असी हजार रूपैयाँ घुस लिएको भन्दै इन्जिनियरविरुद्ध मुद्दा दर्ता

नेपालभ्युज

काठमाडौं । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग घुस मागेको आरोपमा एक सव–इन्जिनियरविरुद्ध मुद्दा दायर भएको छ ।

करारमा कार्यरत बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर टिकाराज राईसहित दुईजना विरुद्ध मुद्दा दायर गरिएको हो ।

सव–इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले मिलोमतोमा निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने गरेका थिए । उनीहरुमाथि जरिवाना र कैद सजायको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

राई र सुनुवार मिलेर असी हजार रुपैयाँ लिइसकेको पुष्टि भएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

टिकाराज राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (ज्ञ) बमोजिमको कसुरमा बिगो असी हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन माग गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम हुने कैद सजायलाई आधार मानी रामचन्द्र सुनुवारलाई सोही ऐनको दफा २२ बमोजिम आधा सजाय माग गरिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved