बाइस वर्षपछि मिसन अस्पताल सञ्चालनको तयारी

नेपालभ्युज

बाइस वर्षपछि मिसन अस्पताल सञ्चालनको तयारी

पर्वत । झण्डै २२ वर्षदेखि बन्द रहेको यहाँको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका–४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो ।

अस्पतालका जीर्ण संरचना हाल पुनःनिर्माण भइरहेका छन् । काठमाडौँस्थित देउराली फाउन्डेसनले पुनःनिर्माणको काम थालेको हो । स्थानीय सरोकारवाला व्यक्ति, सङ्घसंस्था र स्थानीय सरकारसँगको पटकपटकको छलफलपछि फाउन्डेसनले अस्पताल सञ्चालनका लागि प्रारम्भिक काम अघि बढाएको पैँयु गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । फाउन्डेसनले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको सुरक्षाको काम थालेको छ । भवन मर्मत, रङ्गरोगन, विद्युतीकरणलगायत काम गर्न थालिएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

अहिले भएका काममा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेन्ट नेपालीसँगै काम गरिरहेको संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

अमेरिकाबाट आएका विशेषज्ञ चिकित्सकको समूहले स्थानीय साझेदारसँगको सहकार्यमा २०५० सालमा मिसन अस्पताल स्थापना गरिएको हो । आठ वर्ष मात्र सञ्चालन भई अस्पताल २०५८ सालमा बन्द भएको थियो । पर्वत, स्याङ्जा र गुल्मीका बिरामीलाई लक्षित गरी १५ रोपनी जग्गामा ‘एडभान्टिस्ट फन्ट मिसन’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानीमा अस्पताल निर्माण गरेको हो । अस्पताल पुनः सञ्चालनमा आउने खबरले उत्साहित बनाएको स्थानीय लालबहादुर प्रधानले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved