आलेख

न सृष्टिको नियम बदलिन्छ न समयको गति, बद्लिनुपर्ने मान्छेको सोच मात्र हो

राजाको छोरा राजा हुनु सामान्य हो । राजाको छोरा बुद्ध वा महावीर हुनु असामान्य हो । सोचको विशिष्ठता सामान्यमा हैन, असामान्यमा हुन्छ । सोचको मौलिकता सामान्यमा हैन, असामान्यमा हुन्छ । हामीले त्यतिको राम्रो देश त बनाएकौ छौं नि जतिको हाम्रो सोच छ । जतिको हाम्रो मिथ, मेमोरी र संस्कार छ । हाम्रो क्षमताअनुसार हाम्रो देश बनेको तथ्यप्रति मेरो कुनै शंका, अविश्वास र द्विविधा छैन ।

न सृष्टिको नियम बदलिन्छ न समयको गति, बद्लिनुपर्ने मान्छेको सोच मात्र हो

हामी बारम्बार भन्छौं– समय बदलियो, अब हिजोजस्तो कहाँ के बाँकी रह्यो ? समयले छोड्यो हामीलाई, समयसँग कसको के लाग्छ ?

यदाकदा संशय उत्पन्न हुन्छ मेरो मनमा, के समय बदलिन्छ, के सृष्टिका नियम बदलिन्छन् ? बदलिएलान् दीर्घकालमा, लाखौं–करोडौं वर्षमा के भएको थियो ? के हुँदैछ ? के हुनेछ ? कसलाई थाहा छ ? भनिएका कुरा पनि अनुमान न हुन् ।

हजार वर्षको हिसाब राख्न असक्षम छ मान्छे । खास भन्ने हो भने सय वर्षको, आफ्नै जीवनकालको सही गणना गर्न असक्षम छ मान्छे । आफ्नै जीवनकालका घटनाको वास्तविकता के थियो किटेर सत्य भन्न सक्दैनौं हामी ।

अस्ति भर्खरैका कुरा हुन्, दरबार हत्याकाण्डको सत्यतथ्य के हो ? भन्न सक्दैन कसैले । दासढुंगा दुर्घटनाको वास्तविकता के हो ? भन्न सक्दैन कसैले ? अमर लामालाई कसले किन मारे, भन्न सक्दैन कसैले । भन्न त सकिन्छ केही न केही तर, त्यही नै सत्य हो भनेर मान्न गाह्रो पर्छ ।

अनि हामी इतिहासका घटनामा झगडा गरिरहेका हुन्छौं । यो भएको थियो, त्यो भएको थियो भनिरहेका हुन्छौं । आफ्नै जीवनकालका घटनाको सत्य भन्न सक्दैनौं । आफ्नै जीवनका सबै सत्य बोल्न सक्दैनौं सार्वजनिकरूपमा । मनभित्रै दबाएर मर्छौं कयौं कुरा । तर, बाहिरबाहिर सृष्टिको सबै नियम जानेजस्तो, समयको सबै गति बुझेजस्तो, इतिहासका सबै घटना आफ्नै आँखाले देखेजस्तो कुरा गर्न, गफ पेल्न पर्छ हामीलाई ।

हरेक मान्छेको जीवनका सीमा छन् । तर, हामी सीमाहीन प्रतिस्पर्धा र महत्वाकांक्षाको भाव साँचेर बाँचिरहेका हुन्छौं । इतिहासकारले लेख्छ केही कुरा– बढो दु:खले खोजेर । स्वयम् ऊ आफैँ ढुक्क हुँदैन कि उसले लेखेको सत्य सत्य हो कि हैन ? उसका खोजका सीमा थिए । उसले पाएका प्रमाणका सीमा थिए । तर, हामी यसरी विवाद गरिरहेका हुन्छौं कि मानौं हामी नै इतिहासका घटनाका साक्षी हौं । मानौं कि भर्खरै हामी त्यही थियौं– ‘टाइम ट्राभल’ गरेर यहाँ आएका हौं ।

यो संसारमा जित्नु केही छैन । पाउनु केही छैन । मरेर लानु केही छैन । बरु सरल सत्य यही हो । जन्मेको नमरेको कोही छैन । दाबी त गर्ला तर, मरेको फेरि जन्मेको कसैले पुष्टि गर्न सक्दैन । फेरि यो ‘हैहै’ केको हो ? फेरि यो ‘इगो’ केको हो ? फेरि यो महत्वाकांक्षा केको हो ?

लोभको ? स्वार्थको ? ईष्याको ? अरु केको ?

मान्छे इतिहासका सत्यतथ्य स्वीकार गरेर चल्ने प्राणी हैन । भए पनि थोरै होलान् त्यस्ता मान्छे । करोडौंमा दुईचार सय । अधिकांश मान्छेको प्रेरक ‘मिथ’ हो, ‘मेमोरी’ हो, ‘संस्कार’ हो । मान्छेको प्रेरक ‘मिथ’ मा छ मान्छे झगडा गरिरहेको छ इतिहासमा । मान्छेको भावना ‘मेमोरी’ मा छ, झगडा गरिरहेको छ– तथ्यमा । मान्छेको रुचि ‘संस्कार’ मा छ– झगडा गरिरहेको छ ज्ञान, विवेक र बुद्धिमा । अनि कुरा कसरी मिल्छ ? मिल्दै मिल्दैन ।

अन्यथा हाम्रो ब्रह्माण्ड बदलिएको छैन । हाम्रो सृष्टिको नियम पनि बदलिएको छैन । पछिल्लो ‘बिग ब्याङ’ यताको सूर्य उही हो, चन्द्रमा उही हो, धर्ती उही हो, तारा र ग्रहहरू उही हुन् । यिनको पिण्ड, गति, गुरुत्व र सन्तुलन उही हो । अनि कसरी बदलियो ब्रहमाण्ड ? कसरी बदलियो सृष्टिको नियम ?

धर्ती उही छ । उही माटो, उही पानी, उही हावा, उस्तै अग्नि र आकास । तिनै पहाड, नदी र समुन्द्र । तिनै जंगल, मरुभूमि र हिमाल । जंगलमा रुख थपियो कि घट्यो, मरुभूमिमा वालुवा थपियो कि घट्यो ? हिमालमा हिउँ, थपियो कि पग्लियो ? यो पनि कुनै सृष्टि बदलिन हो र ? यो पनि कुनै समय बदलिनु हो र ?

मात्रात्मक भिन्नता होला गुणात्मक हिसाबले हामी बाँचेको संसार एउटै हो । उही हावापानी, उही मौसम, उही तातो चिसो, उही शिशिर बसन्त, उही शरद हेमन्त । उही ग्रीष्म वर्ष ।

अहिलेसम्म वैज्ञानिकले सिद्ध गर्न खोजेको त्यही एउटा डाइनोसर लोप भएको मिथ हो । अरु जनावर त उनै होलान्, चराचुरुङ्गी उनै होलान् । केही प्रजाति लोप हुँदा थपिए होलान केही नयाँ । साङ्गोपाङ्गो हिसाब बराबर । फेरि बदलियो के ?

तिनै फूल, तिनै फलफूल । तिनै खाद्यान्न । चुल्होको प्रविधि बदलियो होला, आगो त उही हो ।

मान्छेका इन्द्रिय, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय उनै छन् । उही जिब्रो उही स्वाद, केही मीठो, केही नमीठो । उही आँखा, तिनै दृश्य, केही नबिझाउने, केही बिझाउने, उही नाक उही गन्ध, केही सुवासिने, केही गन्हाउने, उनी कान उनी भाषा, शब्द, केही प्रिय लाग्ने, केही अप्रिय लाग्ने ।

न ब्रह्माण्डको नियम बदलिएको छ न धर्तीको चरित्र । न मान्छेको जैविक चरित्र बदलिएको छ न समयको गति । त्यही एउटा बाँदरको पुच्छर हरायो र मान्छे भयो भन्ने मिथ छ डाइनोसरको जस्तै ।

फेरि बदलिएको के हो ? न सृष्टिको नियम न समयको गति, बदलिएको वा बदलिन नसकेको, वा बदलिनपर्ने चाहिँ के हो ?

त्यही एउटा हो– मान्छेको सोच । यो धर्तीमा अनेक प्रकारका दार्शनिक जन्मिए । समाजशास्त्री, मानवशास्त्री, मनोविज्ञानशास्त्री, राजनीतिशास्त्री आए । तिनले अनेक प्रकारले व्याख्या गर्न खोजे मान्छेको । ‘व्याख्या गर्न खोजे’ तर ‘व्याख्या गर्न’ सकेनन् । स्मरण रहोस– ‘व्याख्या गर्न खोज्नु’ र ‘व्याख्या गर्नु’ फरक कुरा हो ।

तिनले जति व्याख्या गरे मान्छेको, मान्छे तिनको व्याख्याभन्दा बाहिर निस्कँदै गयो । बढो बाउँठो, अड्बाङ्गे, आडे निस्कियो मान्छे । दार्शनिक कुनै एउटा समाज र मान्छेलाई हेरेर व्याख्या गर्न खोज्छ मान्छेको, अर्कोतिरबाट मान्छे अर्कै निस्कन्छ । विज्ञानका नियम बरु प्रकृति र पदार्थमा धेरै सिद्ध भएका छन् तर, दार्शनिकका नियम मान्छेमा पुष्टि हुन गाह्रो छ ।

कसैले भने मान्छेको इतिहास ‘धर्म–संघर्ष’ हो, कसैले भने ‘वर्ग–संघर्ष’ हो, कसैले भने ‘अहम् वा अस्तित्व–संघर्ष’ हो, कसैले भने ‘यौन–संघर्ष’ हो । कसैले भने ‘ज्ञान–संघर्ष’ हो, कसैले भने ‘शक्ति वा सत्ता संघर्ष’ हो । कसैले भने ‘संस्कृति वा सभ्यता संघर्ष’ हो । कसैले भने मान्छेको यावत् प्रयत्न परम् सत्यको खोज हो । मुक्ति, मोक्ष, निर्वाण, बुद्धत्व वा अमरत्वको आकांक्षा हो । के हो ?

पूरापूरा शंका लाग्छ मलाई । यी यावत् विश्लेषणमा । यी यावत् आधार, सैद्धान्तिकरण, वैचारिकी र दार्शनिकीमा । हो, एउटा कुरा स्वीकार गर्न सकिन्छ– कि मान्छेको इतिहास मान्छेको मष्तिष्कबाट निसृत छ । मान्छेका यावत् अंगहरू इन्द्रिय, ज्ञानेन्द्रीय, कर्मेन्द्रिय महत्त्वपूर्ण होलान्न् । तर, मान्छेको परिचय बन्ने, भिन्नता छुट्टिने त उसको मष्तिष्कले हो, उसको सोचले हो ।

शारीरिक तथा सांसारिक तहमा मान्छे के सोच्छ, त्यही हुँदै जान्छ । मान्छे जे अभ्यास गर्छ त्यही हुँदै जान्छ । मान्छे जे पढ्ने रुचि राख्छ त्यही हुँदै जान्छ । मान्छे जे गर्न मन पराउँछ त्यही हुँदै जान्छ । लेखक यसर्थ लेखक हो कि ऊ लेख्छ । डाक्टर यसर्थ डाक्टर हो कि ऊ चिकित्सा विज्ञानको अभ्यास गर्छ । किसान यसर्थ किसान हो कि ऊ खेती गर्छ ।

यी कर्म गर्ने सोच हरायो भने यी अस्तित्व पनि हराउँछन । नलेख्ने लेखक हुँदैन । बिमारीको उपचार नगर्ने डाक्टर हुँदैन । खेती नगर्ने किसान हुँदैन । यावत अरु सबै यस्तै हुन् । मान्छेको जैविक बनोटबाट मष्तिष्क हटाइदिनुस्, मष्तिष्कको चरित्र हटाइदिनुस्, मान्छे अर्थोक नै केही हुन्छ, या अन्य जनावर जस्तो हुन्छ वा या कुनै पदार्थ जस्तो हुन्छ तर, मान्छे रहँदैन ।

तसर्थ, मान्छेको सार सोच हो । यदि मान्छेको इतिहास संघर्ष नै हो भने पनि अरु कुनै संघर्ष हैन, ‘सोच–संघर्ष’ हो । यदि संघर्ष मात्र हैन भने ‘सोच–सामञ्जस्यता’, ‘सोच–सहअस्तित्व’ वा ‘सोच–सम्भोग’ हो । यो दुनियाँमा मान्छेले पाउनुपर्ने अरु कुनै कुरा छैन, त्यही एउटा सोचबाहेक । गौरव गर्नुपर्ने अरु कुनै कुरा छैन, त्यही एउटा सोचबाहेक । अरुबाट भिन्न गर्ने, मौलिक बनाउने कुनै कुरा छैन, त्यही एउटा सोचबाहेक । मान्छेको अस्तित्व वा अमरत्वलाई कायम गर्ने अरु कुनै कुरा छैन, त्यही एउटा सोचबाहेक ।

