‘मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय मेगावाट बिजुली’  

नेपालभ्युज

‘मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय मेगावाट बिजुली’  

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताए ।
ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उनले जानकारी दिए ।

मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा थप प्रगति गर्न अझ मेहनत जरुरी रहेको उल्लेख गर्दै समस्याको जगमा नै समाधान खोज्न सकिने बताए । उनले बहकिएर मात्रै मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा अगाडि बढाउन नसकिने धारणा राख्नुभयो । उनले अर्थतन्त्रको दबाव चिर्दै राष्ट्रिय पुँजी निर्माण गर्न सरकार र व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

“तथ्य तथ्याङ्कले भन्छ, मुलुक आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढेको छ”, ऊर्जामन्त्री बस्नेतले भने, “एक वर्षको निरन्तर मेहनतबाट अर्थतन्त्र सुधारको अवस्थामा छ । देश उन्नतितर्फ अघि बढिरहेकाले अब निरासाजनक नभइ उत्साहकासाथ अघि बढ्नुपर्छ ।”

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा व्यक्त महासङ्घको वार्षिक साधारण सभाको सफलताको शुभकामना सन्देश ऊर्जामन्त्री बस्नेतले सुनाएका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सरकारले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्न उपयुक्त कदम चालेकाले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । उहाँले यसलाई गतिशील बनाउन जलविद्युत, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी अभिवृद्धि गर्दै आन्तरिक उत्पादन र रोजगारी बढाउनेतर्फ अग्रसर हुनुको विकल्प नरहेको बताए ।  रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved