दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका छ : उपराष्ट्रपति

नेपालभ्युज

दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका छ : उपराष्ट्रपति

भक्तपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

भक्तपुर दरबार क्षेत्रमा रहेको श्री पद्य माध्यमिक विद्यालय एक सय वर्षमा पुगेको अवसरमा विद्यालयमा आज आयोजना गरिएको शत्वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्ने बताएका हुन् ।

उपराष्ट्रपति यादवले विद्यालयलाई उत्कृष्ट बनाउन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकको एकापसमा सहकार्य आवश्यक रहने बताउँदै यो विद्यालयले देशकै नाम उच्च राख्ने गरी गुणस्तरीय शिक्षा प्रदान गरेको बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले २०७२ को भूकम्पले क्षति गरेको विद्यालयको भवन अझै पनि पुनःनिर्माण हुन नसकेको भन्दै नगरपालिकाले नक्सा पास नगर्नु दुर्भाग्य भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तिलकप्रकाश कायस्थ, विद्यालयका पूर्वप्रधानाध्यापक विक्रमबहादुर कायस्थले भक्तपुरको शिक्षाको विकासमा यो विद्यालयले ठूलो योगदान दिएको चर्चा गरे ।

विद्यालयका प्राचार्य राम हाडाले विद्यालय र कलेजको प्रगति प्रतिवेदन सार्वजनिक गर्दैै देशभरका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई अतिरिक्त एवं सामाजिक क्रियाकलापमा सहभागी गराउँदै आएको बताए ।

कार्यक्रममा पूर्वप्रधानाध्यापक नृपतिलाल प्रधानाङ्ग, विक्रमबहादुर कायस्थ र रामगोपाल कर्माचार्यलाई सम्मान गरिएको थियो भने उत्कृष्ट छात्रछात्रालाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved