हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बिहीबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

नेपालभ्युज

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ)। बिहीबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले बताए।

बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन् । हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताए ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा बिहीबार सडक खुलाउन नसकिने बताए । शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ । उनका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ ।

उनले भने, “हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै कठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडी चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, हामीहरुले हिमपात रोकियो भने खुलाउने प्रयास गर्ने छौँ ।”

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् ।

ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved