कहिलेसम्म रहला राजतन्त्रको ‘नोस्टाल्जिया’ ?

शाहवंशीय राजतन्त्र खासमा कुनै गतिलो शासन प्रणाली थिएन । न त यस वंशमा आदर्श र सम्मान गर्न योग्य राजा नै धेरै जन्मिए । शाहवंशका संस्थापक पृथ्वीनारायण शाहलाई छोडेर बाँकी कुनै चर्चा गर्न योग्य राजा जन्मिएन । बरु एकपछि अर्को नालायक, सन्की, पाखण्डी, कायर र स्त्रीलम्पट राजा जन्मिनु शाहवंशको नियति बन्यो ।

कहिलेसम्म रहला राजतन्त्रको ‘नोस्टाल्जिया’ ?

काठमाडौं । अङ्ग्रेजीको ‘नोस्टाल्जिया’ लाई नेपाली अनुवाद गर्न त्यति सजिलो हुँदैन । त्यसो त यसको अङ्ग्रेजी अर्थ नै आफैँमा विरोधाभासपूर्ण छ । कतिपयले यसलाई नकारात्मक अर्थमा लिन्छन् । नकारात्मक पक्षबाट हेर्दा यसको अर्थ ‘गहिरो विषाद, उदासीनता, स्मृतिशेष, विगत, बाल्यकाल वा गृह-सम्झनाको मनोरोग’ हुन्छ ।

मनोविज्ञानवेत्ताले प्रारम्भमा नोस्टाल्जियालाई यस्तै-यस्तै नकारात्मक अर्थमा लिन्थे । कतिपयले त एक मनोवैज्ञानिक रोग नै मान्थे । किनकि यसले मान्छेलाई विगतको स्मृतिमा यति डुबाउँथ्यो कि वर्तमानको यथार्थ र भविष्यको कर्तव्यपथबाटै च्यूत गराइदिन्थ्यो ।

पछिल्ला अध्ययन-अनुसन्धानले यो रोग नै हो भन्ने त पुष्टि भएन तर, पूर्णतः सकारात्मक भाव भएको मानसिक प्रवर्ग हो भन्ने आमबुझाइ अझै पनि छैन ।

सकारात्मक अर्थमा यसलाई ‘स्मृति-आनन्द’ भन्न सकिन्छ । त्यस्ता पुराना कुरा सम्झेर रमाउनु जो फर्किएर आउनेवाला छैनन् । अझ महत्त्वपूर्ण कुरा त के हो भने जुन विगत घटनाको सम्झनाबाट त्यस्तो आनन्दको अनुभूति भइरहेको हुन्छ, स्वयम् त्यो घटना भोगेको बेलाचाहिँ सुखद थियो कि दुखद् ? यो प्रश्न बाँकी नै रहन्छ ।

नोस्टाल्जियाको अर्थमा ती भाव पनि समावेश हुन्छन्, जो विगतमा भोगेको घटना दुखद्, कष्टकर र अप्रिय नै थियो भने पनि सम्झनामा मीठो लाग्दछन् । जस्तो कि स्कूलमा गृहकार्य नगरेको बहानामा विद्यार्थीलाई शिक्षकले छडीले हत्केलामा सुम्ला उठ्नेगरी पिटेका थिए । शिक्षकले त्यसरी पिट्दा विद्यार्थीलाई दुखेको थियो । आँखाबाट आँसु खसेको थियो । साथीभाइको सामुन्ने लाज भएको थियो । आत्मसम्मान गिरेको थियो । शिर निहुरेको थियो ।

त्यस्तो घटना जो पीडादायी थियो, वर्षौँपछि स्मृतिमा ल्याउँदा मनमा एकप्रकारको आनन्दभाव आउन सक्दछ । मैले त्यस्ता दिन पनि भोगेँ भन्ने भाव उत्पन्न हुन सक्दछ । ती शिक्षकले पिटेको इखले त्यसपछिका दिनमा पढाइमा प्रगति गरेँ भन्ने भावना सिर्जना हुन सक्दछ । ती शिक्षकलाई भेट्ने, सम्मान तथा कृतज्ञता व्यक्त गर्ने भावना पनि हुन सक्दछ ।

प्राय: मान्छेको मनोदशा स्थिर हैन, तलमाथि, घटबढ र यताउता भइरहेको हुन्छ । यो मनोवैज्ञानिक सत्य हो । नोस्टाल्जिया त्यसैको एक विरोधाभासपूर्ण अनुभूति हो । यसको केही अंश सकारात्मक जस्तो, खुशी र आनन्दजस्तो लाग्दछ । तर, खासमा हामी जुन घटना वा कालखण्डको सम्झना गरिरहेका हुन्छौँ र सम्झनाको तरंगबाट उत्पन्न आनन्द उठाइरहेका हुन्छौँ, त्यो अक्सर पीडादायक घटना वा कालखण्डबाट बनेको हुन्छ । तसर्थ यसलाई मीठो-पीडा, दुखद्-आनन्द, नमिठो-खुसी, तीतो-सत्य, प्रिय-कष्टहरूजस्ता विरोधाभासी भावमा व्यक्त गर्न सकिन्छ ।

एडोल्फ हिटलर जर्मनीका एक खुंखार तानाशाह, बर्चश्ववादी तथा युद्धप्रेमी शासक थिए । उनको उदय नभएको भए सायद दोस्रो विश्वयुद्ध नहुन सक्दथ्यो । करोडौं मान्छेको ज्यान न जान सक्थ्यो । मानव सभ्यताले एक महाकलंक भोग्न नपर्ने हुन सक्थ्यो ।

हिटलरको उदय र अन्त्य, चरित्र र कर्म, शासनकाल र प्रवृति गलत हुन् भन्ने कुरामा विरलै मान्छेको विमति हुन्छ । तर, आज पनि हिटलरका समर्थक छन् । उनको समर्थक हुन पाउने अधिकारलाई कसले रोक्न सक्दछ ?

कम्युनिष्ट विश्वमा त्यस्तै अर्को खुंखार तानाशाह थिए, सोभियत संघका जोसेफ स्टालिन । उनले आफ्नै वोल्शेभिक पार्टीका करिब २०० केन्द्रीय सदस्यमध्ये १३८ जनालाई यात राज्य-हिंसा र दमनद्वारा मारेका थिए यात जेल पठाएका थिए । स्टालिनको बर्बरता इतिहाससिद्ध हो तर, कम्युनिष्टहरूको एउटा हिस्साले आज पनि संसारभरि उनको फोटो पूजा गर्छन् । त्यो पनि कार्लमार्क्स र लेनिनकै हाराहारीमा राखेर ।

त्यसो गर्न उचित हैन भनेर उनीहरूलाई कसले बुझाउन सक्दछ ? त्यो उनीहरूको अधिकार त हो तर, कस्तो अधिकार ? कस्तो आदर्शप्रेरित अधिकार ? कस्तो समाज, राष्ट्र वा राज्य बनाउन चाहने अभिप्रायप्रेरित अधिकार ?

मानिस आफैँलाई दु:ख  दिने चिजहरूको आफैँले समर्थन गर्दै किन हिँड्छ ? इतिहास थाहा नभएर पक्कै हैन । कम्तिमा नोस्टाल्जिया इतिहास थाहा नभएर आउने भाव हैन । त्यो भोगाइबाट आउने हो । तर, दुखद् भोगाइहरूलाई पनि किन मान्छेले गौरवीकरण गर्न खोज्छ ? यस प्रश्नको उत्तर दिन कसैलाई पनि सहज हुँदैन।

यसले पुष्टि गर्दछ कि मान्छे आफैँमा एक जटिल मनोविज्ञान भएको प्राणी हो । मान्छेको मनोविज्ञान यदाकदा यस्तो बिन्दु वा मोडमा पनि पुग्दछ कि आफ्नै खुट्टामा बञ्चरो हान्न पाउँदा खुसीहुन्छ । नेपालको राजावादी आन्दोलन इतिहासको अज्ञानताबाट हैन, नोस्टाल्जियाबाट प्रेरित छ । आफ्नै खुट्टामा बञ्चरो हान्न उद्धत छ ।

२०६५ साल जेष्ठ १५ गते देश गणतन्त्र भयो । जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक विधि तथा पद्धतिसम्मत तरिकाले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्‍यो । गणतन्त्र स्थापना भएको १५ वर्ष भइसकेको छ ।

इतिहासमा १५ वर्ष धेरै लामो अवधि हैन । त्यसअघि करिब २४० वर्षे शाहवंशीय राजतन्त्र थियो । त्यो त शाहवंशीय राजतन्त्र मात्र थियो, राजतन्त्र नै २४० वर्षको हैन । नेपालमा राजतन्त्रको इतिहास कम्तीमा पनि ३५ सय वर्षको हुनुपर्दछ ।

कहाँ ३५ सय वर्ष, कहाँ १५ वर्ष । ३५ सय वर्षका नोस्टाल्जिया १५ वर्षमा सजिलै सकिँदैनन् । ती कुनै न कुनै ढंगले मान्छेको ‘मेमोरी’ मा आउँछन् नै । कुनै समय थियो मेमोरी व्यक्तिपिच्छे, पुस्तापिच्छे फरकफरक हुन्छ भन्ने विश्वास गरिन्थ्यो । आज विज्ञानले नै यो पुष्टि गरेको छ कि ‘जेनेटिक मेमोरी’ पनि हुन्छ । पुस्तौंपुस्ताबाट जिनमा सर्दै आउने अवचेतन मेमोरी ।

शाहवंशीय राजतन्त्र खासमा कुनै गतिलो शासन प्रणाली थिएन । न त यस वंशमा आदर्श र सम्मान गर्न योग्य राजा नै धेरै जन्मिए । शाहवंशका संस्थापक पृथ्वीनारायण शाहलाई छोडेर बाँकी कुनै चर्चा गर्न योग्य राजा जन्मिएन । बरु एकपछि अर्को नालायक, सन्की, पाखण्डी, कायर र स्त्रीलम्पट राजा जन्मिनु शाहवंशको नियति बन्यो ।

जस्तो कि पृथ्वीनारायण शाहकै छोरा प्रतापसिंह शाहको कुरा गरौँ । उनको नाम मात्र प्रताप सिंह थियो, उनले गरेको प्रताप के हो, कसैलाई थाहा छैन । उनी तान्त्रिकहरूको पछि लागेर मसान खेलाइ हिँड्थे । मनमैजु भन्ने एक महिलासँगको अवैवाहिक यौनसम्बन्धका लागि बदनाम थिए ।

उनका छोरा रणबहादुर शाहको कुरै गर्न परेन । उनको त उपाधि नै ‘सन्की महाराज’ थियो । राजराजेश्वरी, सुवर्णप्रभा र ललित त्रिपुराजस्ता तीन पत्नी हुँदाहुँदै उनी मैथिल ब्रह्मण विधवा कान्तीमतिको मोहपासोमा फसेर अनेक उटपट्याङ गर्दै हिँडे । रणबहादुर शाहको कान्तीमति मोहले शाहवंशको परम्परा नै उल्टोपुल्टो भयो । विवाहित रानीका सन्तानको साटो कान्तीमतिका नाबालक छोरा गिर्वाण युद्ध राजा भए ।

रणबहादुर शाहको पालाको दरबारिया झगडा, षड्यन्त्र, हिंसा र काटमारको कुरा गरीसाध्य छैन । शाहवंशप्रति झुकाव राख्ने इतिहासकारले नै त्यसलाई ‘इतिहासको फोहोर कालखण्ड’ भनेका छन् ।

कोतपर्व कालको झगडा र काटमार जगजाहेर छ । राजा राजेन्द्रलाई दरबारिया इतिहासकारले नै ‘जोइटिङ्ग्रे महाराज’ भनेका छन् । एक कमजोर र कायर राजाका रूपमा चित्रण गरेका छन् । राजेन्द्रकी कान्छी रानी र गगन सिंह खवासको यौन सम्बन्धबाट जंगबहादुरलाई कोतपर्व मच्चाउने वातावरण बनेको इतिहास सिद्ध छ ।

त्रिभुवन आफैँमा एक निरीह र लाचार राजा थिए । जनविद्रोह बिना राणाशासनको कालकोठरीबाट उनले मुक्ति पाउने कुनै सम्भावना थिएन । उनी त एक प्रकारले देश छोडेर भागिसकेका थिए भारतको शरणमा । अन्ततः दिल्ली सम्झौताको सहारा लिएर फर्किए । तिनैले जनता र क्रान्तिसँग घात गरे, जसको बलमा राणशासनबाट उनी र उनको परिवारले मुक्ति पाएको थियो ।

दिल्ली सम्झौतामा उल्लेख भएको र आफैँले घोषणा गरेको संविधानसभाको चुनाव उनले गराएनन् । खासमा उनी ‘प्रजातन्त्रका पिता’ हैन, प्रजातन्त्रप्रति बैगुनी राजा थिए । ‘जुन थालमा खायो, त्यसमै फोहोर गर्‍यो’ भनेजस्तो थियो उनको व्यवहार ।

राजावादीहरू महेन्द्र शाहलाई एक आदर्श राजाका रूपमा चित्रण गर्न खोज्दछन् । तर, लोकतन्त्रप्रति उनले गरेको घात बिर्सन सकिने खालको छैन । उनले २०१७ मा देशकै पहिलो जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेका मात्र थिएनन्, पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाली लोकतन्त्रको हत्या गरेका थिए ।

खासमा उनका जेठा छोरा वीरेन्द्र शाह हैन, रवीन्द्र शाह थिए । तर, उनी गुरुङ जातिकी पत्नीबाट जन्मिएको हुँदा महेन्द्र शाहले जेठो रवीन्द्रलाई छोरोको सम्मान र स्थानसमेत दिएनन् । उनले यसरी राजतन्त्रलाई हाक्काहाक्की जातिप्रथा आधारित संस्था बनाएका थिए । रवीन्द्र शाहलाई जेठो छोरोको वैधानिक स्थान नदिनु मानवअधिकार र मानवीय आत्मसम्मान दुवै दृष्टिले बिल्कुलै अन्यायपूर्ण थियो ।

पञ्चायतको २९ वर्षे शासनकालमा १ लाखभन्दा बढी मानिसले जेल वा निर्वासनमा जीवन बिताउन परेको थियो, जुन व्यवस्थाको प्रणेता महेन्द्र शाह थिए । उनको शासनकालमा सयौं परिवारको सम्पति हरण भएको, हजारौं परिवार उजाडिएका थिए ।

लोकतन्त्रको दृष्टिबाट बरु थोरै नरम र भद्र राजा वीरेन्द्र शाह हु्न । तर, राजावादीहरू महेन्द्र र ज्ञानेन्द्रको प्रशंसामा समय यसरी खर्चिरहेका हुन्छन् । वीरेन्द्रको कुरा समेत गर्दैनन् । वीरेन्द्र कम्तीमा २०३६ सालमा जनमत संग्रह गराउन र २०४६ पछि संवैधानिक भएर बस्न राजी भएका थिए । त्यो निकै ठूलो ज्ञान, धैर्यता र भद्रता थियो । दाजु वीरेन्द्र शाहको तुलनामा ज्ञानेन्द्र त केही पनि हैनन् ।

नारायणहिटी हत्या काण्डजस्तो बीभत्स र अमानवीय घटना यही वंशपरिवारभित्र भयो । जुन वंशको राजकुमारले आफ्ना मातापिता, भाइबहिनी, काकाफुपुसहित सिंगो परिवारको हत्या गर्न सक्दछ, त्यसले जनतालाई गर्ने व्यवहार कस्तो हुन्थ्यो होला ?

त्यो प्रणाली यति बीभत्स थियो कि त्यसले आफैँ एकातिर हत्यारा भनिएका राजकुमार दीपेन्द्र शाहलाई मान्दै/भन्दै थियो, अर्कोतिर उसैलाई राजा घोषणा गर्दै थियो । धन्य हो कि दीपेन्द्र बाँचेनन् । नत्र जनताले आफ्नै मातापिता र भाइबहिनीको हत्यारालाई राजा मान्न पर्ने जस्तो विचित्रको स्थिति उत्पन्न हुन्थ्यो ।

जब ज्ञानेन्द्र शाह आए, उनले ‘असोज १८’ र ‘माघ १९’ गराएर उल्कापात गरिहाले । सत्ताको भोक पनि कति भने संवैधानिक राजा मन्त्रिपरिषद्को अध्यक्ष भएर देश मात्र हैन, दुनियाँ हँसाए ।

आज तिनकै समर्थक बेलायत, जापान, डेनमार्क र नर्वेको संवैधानिक राजतन्त्रको उदाहरण दिन्छन् । तर, यो बिर्सन्छन् कि त्यहाँको राजा र राजपरिवार कुन मर्यादा र सीमाभित्र बसेको हुन्छ । शाहवंशको जस्तो चरित्र, व्यवहार र आचरण भएका राजा भएको भए के ती टिक्थे ? किमार्थ । कुनै सम्भावना नै थिएन, हुँदैन ।

शाहवंशको कालखण्ड र अनुभव सुखद हुँदै हैन । न त त्यसबेला देशको उन्नति, प्रगति नै भएको थियो । त्यतिखेर यो एक दरिद्र मुलुक थियो । फेरि सानो संख्यामा सही एकथरि मान्छे त्यसैको नोस्टाल्जियामा किन रमाइरहेका होलान् ? उनीहरूको आत्मरति र स्मृति-आनन्दमा रमाउन पाउने अधिकार खोस्न त मिल्दैन ।

भन्न सकिन्न यो कहिलेसम्म रहन्छ तर, नोस्टाल्जिया आखिर नोस्टाल्जिया नै हो, त्यो स्मृति-आनन्द हो, सत्य हैन । विगतको सम्झना हो, भविष्यको सपना हैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved