के हो माझी समुदायको लदी पूजा, कहिलेदेखि मनाउन थालियो ?

पछिल्लो समय माझी समुदायको बाहुल्यता रहेको केही पालिकाहरूले भने सूचना निकालेर एक दिन सार्वजनिक बिदा दिन थालेका छन् ।

के हो माझी समुदायको लदी पूजा, कहिलेदेखि मनाउन थालियो ?

माझी जातीको जीवन लदी अर्थात् नदीसँग जोडिएको हुन्छ माझी जातीको जीविकोपार्जन पनि नदी र नदीजन्य पदार्थबाटै हुन्छ । त्यसैले उनीहरू नदीको पूजा गर्छन् । माझी जातीलाई प्रकृति पूजक जातीको उपमा पनि दिइन्छ ।

किनकी उनीहरू खोला नदीलाई पुज्छन् । लदी(नदी) पूजा उनीहरूको प्रमुख चाड हो । माझी समुदायले लदी पूजा हरेक वर्षको फागुन तेस्रो मंगलबार (उनीहरूकै प्रचलित भाषामा साइँली मंगलबार) का दिन देशव्यापी रूपमा मनाउने गर्दछन् ।

यो वर्षको लदी पूजा फागुन १५ गते मंगलबार परेको छ । जसको तयारी तीब्र छ । तयारीमा देशैभरका माझीहरू जुटेका छन् ।

कहिलेदेखि मनाउन थालियो लदी पूजा ?

लदी पूजा कहिलेदेखि मनाउन थालियो त्यसको ठ्याक्कै समय भन्न सकिन्न । तर औपचारिकरूपमा लदी पूजा गर्न थालेको भने १७ वर्ष पुगेको नेपाल माझी उत्थान संघ सुनसरीका अध्यक्ष घनश्याम माझी बताउछन् ।

‘लदी पूजा पूर्वजहरूले परापूर्वकालदेखिनै मनाउँदै आइरहेका थिए । तर औपचारिक रूपमा भने हामीले १७ वर्षदेखि मनाउँदै आएका छौँ ’ उनले भने ।

उनकै कुरालाई समर्थन गर्दै बालकृष्ण माझी भन्छन् ‘लदी पूजा कहिलेदेखि मनाउन थालियो यसको ठ्याक्कै महिना, दिन र साल भन्ने छैन । यद्यपि, मछ्यगन्धाबाट उत्पत्ति भएको माझी समुदायले परापुर्वकालदेखि नै लदी पूजा गर्दै आएको किंवदन्ती छ ।’

२०६४ सालअघि रामेछाप, काभ्रे र सिन्धुपाल्चोकका केही माझी जातीले आफ्नो चाडको रूपमा मात्रै लदी पूजा मनाउने गरेको नेपाल माझी उत्थान संघको वर्तमान अध्यक्ष चिनीमाया माझी बताउँछिन् ।

उनका अनुसार २०६४ सालपश्चात बृहत् रूपमा नेपाल माझी उत्थान संघले छलफल गर्यो । तत्पश्चात् नेपालका विभिन्न ठाउँका माझी समुदायले लदी पूजालाई राष्ट्रिय चाडको रूपमा मनाउन थाले ।

त्यसैको सिको गरेर पछिल्लो समय देशव्यापीरूपमा नेपालका माझी जातीले यस पूजालाई राष्ट्रिय चाडको रूपमा मनाउँदै आइरहेका छन् ।

लदी पूजा किन गरिन्छ ? 

लदी पूजामा माझी जातीहरूले बगेको पानीलाई पूजा गर्छन् । लदी भनेको माझी भाषामा कोशी अथवा नदी हो । नदी, कोशीको पूजा गर्नु नै लदी पूजा हो । माझी समुदायको जीवन नदीसँग जोडिएको हुन्छ त्यसैले पनि माझी जातीले नदीको पूजा गर्छन् ।

‘नदीमा काम गर्नुपर्ने, नदीमै आश्रित रहनुपर्ने जीविकोपार्जनको मुख्य थलो, आम्दानीको स्रोत जे भने पनि कोशी अथवा नदी नै रहेकाले नदीले आफुहरूलाई जोगाइराखोस् भन्ने हेतुसहित लदी पूजा गर्ने गरिन्छ ।’ बालकृष्ण माझी बताउँछन् ।

तर पछिल्लो समय माझी जातीको संस्कार र संस्कृति लोप हुँदै गइरहेको छ । जसको संरक्षण र जर्गेना गर्न पनि लदी पूजालाई राष्ट्रिय चाडको रूपमा मनाउनु पर्छ भन्ने आवाज पनि हिजोआज उठ्न थालेको छ ।

लदी पूजा माझी जातीको प्रमुख चाड भएकाले यसको अवसरमा सरकारले एक दिन राष्ट्रिय बिदा दिनुपर्ने विषयमा पनि छलफल भइरहेको माझी राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रीय सचिव लक्ष्मी माझीले बताइन् ।

यद्यपि, पछिल्लो समय माझी समुदायको बाहुल्यता रहेको केही पालिकाहरूले भने सूचना निकालेर एक दिन सार्वजनिक बिदा दिन थालेका छन् ।

कसरी मनाइन्छ लदी पूजा ?

लदी पूजाका लागि माझी समुदायले एक हप्ता अगाडी नै मानिसहरूको संख्या आकलन गरेर प्रत्येक घरबाट रकम र चामल उठाउँछन् । सो चामललाई महिला माझीहरूले जाँड(मुन) बनाउँछन् । रकमबाट पाठी, राँगा लगायत किन्छन् ।

लदी पूजाको अघिल्लो दिन माझी समुदायबाट नै दुई जना पुजारीको व्यवस्था गरिन्छ । उनीहरूले घाम अस्ताएपछि केही पनि खान पाउँदैनन् जसलाई उपासे बस्नु भनिन्छ ।

लदी पूजा गर्न गाईको गोबर, ठुलो धँगेरीको सात वटा रुख, टोटलाको फुल (अण्डा), डुंगा, जाल, एक लोटा जाँड, आठ रेखी, सात कोठा, भेटी सात वटा, अक्षता, अबिरलगायतका सामग्री चाहिन्छ । पूजामा विभिन्न जीवजन्तुहरूको बलि पनि दिइन्छ । जसलाई भोक चढाउनु भनिन्छ ।

कसैले भने आफ्नो र आफ्नो परिवार वा अन्य कुनै प्रायोजनका लागि केही कुरामा मन्नत मागेका हुन्छन् अर्थात् भाकल गरेका हुन्छन् । सोही भाकल फुकाउन पनि लदी पूजामा माझीहरूले जीवजनावरको बली दिने गर्दछन् ।

यसरी पूजामा बली दिइएका जिवजन्तुको कलेजो, मुटु लगायत अंग अगेनामा पोलेर जाँडसहित देवी देवतालाई चढाउँछन् । माझी समुदायका गाउँभरिका मानिसहरूमा बलि दिइएका जीवजन्तुको मासु प्रसादको रूपमा थोरै-थोरै भएपनि भाग लगाएर पुर्‍याइदिनुपर्ने चलन रहेको पाइन्छ ।

लदी पूजाको यो समयमा बोलचाल नभएका छरछिमेक दाजुभाइबीच पनि अनिवार्य रूपमा बोलचाल गर्नुपर्ने हुन्छ । यस कारण यसलाई मेलमिलापको पर्वको रूपमा पनि माझी समुदायले लिने गरेका छन् ।

खोला किनारका सबै काम सकिसकेपश्चात् घाटबाट गीत गाउँदै पुजारीको घरसम्म लावालस्कर लागेर जान्छन् । पुजारीको घरमा महिला माझीहरू बसिरहेका हुन्छन् र उनीहरूले खोला किनाराबाट आएकाहरूलाई सुनपानीले छर्केपछि मात्र शुद्ध हुने माझी समुदायमा विश्वास गरिन्छ ।

त्यसको भोलिपल्ट पनि बाधा फुकाउने चलन छ । त्यहाँ पुनः सम्पूर्णको उपस्थिति अनिवार्य हुन्छ । पुजारीले धूप हालेर शक्ति मागिसकेपछि घटवारे(डुंगा चलाउने व्यक्ति)ले डुंगा खोला वारिपारि गरिसकेपछि लदी पूजा समाप्त हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved