किन खेले देउवाले धर्मको ‘कार्ड’ ?

कतिपयले देउवाले महासमितिमा यस सन्दर्भमा छलफल हुनुपर्छ भनेर आफूमाथि दबाब बढाउनेलाई अल्मल्याउन मात्रै बोलेका हुन् भनेर भन्ने गरेका छन् । तर, कतिपयले भने देउवाले धर्मको ‘कार्ड’ फालेर आफू सत्तारोहण गर्न खोजेको बताउन थालेका छन् ।

नेपालभ्युज

किन खेले देउवाले धर्मको ‘कार्ड’ ?

काठमाडौं । नेपालमा राजावादी-हिन्दूवादी छँदैछन्, राजा-हिन्दू धर्मसापेक्षता चाहिन्छ भन्ने राजनीतिक दल पनि छँदैछन् । त्यसका अलावा यसबीचमा यहीसँग सम्बन्धित केही घटना घटे, केही आन्दोलन तथा प्रदर्शन भए ।

अलिक पहिले प्रदेश १ मा हिन्दूवादी र पहिचानवादीबीच समानान्तर आन्दोलन भयो । हिंसा भड्किने देखेपछि प्रशासन नै हाबी हुनपर्‍यो । त्यहाँ हिंसा भड्किनबाट बच्यो । अलिक पछि यस्तै प्रयास सर्लाहीमा पनि भएको थियो ।

वामपन्थी हुँदै राजावादीको कित्तामा पुगेका दुर्गा प्रसाईंको आन्दोलन भर्खरै तुहिएको छ । उता सधैँका राजावादी दलले शृङ्खलाबद्ध आन्दोलनको घोषणा गरिरहेकै छन् । जनताको समर्थन अझ बढी प्राप्त गरेको भन्दै हौसिएका उनीहरू सशक्तरूपमा अघि बढ्ने बताइरहन्छन् ।

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) कै नेता रामकुमार शर्माले पनि धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह गर्न माग गरे । गत जेठ ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनले यसबारे ज्ञापनपत्र नै बुझाएका छन् ।

यही पृष्ठभूमिमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १२ गते नवलपुर पुगेर प्वाक्क बोले—धर्मको विषयमा मान्छेहरू सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ ।

त्यसो त कांग्रेसभित्र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह हुनुपर्ने आवाज संविधान बनेयता नै उठ्दै आएको हो । संविधान बनेको डेढ वर्ष नपुग्दै २०७३ चैत्र १३ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रस्ताव पेश गरेका थिए ।

त्यसयता धेरै कांग्रेस नेताहरूले यसको पक्षमा बोलिसकेका छन् । अहिले पनि कतिपय नेता यसकै पक्षमा छन्, पार्टीमा त्यही कुरा उठाइरहन्छन्, सभापति देउवालाई दबाब दिइरहन्छन् ।

पूर्वमहामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारी, नेता मधु आचार्यलगायतका नेताहरू अबको महासमिति बैठकमा हिन्दूराष्ट्रबारे छलफल हुनुपर्नेमा छन् । महासमिति बैठक मंसिर १६ देखि १९ गतेसम्म काठमाडौंमा बस्दैछ । उनीहरूले धर्मका सन्दर्भमा जनतालाई नै फैसला गर्न दिनुपर्ने उल्लेख गर्दै धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रहको माग गरेका छन् । शशाङ्कले त यसअघि कांग्रेस सरकारमा गएपछि त्यसमाथि जनमत सङ्ग्रह हुने भनेरै बोलिसकेका पनि छन् ।

अहिले देउवाले उनकै क्षेत्र पुगेर ‘…सरसल्लाह गर्न सकिन्छ’ भनेर बोल्नुले ठूलो अर्थ राख्ने बताउन थालिएको छ । तर, कतिपयले भने देउवाले महासमितिमा यस सन्दर्भमा छलफल हुनुपर्छ भनेर आफूमाथि दबाब बढाउनेहरूलाई अल्मल्याउन मात्रै बोलेका हुन् भनेर भन्ने गरेका छन् । कतिपयले भने देउवाले धर्मको ‘कार्ड’ फालेर आफू सत्तारोहण गर्न खोजेको बताउन थालेका छन् ।

स्रोतकाअनुसार केही समयअघि बसेको सत्तारूढ गठबन्धनको बैठकमा पनि देउवाले यसबारे बोलेका थिए । उनले नेपाल हिन्दूसापेक्ष राज्य हुनुपर्ने धारणा राखेका थिए । संविधानमा राखिएको धर्मनिरपेक्ष शब्दावली नमिलेको उल्लेख गर्दै उनले यसबारे पुनर्विचार गर्ने कि भनेर भनेका थिए । स्रोतकाअनुसार देउवाले सुरूमा आफ्नो पार्टीभित्र ‘कोर टीम’मा यसबारे छलफल गरेका थिए ।

देउवाका निकट नेता मीनबहादुर विश्वकर्मा भने कांग्रेस हिन्दूराष्ट्रको पक्षधर दल नभएको बताउँछन् । उनको भनाइ मान्ने हो भने आउँदो महासमिति बैठकमा पनि यसबारे कुनै छलफल हुने छैन । “उहाँले प्रसङ्गबस् त्यो भन्नुभयो । तर, उहाँको भनाइमा त्यस्तो केही छैन । महासमिति बैठकमा पनि यसबारे छलफल हुँदैन,” उनले भने ।

अरु नेताहरू भने देउवा धर्मका बारेमा छलफल गर्न सकारात्मक नै भएको बताउँछन् । एक नेता भन्छन्— हामीले निकै पहिल्यैदेखि छलफल हुनुपर्छ भनेर माग गर्दै आएका हौँ । अब महासमितिमा छलफल हुनुपर्छ र त्यसका लागि हामीले सभापतिजीलाई भनिसकेका छौँ । उहाँ सकारात्मक हुनुहुन्छ ।

तर, पनि देउवाले यही बेला किन यस्तो प्रतिक्रिया दिए ? राजनीतिक विश्लेषक अरुण सुवेदी देउवाको त्यो भनाइलाई सामान्यरूपमा लिनुपर्ने बताउँछन् ।

“संविधानका केही अन्तर्वस्तुमाथि जुन प्रकारबाट भिन्नभिन्नै कोणबाट असन्तुष्टि व्यापकरूपमा अगाडि बढिरहेको छ । यसलाई कुनै न कुनै ठाउँमा गएर सम्बोधन गर्नुपर्छ भन्ने चेत नेपाली कांग्रेसमा भइसक्यो । त्यसैको रूपमा मैले यसलाई बुझेको छु,” विश्लेषक सुवेदीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved