सुजाता कोइरालालाई पनि चाहियो हिन्दूराष्ट्र, महासमितिमा बन्ला ‘एजेन्डा’ ? 

उसो त कांग्रेसभित्र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह हुनुपर्ने आवाज संविधान बनेयता नै उठ्दै आएको हो । संविधान बनेको डेढ वर्ष नपुग्दै २०७३ चैत्र १३ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रस्ताव पेश गरेका थिए ।

नेपालभ्युज

सुजाता कोइरालालाई पनि चाहियो हिन्दूराष्ट्र, महासमितिमा बन्ला ‘एजेन्डा’ ? 

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र हिन्दू राष्ट्रबारे बहस भइरहेको बेला पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेतृ सुजाता कोइरालाले पनि हिन्दू राष्ट्रकै पक्षमा वकालत गरेकी छन् ।

पत्रकार जीवराम भण्डारीसँगको अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्, “हिन्दू राष्ट्रको एजेन्डाले स्थान पाउँदाखेरि देशलाई नराम्रोचाहिँ हुँदैन । किनभने नेपालमा अस्थिरता आउनुको एउटा ठूलो कारणचाहिँ यो पनि हो; कि जहाँ ८० प्रतिशत हिन्दू छन् अथवा भनौँ न मुस्लिम छन्, कृष्चियन छन्, त्यहाँ त्यही धर्म सापेक्ष हुनुपर्छ ।”

सँग उनी थप्छिन्, “यो जनताले चाहेको कुरा हो । अब यसलाई शेरबहादुरजीहरूले दबाएर राख्न सक्नुहुन्न । महासमिति बैठकमा एउटा एजेन्डा राख्दा हुन्छ । किनभने यो त जनताले चाहेको कुरा हो नि त !”

पूर्वराजा ल्याउँदासमेत फरक नपर्ने बताएकी उनले थपिन्, “हिन्दू राष्ट्रबारे आगामी महासमिति बैठकमा छलफल गराइदिँदा भइहाल्यो, मलाई लाग्छ यो उठ्छ पनि । किनभने नेताहरूले त्यसैगरी तयारीसमेत गरिरहनुभएको छ भन्ने बुझेको छु ।”

त्यसो त कांग्रेसभित्र हिन्दू राष्ट्रको पक्षमा एउटा जमात छ । पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला, केन्द्रीय सदस्यद्वय शङ्कर भण्डारी, मधु आचार्यलगायतका नेताहरूले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्छन् । उनीहरूले आगामी महासमिति बैठकमा यो विषय एजेन्डा बन्नुपर्ने माग गरिरहका छन् ।

त्यसो त यसअघि मंसिर १२ गते नवलपुर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ‘हिन्दू राष्ट्रबारे सोच्न सकिन्छ’ भनेर अभिव्यक्ति दिएका थिए । हिन्दू राष्ट्रको वकालतकर्ता शशाङ्क कोइरालाकै क्षेत्रमै उनले किन बोले भनेर छलफल तथा बहससमेत भएको थियो ।

किन खेले देउवाले धर्मको ‘कार्ड’ ?

तर, उनले हिन्दू राष्ट्रको पक्षमा रहेका नेताहरूको मुख टाल्नमात्रै त्यस्तो बोलेको कतिपय नेताहरूको बुझाइ छ । सभापति देउवानिकट एक नेता भन्छन्, “कुन आधारमा त्यो बोल्नुभयो, त्यो त उहाँ स्वयम् जान्नुहुन्छ । तर, मलाईचाहिँ दबाब थेग्न नसकेर दबाब दिनेहरूलाई थम्थमाउनका लागि भन्नुभएको हो जस्तो लाग्छ । किनभने उहाँमाथि त्यसका पक्षधर नेताहरूले निकै दबाब बढाउनुभएको थियो एकताका ।”

नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार रहेको र एक वर्षपछि आफैँ सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा सभापति देउवाले हिन्दू राष्ट्रलाई एजेन्डा नबनाउने ती नेताको ठम्याइँ छ । “पहिलो कुरा त उहाँ आफैँ हिन्दू राष्ट्रकै पक्षमा हो भन्ने होइन । दोस्रो कुराचाहिँ बैठकमा एजेन्डा नै बन्दैन । किनभने अहिलेको अवस्था त्यो होइन ।”

कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म महासमिति बैठक गर्दैछ । उक्त बैठकमा छलफल हुनुपर्ने एजेन्डामध्ये हिन्दूराष्ट्र पनि एक हुनुपर्ने नेताहरूको माग छ । यहीबेला सुजाता कोइरालाले पनि त्यसकै पक्षमा वकालत गरेकी हुन् ।

उसो त कांग्रेसभित्र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह हुनुपर्ने आवाज संविधान बनेयता नै उठ्दै आएको हो । संविधान बनेको डेढ वर्ष नपुग्दै २०७३ चैत्र १३ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रस्ताव पेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved