जनकपुरधाम । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समय तालिका निर्धारण गरि रेल सेवा संचालन गर्ने जनाएको छ।
भारतको जयनगर देखि जनकपुरधामसम्म जनकपुरधाम देखि बिजलपुरा सम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मंसिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरि संचालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक (प्रबन्ध सञ्चालक) निरञ्जनकुमार झाले जानकारी दिए।
मंसिर महिनादेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुहरुको सुविधालाई ध्यानमा राखि हालको समयतालिकामा परिवर्तन गरिएको हो । दैनिक आउजाउ गरी ६ पटक सञ्चालन भइरहेको रेल भंगहा (विजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ ।
जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ । महाप्रबन्धक झाले भने, “चिसो मौसमका कारण यात्रुहरुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समयसारणी मात्र परिवर्तन गरिएको छ ।”
परिवर्तन गरिएको नयाँ तालिका अनुसार रेल सेवाको पहिलो ट्रिप रेल भंगहाबाट (बिजलपुरा) बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भंगहा आइपुगेर रात्री विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यस्तै, जयनगरबाट बिहान १० बजे प्रस्थान हुने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ । यसैगरी, फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भइ दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिए ।
दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराको लागि अन्तिम रेल सेवा सञ्चालन हुने उनले बताए । यो रेल साँझ ७ः१५ बजे भंगहा(विजपुरा) पुगेर राती विश्राम बस्नेछ ।
यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भंगहासम्म १७.५ किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा विजलपुरा भंगहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनको लागि लिक निर्माण कार्य भइरहेको छ ।
वि.सं १९९४ जुद्धशम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो । नेपालमा पहिलो रेल सेवा वि.सं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो ।
अहिले सञ्चालन भइरहेको नेपाली रेल, २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकर्णले कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर तथा उभिएर यात्रा गर्न सक्ने क्षमता छ ।

Facebook Comment
Comment