कोही बिग्रेका छन् भने सोचले बिग्रेका छन्, कोही बनेका छन् भने सोचले बनेका छन् । कोही साधुसन्त भएका छन् भने सोचले भएका छन् । कोही दुष्ट, बलात्कारी, भ्रष्टाचारी, दूराचारी भएका छन् भने सोचले भएका छन् ।

अक्सर भौतिकवादीहरूले गर्ने तर्क यही कि त्यसो भए सोच कहाँबाट आउँछ ? सोचको स्रोत के हो ? सोच उपरिसंरचना हो भने यसको आधार के हो ? किन कसैको सोच एक प्रकारको, किन कसैको सोच अर्को खालको ? के मष्तिष्कको विकासक्रम समान छ ? के मान्छेको सोच्ने प्रेरक समान छ ? यदि छैन भने त्यसको स्रोत फरक छ, त्यसैले सोच फरक छ ।

सांसारिक, शारीरिक तथा भौतिक तहमा यो सत्य हो । भौतिकवादीहरूलाई भौतिकवादमै उभिएर कुनै उत्तर दिन सकिँदैन । त्यसले उनीहरूको धार वा विचारको प्रासंगिकता रहिरहन्छ । त्यो पनि एउटा सोच हो, सोच्ने तरिका हो, ‘मोड अफ माइन्ड’ हो । तर, पराभौतिक, आध्यात्मिक तथा नैतिक तहमा यो सत्य हैन ।

कुनै एउटा भौतिक यथार्थले मान्छेको सोच एउटै बनाउँछ भन्ने पुष्टि छैन । जस्तो कि गौतम बुद्ध । उनी त त राजकुमार थिए । दरबार, राजकाज उनको भौतिक यथार्थ थियो । उनको सोच त छिटो राजा हुने, बरु त्यसका लागि पिता हत्याको षड्यन्त्र बुन्ने, सेना बढाउने, राज्यको सीमा फैलाउने, धेरैवटी रानी राख्ने, धेरैवटी सुन्दर महिलासँग सम्भोग गर्ने, धेरै धन थुपार्ने, धेरैवटा ठूला महल वा दरबार बनाउने, चक्रवर्ती सम्राट बन्ने हुनुपर्थ्यो होला । किन भएन ? किन उनको सोचमा यी चिज आएनन् जो उनको भौतिक यथार्थ वा व्यावहारिक परिवेश थिए ? बुद्ध, महावीरजस्तो केही अपवाद छोडेर अक्सर राजकुमार र राजाको मनमष्तिष्कमा आउने सोच यिनै हुन् ।

यसको अर्थ हो कि सोचको सीमा भौतिक यथार्थ वा व्यावहारिक परिवेशमा मात्र सीमित हुँदैन । यदि सीमित नै छ भने पनि त्यसको कुनै एकल रेखा छैन । एकल रेखा नै छ भने पनि त्यस रेखापंक्तिमा कुनै एक मात्र विकल्प छैन । जे भौतिक हो, त्यो सामान्य हो । जे पराभौतिक हो, त्यो सामान्य हो । जे एकल हो, त्यो सामान्य, जे अनेक हो, त्यो असामान्य हो । राजाको छोरा राजा हुनु सामान्य हो । राजाको छोरा बुद्ध वा महावीर हुनु असामान्य हो । सोचको विशिष्ठता सामान्यमा हैन, असामान्यमा हुन्छ । सोचको मौलिकता सामान्यमा हैन, असामान्यमा हुन्छ ।

सामान्यले राजनीति गर्छन् । पद पाउँछन् । धन कमाउँछन् । गाडी चड्छन् । भौतिक सुखभोग गर्दछन् । नमस्कार खान्छन् । प्रमुख अतिथि हुन्छन् । भाषण गर्दन्। घर बनाउँछन् । विदेश डुल्छन् । राम्रो वस्त्र लगाउँछन् । मीठा परिकार खान्छन् । बहुसम्भोगको सुखका लागि लिप्त वा प्रयत्नशील हुन्छन् । मान्छेलाई लाग्छ– यिनै प्राप्तिहरू असामान्य हुन् । खास हुन् । विशिष्ठ हुन् । ठूला उपलब्धि हुन् ।

यथार्थमा यी सामान्य हुन् । असामान्य त राजनीति गर्नु हैन, राजनीतिको दिशा र दशा बदल्नु हो। राजनीति र राज्यको चरित्र बदल्नु हो । राष्ट्र निर्माणको ‘प्यार्टन’ बद्ल्नु हो । यी चिज बदल्नु सृष्टिको नियम बदलिनु पर्दैन । समयको गति बदलिँदैन । बदलिने, बदलिनुपर्ने वा बदल्न सकिने भनेको सोच मात्रै हो ।

सोच बदल्नुस्, सबै थोक बदलिन्छ एकाएक । तत्क्षण । कुनै चमत्कार भएजस्तो । अन्यथा केही हुँदैन । जति प्रयत्न गर्नुस्, रुनुस्, कराउनुस्, टाउको ठोक्नुस्, मरिहत्ते गर्नुस्, केही हुँदैन ।

खासमा अहिले हाम्रा नेताहरूले गर्न नसकेको त्यही हो, सोच बदल्न नसकेको हो । सामान्य सोचबाट असामान्य परिणामको अपेक्षा गरेको हो, जो असम्भव छ । असामान्य परिणामका लागि असामान्य सोच र असामान्य प्रयत्न चाहिन्छ । त्यो छैन, कसैमा । हिजो थियो अलिअलि । आज एकाएक सबै चिज सामान्य भएका छन् ।

देउव–ओली हेर्‍यो उस्तै । प्रचण्ड–बाबुराम हेर्‍यो उस्तै । माधव–झलनाथ उस्तै । महन्थ–महतो उस्तै । उपेन्द्र–महेन्द्र उस्तै । मोहन विक्रम–मोहन वैद्य उस्तै । आहुति–विप्लव उस्तै । राउत–रेशम–रवि उस्तै । सबै सामान्य सोच र प्रयत्नबाट असामान्य परिणामको अपेक्षा गरेर बसेका छन्, जो हुनेवाला छैन । अहिले पूर्वाग्रहजस्तो लाग्छ, तर, हेर्दै जानुहोला, किमार्थ हुनेवाला छैन । दरबारको सुखभोग र बुद्धत्वको अमरता एक साथ उपलब्ध हुनै सक्दैन ।

मैले उमेरको कुरा गरिरहेको छैन । सामान्य वैचारिकी र कार्यदिशाको पनि कुरा गरिरहेको छैन । सोच बदल्ने कुरा आफैँमा असामान्य हो, सामान्य हैन । यो ‘उमेरको दूरी’ (एज ग्याप) वा ‘पुस्ताको दूरी’ (जेनेरेशसन ग्याप) हैन, युगान्तको दूरी (इरा ग्याप) हो । मानव इतिहासमा जति पनि युग आए, त्यसका अरु, भौतिक र सहायक कारण पनि थिए । तर, मुख्य कारण त्यो बेलाका औसत मान्छेको सोच्ने तरिका थियो ।

हाम्रा नियत र नियति धेरै फरक हैनन, हाम्रो ‘इगो’ मात्रै ठूलो हो । प्रधानमन्त्रीले आफ्नै नजिककालाई देशमा राख्ने सोच रोज्न सकिरहेका छैन । लाखौं युवालाई देशभित्रै रोजगारी दिने सोच बनाउला भनेर कसले विश्वास गर्दछ ?

कुरा प्रचण्डको मात्र हैन, सायद सबैको हो । यदि राम्रो खोजनीति गर्ने हो भने सबैजसो ठूला नेता र प्रसाशकको घरभित्रको हालत यही हो । नेता र प्रसाशकको मात्र हैन, पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र कुनै दिन अमेरिकाको कुनै होटलमा भाँडा माझ्दै, पेट्रोल पम्पमा तेल भर्दै, कुनै परिसरको फूलबारी गोड्दै वा विश्वविद्यालयको पुस्तकालमा किताब मिलाउँदै भेटिए भने कुनै आश्चर्य हुँदैन, बरु सामान्य हुन्छ ।

हामीले त्यतिको राम्रो देश त बनाएकौ छौं नि जतिको हाम्रो सोच छ । जतिको हाम्रो मिथ, मेमोरी र संस्कार छ । हाम्रो क्षमताअनुसार हाम्रो देश बनेको तथ्यप्रति मेरो कुनै शंका, अविश्वास र द्विविधा छैन । उपलब्ध स्रोत, साधन र अवसरअनुरूपको देश बनेकै छ ।

सोच बदल्नुको औचित्य त्यहाँनेर, यी प्रश्नमा छैन । भएको क्षमता प्रयोग गर्ने कि नयाँ क्षमतास्तर हासिल गर्ने ? अवसरको प्रयोग गर्ने कि अवसरको अधिकीकरण गर्ने ? सोच बदल्ने प्रश्न यहाँनेर आकर्षित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved