समाजवादी बनाउनेको ।
त्यसबेला उनी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय योगेशकुमार भट्टराई, गोकर्ण विष्टलगायतका नेतासँग संवादमा समेत छिन् भनिन्थ्यो तर, उनी एमालेमा फर्किनन् । फलत: अहिले पनि उनी एकीकृत समाजवादीमा नै छिन् ।
त्यसबीचमा उनले एमालेका सचिव गोकर्ण विष्टसँग संसदीय चुनाव हारिन् गृहजिल्ला गुल्मीबाटै । त्यसपछि अझ पार्टीमा सक्रिय भइनन् । पूर्वमन्त्री र पार्टी सचिवको पोर्टफोलियो बोकेर उनी कहिलेकाहीँ सार्वजनिक सभा/समारोहमा निस्किन्छिन् तर, पार्टीको कुरा कमै गर्छिन् ।
हुनलाई पार्टी सचिव हुन् रामकुमारी तर, कतिपय पार्टी बैठकमा पुग्दिनन् । पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भन्छन्, “उहाँ (रामकुमारी झाँक्री) पहिलेभन्दा सक्रिय हुनुभएको हो । बैठकमा आउनुहुन्छ, आफ्नो विचार राख्नुहुन्छ । पहिले केही बैठकहरूमा आउनुहुन्नथ्यो ।”
जसै एकीकृत समाजवादीको दशौं महाधिवेशन नजिकिँदैछ, अब १५ दिन पनि बाँकी छैन । महाधिवेशन प्रतिनिधि छनोटको समय भएको छ, राजनीतिक-साङ्गठानिकजस्ता महत्त्वपूर्ण दस्तावेजहरू लेखनको समय चलिरहेको छ तर, रामकुमारीलाई यसबारे खासै मतलब छैन ।
किन त ? रामकुमारीको जवाफ छ, “नेताहरूको पारा देखेर दिक्कै लाग्छ ।”
असार १६-२० मा हुने महाधिवेशनमा पार्टीको अध्यक्षका लागि माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच माथापच्ची छ । उनीहरू दुवै प्रधानमन्त्री भइसकेकका नेता हुन् तर, पार्टी नेतृत्व आफैँले लिन चाहन्छन् । रामकुमारी भन्छिन्, “ठूला नेताहरूको प्रवृत्तिले गर्दा नेतासँगै दल र दलसँगै प्रणालीमाथि प्रश्नचिह्न खडा भइरहेको छ ।”
एकीकृत समाजवादीमा नेतृत्वका लागि माथापच्ची, अध्यक्षमा उठ्लान् घनश्याम भुसाल ?
रामकुमारी चाहन्छिन्, ठूला-पाका नेताहरूले ‘ग्रेसफूल एक्जिट’ रोजून् तर, नेताहरू त्यसो गर्न तयार छैनन् । त्यसैले पनि रामकुमारीलाई पार्टीमा सक्रिय हुन मन लाग्दैन । “उहाँहरूको प्रवृत्ति देखेर सक्रिय हुन मन छैन, दिक्कै लाग्छ,” उनी भन्छिन् ।
यसपछि नेपालभ्युजले उनलाई त्यसोभए घनश्याम भुसाललाई त समर्थन होला नि ? भनेर सोध्यो तर, उनले आफू कसैको पक्षमा नरहेको बताइन् । “म कसैको पक्षमा छैन । हेर्दैछु, महाधिवेशन कसरी सकिन्छ, कस्तो नीति ल्याउँछन्, कस्ता विचार आउँछन्,” उनले भनिन्, “तर, नेताहरूको पारा देखेरै कुनै केही दाबी गर्न मन लाग्दैन । कसैको पक्षमा जुट्न मन लाग्दैन ।”
त्यसो त एकीकृत समाजवादीको भविष्य डामाडोल देखिने विश्लेषण गरिन्छ । दुई पूर्वप्रधानमन्त्री भएपनि सङ्गठन निकै कमजोर छ । पार्टी तथा कार्यकर्ताको भविष्य अन्योलमा छ ।
यो बुझेरै हुनुपर्छ, पार्टीका उपाध्यक्षद्वय मुकुन्द न्यौपाने र केदार न्यौपाने, सचिव भावगत् विश्वासी, केन्द्रीय सदस्य हीराचन्द्र केसीले मात्रै होइन, १५ भन्दा धेरै जिल्ला अध्यक्ष एमालेमा नै फर्किसकेका छन् । अहिले जो एकीकृत समाजवादीमा नै छन्, उनीहरू पनि ढुक्कसँग बस्न सकेको देखिँदैनन् । माधवकुमार नेपालकै भाषामा भन्नुपर्दा उनीहरूको मनमा चैन देखिँदैन, रामकुमारीमा जस्तै ।
सम्भवत: रामकुमारीलाई पनि अन्योल भएको हुनुपर्छ ! त्यही भएर हुनुपर्छ, उनी पार्टीमै भिडिहाल्न र पार्टीबाट हिँडिहाल्न सक्दिनन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको विश्लेषणमा रामकुमारीहरूका लागि यो स्वाभाविक हो । पूर्वप्रधानमन्त्रीद्वय माधवकमार नेपाल र झलनाथ खनालले सङ्गठन बनाउन नसकेको उल्लेख गर्दै उनी भन्छन्, “उहाँहरूमा हिजो ठूलो पार्टीको नेतृत्व गरेको धङधङी छ तर, आज उहाँहरूको सङ्गठन कमजोर बनिसकेको छ । त्यसैले नेता/कार्यकर्तामा पार्टीमा नै रहनुपर्छ भन्ने लाग्दैन । पार्टीको भविष्य नै सुनिश्चित छैन ।”
माधवको मनमा छैन चैन !
जतिबेला एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बन्यो, त्यसबेला उसँग २३ सांसद थिए । तर, पछिल्लो संसदीय निर्वाचनबाट उसले प्रत्यक्षतर्फ १० सिट मात्रै जित्यो गठबन्धनको बलमा । थ्रेसहोल्ड कटाउन नसकेकाले समानुपातिक तर्फबाट सांसद थपिएनन् । यसपछि अझ नेता/कार्यकर्तामा पार्टी भविष्यको चिन्ता बढेको र एमालेमा नै फर्किने क्रम चलेको विश्लेषण गर्न सकिन्छ । र, हो पनि त्यही ।
यसोभए यसबेला रामकुमारीको मनमा के बितेको होला ? उनी प्रष्टसँग त बताउँदिनन् तर, हुनसक्छ उनलाई एकीकृत समाजवादीमा नै रहन्छु भन्ने ‘आत्मविश्वास’ छैन । यसबारे सोध्दा उनी ‘म अहिले समाजवादीमा नै छु’ मात्रै भन्छिन् । त्यसबाहेक उनी धेरै बोल्दिनन् ।
भावी दिनमा उनले कस्तो राजनीतिक निर्णय लिन्छन्, देखिने नै छ । तर, उनीजतिको सडकबाट उठेको र युवाको ‘पोलिटिकल आइकन’ नेताले अनिर्णयको बन्दी भएर बस्नुचाहिँ त्यति जायज नहुँदो हो । हुन त यसो गर्दा उनलाई पनि सकस भइरहेको होला, जुन उनका अभिव्यक्तिबाट पनि बुझ्न सकिन्छ ।
Facebook Comment
Comment