मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाउने आफ्नै चलन

कोजाग्रतमा विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैंछ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने आफ्नै चलन छ ।

मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाउने आफ्नै चलन

जनकपुरधाम। आज कोजाग्रत पर्व मनाइँदैछ । कोजाग्रतमा विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैंछ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने आफ्नै चलन छ ।

मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्त्वपूर्ण मानिन्छ ।

पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ । मिथिला क्षेत्रमा मंसिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने चलन छ ।

भार (कोसेली) मा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुला सहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नै पर्ने हुन्छ । बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात् चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरूलाई मिथिलाको पाग लगाइदिदैं ससुरालीबाट आउने कपडा पहिर्‍याउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आर्शिवाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन ।

यस अवसरमा मिठाइ, मखान, पान बाँड्नुपर्ने हुन्छ । खानपिनपछि कौडा सहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसट्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ ।

बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरू पनि दिने चलन छ । आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ । यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ । छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेली झैँ कोजगरा पर्वमा पनि कोसेलीहरू दिइने गरिन्छ ।

मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ । शरद पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ। यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ।

कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ। त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकार गरेको पाइन्छ। मैथिल संस्कृति अनुसार यो पर्व पारिवारको समृद्धि र सौभाग्यका लागि मनाइने जनविश्वास छ।

मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ। यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिने प्रचलन छ।

मैथिल संस्कृतिको एउटा प्रमुख अङ्ग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने गर्छन्।

जानकी मन्दिरमा उत्सव मनाइँदै

कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ । यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् ।

यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । एक सय चौध वर्ष अघि सुरु गरिएको बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखान सहितका १ सय ८ वटा भार आउने परम्परा अझ कायम रहेको छ ।

त्यस्तै महोत्सवलाई अझ बढी आकर्षक बनाउनका लागि मन्दिरमा भजन कीर्तनको आयोजना गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्य परिहास्यको कार्यक्रमको आयोजनासमेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् । उहाँका अनुसार मिथिलामा जसरी मिथिलानीहरूले आफ्नो ज्वाइँका लागि भार पठाउने गर्दछन् त्यसरी नै मन्दिरमा समेत भारमा मिथिलाको महत्पूर्ण परिकारहरू आउने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved