‘लास्ट बेन्चर’ मुख्यमन्त्रीको ‘भाइरल’ भाषण: कमजोरहरू राजनीतिमा लागेर अब्बललाई शासन गरिरहेको दृष्टान्त (भिडिओ)

एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनत साथ लागेमा तपाईँहरू जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छन्, तर तपाईँहरू यो जुनिमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक कर्मचारी बन्न सक्नुहुन्न ।

नेपालभ्युज

‘लास्ट बेन्चर’ मुख्यमन्त्रीको ‘भाइरल’ भाषण: कमजोरहरू राजनीतिमा लागेर अब्बललाई शासन गरिरहेको दृष्टान्त (भिडिओ)

काठमाडौं । ‘फस्ट बेन्चमा बस्ने ऊ खरदार भयो, म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न–पढ्न मात्रै जान्यो, ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्रै जान्यो’ यो आवाजसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमबार दिएको एउटा सार्वजनिक मन्तव्य हो यो । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोह थियो ।

प्रमुख अतिथि बनेर गएका मुख्यमन्त्री कार्कीले अहिलेको भाइरल भाषण त्यही दिएका हुन् ।

भाषणमा मुख्यमन्त्रीले यस्तो भनिरहँदा दर्शकदीर्घामा रहेका विद्यार्थीहरू रमाएर हुटिङ गरेको सुनिन्छ ।

तर, यसरी स्कुलमा गएर विद्यार्थीकै माझमा ‘पढ्नेले भन्दा पढाइमा कम ध्यान दिनेले जीवनमा सफलता हासिल गर्छ’ भन्ने खालको सन्देश दिनु ठिक हो कि होइन ? भिडिओ भाइरलपछि प्रश्न मुख्यमन्त्री कार्कीले सामना गरिरहेका छन् ।

०००

नेपाली कांग्रेसको संस्थापन पक्षलाई चकित बनाउँदै नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए कार्की । उनको सो मन्तव्य अहिलेको राजनीतिक व्यवस्थासँग मिल्दोजुल्दो छ ।

अन्यत्र असफल भएकाहरू राजनीतिमा लागेर पढाइमा आफूभन्दा तगडालाई शासन गर्छन् भन्ने उक्तिलाई कार्कीले आफ्नो मन्तव्यबाट पुष्टि गर्ने कोसिस गरेका छन् । खासमा अहिले नेपाली समाजमा भइरहेको पनि यो भन्दा खासै फरक छैन ।

यसैले हरेक क्षेत्रमा परिवर्तन भयो । काम गर्ने तौरतरिका बदलिए । प्रणालीमा परिवर्तन भयो । सबैभन्दा ठूलो परिवर्तन राजनीतिमा भयो तर, लास्ट बेन्चर नेताको नेतृत्वको कारण कार्यशैलीमा परिवर्तन आउन सकेन ।

नेपाली समाजमा अध्ययनमा अब्बल विद्यार्थी सरकारी जागिरतर्फ लाग्छन् । अरू पेशा व्यवसायमा लाग्छन् । कमजोरहरूले भने राजनीतिमा लागेर ती अब्बललाई शासन गर्ने दृष्टान्त छ । यसैले उनको भनाइ खासै अनौठो नलागेपनि अहिले चर्चामा छ ।

उनको यो भाषणले कतिपय शिक्षक र कर्मचारीहरूको चित्त दुखेको छ । सामाजिक सञ्जालमा उनीहरूले कार्कीले आफूलाई होच्याउने काम गरेको भन्दै आलोचना पनि गरेका छन् ।

‘लास्ट बेन्चर’ मुख्यमन्त्रीको अभिव्यक्तिप्रति कर्मचारी सङ्गठनको विरोध, सोध्यो- कस्तो प्रेरणा दिन खोजेको ?

‘कलिला स्कुले बालबालिकालाई अगाडि राखेर यस्तो अभिव्यक्ति दिँदा उनीहरूमा कस्तो प्रेरणा मिल्छ होला ?

अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् पछिल्ला बेन्चमा बसेर लखुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बन्छन् भन्दा कस्तो छाप पर्ला ?’ कतिपयले आलोचना गरिरहेको छन् ।

मुख्यमन्त्रीको यो अभिव्यक्ति अपरिपक्व र हचुवा भएकोले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको भन्दै कर्मचारी सङ्गठनले आरोप लगाएका छन् ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीको अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको टिप्पणी गरेको छ ।

उसले विज्ञप्तिमा भनेको छ, ‘राजनीति गर्ने सबै व्यक्ति व्याक बेन्च भएर लखुवा भई हिड्नेहरु मात्रै हुन् ? एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनत साथ लागेमा तपाईँहरू जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छन्, तर तपाईँहरू यो जुनिमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक कर्मचारी बन्न सक्नुहुन्न ।’

०००

सामान्यत क्लासमा नपढ्ने विद्यार्थीको स्थान भनेको सबैभन्दा पछाडि हो अर्थात् ‘लास्ट बेन्च’ । कक्षाकोठामा सबैभन्दा अगाडि बस्नेलाई राम्रो मनिन्छ । उ पढ्न लेख्नमा रुचि राख्ने खालको हुन्छ ।

साधरणतया पछिल्लो बेन्चमा बस्ने विद्यार्थीलाई भने हेयको दृष्टले हेरिन्छ, व्यवहार गरिन्छ । खासमा शिक्षकले आफ्ना कक्षाकोठाका सबैलाई समान व्यवहार गर्नुपर्ने, पछिल्लो बेन्चमा बस्नेलाई अझै बढी ध्यान पुर्‍याउनुपर्ने हो । तर, शिक्षकले समेत लास्ट बेन्चर मन पराउँदैनन् ।

अरू त अरू आफ्ना अभिभावकले समेत छोराछोरी लास्ट बेन्चमा नहोस् भन्ने चाहन्छन् । किनकि लास्ट बेन्चर पढाइमा अक्षम रहेको मानिन्छ । राजनीतिकर्मीहरू सक्षम र योग्य हुनुपर्छ ।

सबैलाई थाहै छ, राजनीतिकर्मीहरूको आचरण शुद्ध रहे देश प्रगतितर्फ लम्किन्छ भने विकृत भए देश न जनता, कसैले पनि चैनको, शान्तिको सास फेर्न पाउँदैनन् । तर, हाम्रो राजनीति उल्टो बाटामा हिँडिरहेको छ, मुख्यमन्त्री कार्कीले आफ्नै उदाहरण दिए भनेजस्तो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved