कानुन व्यवसाय छोडेर सुन्तला खेती, एक वर्षमै ६० लाख आम्दानी

नेपालभ्युज

कानुन व्यवसाय छोडेर सुन्तला खेती, एक वर्षमै ६० लाख आम्दानी

काठमाडौं । कानुन व्यवसाय चटक्कै छोडेर सुन्तला खेतीमा लागेका फणिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बनेका छन् । यस वर्ष मात्र उनले झन्डै ६० लाख रुपियाँ बराबरको सुन्तला बिक्री गरेका छन् ।

अर्जुनचौपारी गाउँपालिका थापाथोकका ६४ वर्षीय अर्यालले गत वर्ष करिब ६५ लाख रुपियाँ बराबरको सुन्तला बिक्री गरेका थिए । ८० रोपनी जग्गामा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका अर्यालले सिँचाइ सुविधा भएको धान खेत मासेर त्रिपुत्र बागवानी फार्ममार्फत सुन्तला खेती गर्दै आएका छन् ।

७० मेट्रिक टन सुन्तला उत्पादन भएको बगैँचाबाट प्रतिकिलो ७५ देखि ८५ रुपियाँमा बिक्री हुने गरेको कृषक अर्यालले बताए । गत वर्ष ८५ मेट्रिक टन सुन्तला उत्पादन गरेर प्रतिकिलो ७५ रुपियाँमा बिक्री गर्दा झन्डै ६५ लाख रुपियाँ आम्दानी भएको उनले सुनाए । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन अलिक घटेको उनको भनाई छ ।

२०३६ सालबाटै सुन्तला लगाउन थालेका अर्यालले २०५५ सालदेखि मात्रै व्यावसायिक सुन्तला उत्पादन गर्दै आएका हुन् ।
अर्यालले झन्डै ५० लाख रुपियाँको लागतमा ग्रेडिङ मेसिन जडान गरेर सुन्तलाको मूल्य अनुसार ठुला र साना छुट्याएर बेच्दै आएका छन् ।

उनको सुन्तला भाटभटेनी सुपर मार्केटमार्फत बिक्री हुँदै आएको छ ।

बगैँचाको रेखदेख, गोडमेल र मलको व्यवस्थापन गर्दा वर्षभरिमा झन्डै २५ लाख रुपियाँ लगानी हुने गरेको अर्यालको भनाइ छ । बगैँचाको हेरचाह गर्न नियमित पाँच जनाले रोजगारी पाएका छन् ।

उनले सुन्तला पाक्ने समयमा भने ४५ देखि ५० जनालाई रोजगारी दिने गरेको गोरखापत्रमा समाचार छ  । आफ्नो बगैँचाका साथै स्थानीय गाउँबाट झन्डै चार करोड रुपियाँ बराबरको सुन्तला खरिदबिक्री गर्दै आएको अर्यालको भनाइ छ ।

अर्यालले सुन्तला खेती गरेर छोराछोरीलाई उच्च शिक्षा पढाएका छन् । जेठो छोरा कृषि विषय (एजी) पढ्न अस्ट्रेलिया, माइलो छोरा एमबिए पढ्न अमेरिका र कान्छो छोरा इन्जिनियरिङ पढ्न भारत गएको अर्यालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved