घरजग्गा मेला : कारोबार सुध्रने आसमा व्यवसायी

नेपालभ्युज

घरजग्गा मेला : कारोबार सुध्रने आसमा व्यवसायी

काठमाडौं । चितवनबाट घरजग्गा कारोबार गर्दै आइरहेका व्यवसायी दिनेशकुमार चुकी काठमाडौंमा सञ्चालित आठौं घरजग्गा मेलामा सहभागी भएका छन् । उनले घरजग्गा कारोबार गर्न थालेको झन्डै तीस वर्ष भयो । वि.सं. २०५० सालदेखि घरजग्गा कारोबारमा लागेका उनी पछिल्लो कारोबारको अवस्थाबाट निराश छन् ।

चालु आर्थिक वर्षको पहिलो महिनाबाट सरकारले घरजग्गा कित्ताकाट फुकुवा गरेपनि अपेक्षित रुपमा फस्टाउन भने सकेको थिएन। सोही कुरालाई मध्यनजर गर्दै राष्ट्रबैैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा घरजग्गा कारोबारको जोखिम भार १५० बाट घटाएर १२५ कायम गरिदियो । त्यसले आफूहरुमा केही उत्साह पलाएको व्यवसायी चुकी बताउँछन्।

कोराना महामारी, विश्व आर्थिक मन्दीजस्ता यावत समस्याले थलिएको घरजग्गा कारोबार बिस्तारै तंग्रिने छाँट देखिएको उनको भनाई छ । अहिले भृकुटीमण्डपमा सञ्चालन भइरहेको आठौं रियल स्टेट एक्पोले घरजग्गा कारोबारमा केही सहयोग पुग्नेमा उनी विश्वस्त छन् ।

‘यो एक्पो त एउटा मार्केटिङ गर्ने ठाउँ न हो । यहाँ आउनुभएका अवलोकनकर्ताहरुले हेर्नुहुन्छ, बुझ्नुहुन्छ अनि सम्पर्क नम्बर लिएर जानुहुन्छ’,उनले भने ‘यसबाट आफ्नो व्यवसायको केही प्रवर्द्धन हुन्छ ।’ जागिरे व्यक्ति तथा निम्न वर्गका व्यक्तिहरुको घरजग्गा किन्ने सपना साकार पर्नका लागि आफू लागि परिरहेको उनी बताउँछन् । यद्यपि, कारोबारको अवस्था राम्रो छ भन्न नमिल्ने उनको भनाई छ ।

बिहीबार रियल स्टेट एक्पो मेलाको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता क्षेष्ठले घरजग्गामा लगाएको हदबन्दी हटाउन आफू क्रियाशील रहेको बताएकी छन् । उनले भनिन् ‘रियल स्टेट क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मैले राम्रोसँग बुझेको छु, त्यसमा मन्त्रालयले गृहकार्य गरिरहेको छ ।’

त्यस्तै, मेलाको उद्घाटनलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजीगत खर्चको अवस्था ज्यादै न्यून रहेको बताए । यस अवधिमा १५ प्रतिशत पनि पूँजीगत खर्च नभएको जिकिर गर्दै सरकारले अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तीव्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

‘चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजीगत खर्चको अवस्था ज्यादै न्यून छ । यस अवधिमा १५ प्रतिशत पनि पूँजीगत खर्च भएको छैन’, उनले भने ‘बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल घरजग्गा कारोबारलाई चलायमान बनाउन सके अर्थतन्त्र सुदृढ हुने बताउँछन् ।

उनले घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘घरजग्गा कारोबारबाट मोटामोटी मुलुकलाई झन्डै अर्ब हाराहारीको राजश्व प्राप्त भइरहेको छ’, उनले भने ‘यसलाई अलि व्यवस्थित गरेर, व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले कर्जाको जोखिम भार अझै घटाएर पहिलाकै अवस्थामा अर्थात् १०० मा नै पुर्याउनु पर्नेमा जोड दिए ।

घरजग्गा कारोबारलाई चलायमान बनाउने उदेश्यसहित सञ्चालन गरिएको उक्त मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादनलाई प्रदर्शनमा राखेका छन् ।

बैंक र बीमा कम्पनीसहित घर तथा अपार्टमेण्ट, रियल स्टेट तथा इन्जिनियरिङ् सेवासहितका ६० वटा स्टल रहेको यस एक्पोमा २ अर्ब ५० करोड रुपैयाँको बराबरको कारोबार हुने संघको अनुमान छ ।

पुस १२ गतेबाट सुरु भएको उक्त मेला पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved