जाजरकोट भूकम्प

भूकम्प पीडितप्रति पूर्वअर्थमन्त्री शर्मा संवेदनहीन, जाजरकोट पठाइएको राहत बाटोबाटै ‘कब्जा गरेर’ रुकुम पश्चिम

‘हाम्रो जिल्लामा आएको राहत आफ्नो मतदाता भएको जिल्लामा लगे । न्यूनतम मानवीय संवेदना समेत राखेनन् । जाजरकोटमै पनि ठुलो क्षति ठुलो हुँदा राहत कम आएको छ, उता नलगाडमा क्षति कम भए पनि धेरै सामग्री पुर्‍याइएको छ ।’

नेपालभ्युज

भूकम्प पीडितप्रति पूर्वअर्थमन्त्री शर्मा संवेदनहीन, जाजरकोट पठाइएको राहत बाटोबाटै ‘कब्जा गरेर’ रुकुम पश्चिम

काठमाडौं। भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री शर्माले संवेदनहीन राजनीति गरेका छन् । काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन् ।

नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्काे जिल्ला पठाइएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गरिएको थियो । नेता शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

उनले भने, ‘‘हाम्रो जिल्लामा आएको राहत आफ्नो मतदाता भएको जिल्लामा लगे । न्यूनतम मानवीय संवेदना समेत राखेनन् । जाजरकोटमै पनि ठुलो क्षति ठुलो हुँदा राहत कम आएको छ, उता नलगाडमा क्षति कम भए पनि धेरै सामग्री पुर्‍याइएको छ ।’

अर्थमन्त्रीसहित चारपटक मन्त्री भइसकेका जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि विवादित थिए । अहिले मानवीय संकटको समयमा पनि भूकम्पको केन्द्रबिन्दु जाजरकोट नगई निर्वाचन क्षेत्र रुकुम पश्चिममा उनी सीमित छन् ।

रुकुम पश्चिमका भूकम्पपीडितलाई पनि राहत चाहिएको छ उता। जाजरकोटमा धेरे ठाउँमा राहत पुग्न सकेको छैन । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्ने हो । तर, राजनीतिक पहुँच देखाउन थालिएको आरोप छ ।

बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिमतर्फ मोडिएको थियो । जाजरकोटका पीडितले पर्याप्त कम्बल पनि नपाएको स्थानीयको गुनासो छ।

भूकम्प बढी प्रभावित भएको जाजरकोट सदरमुकाम खलङ्गासहित भेरी नगरपालिकाका धेरै वडाका सबैजसो कच्ची घर भत्किएका छन् ।

भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामान पुगेका छैनन् । सर्वसाधारण बारीमा कठ्याङ्ग्रिएर रात बिताउन बाध्य छन् ।

सरकारी निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिहरूले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने मापदण्ड बने पनि सार्वजनिक योगदानबाट संकलित राहत माओवादी नेता शर्माले राजनीतिक आस्था र पहुँचका आधारमा वितरण गरिरहेका आरोप छ । शर्माको सिको गर्दै अरू नेताले पनि भोटको राजनीति गर्न लागेका छन् ।

माओवादी नेता तथा पूर्वअर्थमन्त्री शर्माले भने भारतले पठाएको, सरकारले दिएको र आफैँले संकलन गरेको राहत बाँडेको बताएका छन् ।
राहत र पुनः स्थापनामा ढिलाइ हुँदा भूकम्प प्रभावित आक्रोशित हुन थालेका छन् ।

शुक्रबार मध्यरात जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको थियो ।

यसबीच सरकारका मन्त्री, विभिन्न संघसंस्थाका प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताको हूल प्रभावित क्षेत्रमा जाने क्रम रोकिएको छैन । तर, राजनीतिक पहुँचका आधारमा स्थानीय जनप्रतिनिधिले कम्बल, टेन्ट र खाद्यान्न वितरण गरेको पीडितको गुनासो गरेका छन् ।
नेताहरू धमाधम प्रभावित क्षत्र पुगिरहे पनि राहत पुग्न सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहान भूकम्प प्रभावित क्षेत्र पुगेका थिए । रक्षामन्त्री पूर्णबहादुर खड्का पनि गए ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल पनि भूकम्प प्रभावित क्षेत्र पुगेका थिए । जाजरकोटबाट संसद्मा प्रतिनिधित्व गर्ने शक्ति बस्नेत र कांग्रेसका प्रदेश सांसद राजीवविक्रम शाही जिल्लामा नै खटिएका छन् ।

माओवादीका अर्का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिममा केन्द्रित छन् । साथै अरू नेताहरू प्रभावित क्षत्रमा भए पनि राहत वितरण प्रभावकारी भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved