बहसमा फेरि वामएकता, सुरूमै कुन दल हाबी हुने भन्ने चिन्ता !

दोस्रो तहका नेताबीच दुई चरणमा भएको छलफल निष्कर्षविहीन

ओलीले ‘दुई अध्यक्ष राखेर वामएकता हुँदैन’ भनेर बोल्नुको पछाडि माओवादी केन्द्रले पुन: दुई अध्यक्षात्मक प्रणालीमार्फत नै अगाडि बढ्न प्रस्ताव लगेको रूपमा धेरैले बुझेका छन् ।

बहसमा फेरि वामएकता, सुरूमै कुन दल हाबी हुने भन्ने चिन्ता !

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पुन: एकताको चर्चा चलिरहेको छ । ठीक यही बेला बुधबार (आज) मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने— दुई अध्यक्ष राखेर अब वामएकता हुँदैन, गर्नुहुँदैन ।

त्यसो त एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरूबीच पुन: एकताका सन्दर्भमा केही चरण संवादसमेत भइसकेको छ । स्रोतअनुसार दोस्रो तहका नेताहरूबीच काठमाडौंको एक होटलमा दुई चरणको संवाद भएको हो ।

तर, संवाद निष्कर्षविहीन संवादमा सहभागी नेताहरू बताउँछन् । स्रोतका अनुसार एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’लगायतका नेताहरूबीच पार्टी एकताका सन्दर्भमा संवाद भएको छ ।

यस्तो पृष्ठभूमिमा ओलीले त्यसरी बोल्नुलाई महत्त्वपूर्णरूपमा हेरिएको छ । ओलीले ‘दुई अध्यक्ष राखेर वामएकता हुँदैन’ भनेर बोल्नुको पछाडि माओवादी केन्द्रले पुन: दुई अध्यक्षात्मक प्रणालीमार्फत नै अगाडि बढ्न प्रस्ताव लगेको रूपमा धेरैले बुझेका छन् ।

तर, त्यो साँचो नभएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ बताउँछन् । एमाले-माओवादी केन्द्रबीच पुन: एकता हुन लागेको हो ? भन्ने नेपालभ्यूजको जिज्ञासामा उनी भन्छन्— हामी सधैँ एकताको पक्षमा छौँ । एकतालाई हामी नकार्दैनौँ । तर, एकता जोसँग पनि, जत्तिबेलै पनि भन्नेचाहिँ हुँदैन । एकता व्यापक छलफल, सल्लाह र संवादपछि मात्रै हुन्छन् । एमालेसँग तत्कालै एकता भइहाल्ने सम्भावना देखिँदैन ।

तयारीचाहिँ भइरहेको हो ? भन्ने पुच्छ्रे प्रश्नमा उनी थप्छन्— एमालेसँग पहिले पनि एकता भएर टुटेको हो । कसरी टुट्यो भन्ने पृष्ठभूमि एकतातिर छँदैछ । तर, फेरि पनि वामपन्थीहरू एकठाउँ नभइकन हुँदैन भन्ने कुरा प्रत्येक नेतालाई लागेकै होला । तर, अब एकता भइहाल्छ भन्ने लाग्दैन । त्यसमा अझै मेहनत गर्नुपर्ला । तर, एकता भए नराम्रोचाहिँ हुँदैन ।

एकता संवादमा सहभागी भएका भनिएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडैल पनि एकताका लागि पहल भइरहेको घुमाउरो पारामा स्वीकार्छन् । “यो कुरा २०० प्रतिशत गलत हो । तर, संवाद नै नहुने कुराचाहिँ हुँदैन,” पौडेलले नेपालभ्यूजसँग भने ।

उसो त यसअघि २०७४ सालमा पनि यी दुई पार्टीबीच एकता भएर नेकपा बनेको थियो । नेकपा आफ्नै अकर्ण्यताका कारण फुटेको थियो । एकतापछि झन्डै दुईतिहाइ मत प्राप्त गरेको नेकपा अहिले तीन टुक्रा बनेको छ । प्रधानमन्त्री रहेका तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको रिस संसद्‌मा पटक-पटक पोखेपछि सर्वोच्च अदालतले नेकपा फुटाइदियो ।

यसपछि नेकपा एमाले र माओवादी केन्द्रकै पूर्ववत् अवस्थामा फर्किए । यसपछि एमाले नै पनि सग्लो रहेन । त्यहाँबाट वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका छन् । उनीहरू अहिले नेकपा (एकीकृत) समाजवादीमा छन् ।

हुन त नेकपा फुटेलगत्तै कतिपय नेताहरूले पुन: जुट्नुपर्ने निष्कर्ष निकाल्दै पुन: एकता गर्ने भरमग्दुर प्रयास गरेकै हुन् । त्यो पङ्क्तिमा वामदेव गौतम, वर्षमान पुन, शंकर पोखरेल, घनश्याम भुसाललगायत नेताहरू पर्थे । तर, अहिले उनीहरू आ-आफ्नै ढङ्गबाट अगाडि बढिरहेका छन् । अब फेरि एकपटक वामएकताको प्रयास गर्ने सोचका साथ नेताहरू संवादमा जुटिरहेको बताइन्छ ।

चीन पनि चाहन्छ पुन:एकता

उत्तरी छिमेकी देश चीन पनि नेपालका वामपन्थीहरूबीच पुनर्एकता नै चाहन्छ । यसबीचमा उसले पालैपालो नेपालका ठूला वामपन्थी दलका नेताहरूलाई आफ्नो देश बोलायो । उसले सबै दलका नेताहरूसँग नेपालमा वामपन्थी दलहरू मिल्दा राम्रो हुने सुझाव दिएको छ ।

पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा एउटा टोली चीन पुगेको थियो । उक्त टोलीलाई चीनको सुझाव थियो— नेपालमा वामपन्थी दलहरू मिल्दा राम्रो हुन्छ ।

स्वदेश फर्किएपछि सापकोटाले नेपालका वामपन्थी दलहरूबीच एकता होस् भन्ने शुभेच्छा चीनले व्यक्त गरेको सुनाए ।

त्यसपछि एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा अर्को टोलीले चीनको भ्रमण गर्‍यो । यो टोलीलाई पनि चीनले त्यही सन्देश पठायो । स्वदेश फर्किएपछि पोखरेलले भने— एकता होस् भन्ने चाहना चीनले व्यक्त गरेकै छ । तर, हामीले यहाँका समस्याहरू पनि बताएका छौँ ।

यसपछि एमालेबाट बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैँ चीन गए । लामो समय चीनमा रहेका नेपालसँग पनि चीनले त्यही शुभेच्छा व्यक्त गर्‍यो ।

चीन-नेपाल मामिलाका जानकारसमेत रहेका चीनका लागि पूर्वराजदूत टंक कार्की चीनले नेपालका वामपन्थीहरू मिलून् भनेर शुभेच्छा दिनु स्वाभाविक भएको बताउँछन् । “त्यो स्वाभाविक हो, यसमा अचम्म मान्नुपर्ने कुरै छैन,” कार्कीले भने ।

तर, नेपालका वामपन्थीहरूबीच भने तत्कालै एकता हुने सम्भावना नदेखिएको बताउँछन् । “यहाँ आन्तरिकरूपमा धेरै समस्याहरू छन् । यसको समाधान तत्कालै देखिँदैन,” उनले भने, “त्यसमा नेताहरूले आ-आफ्नो गल्ती औंल्याएर अघि बढ्छन् भने त्यो राम्रो पनि हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved